काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले केही मिडियाहरुलाई प्रयोग गरेर दुई कम्पनीको मूल्यमा चलखेल गर्नेहरुलाई प्रोत्साहन हुने गरी सूचना लिक गरेको पाइएको छ । 

धितोपत्र बोर्डले आधिकारिक रुपमा आफ्नो वेबसाइटमा सूचना सार्वजनिक गर्नुअघि नै बजारमा चलखेल गर्ने मिडियाहरुलाई प्रयोग गरेर संवेदनशील सूचना चुहाएको पाइएको हो । 

धितोपत्र बोर्डको हिजो बसेको बोर्ड बैठकले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निश्कासनको अनुमति दिने निर्णय गरेको विषय सार्वजनिक गराइएको हो । 

धितोपत्र बोर्डले यस्ता संवेदनशील विषय सबै लगानीकर्ताले थाहा पाउने गरी उसको वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्ने हुन्छ । तर, आइएमई जनरल इन्स्योरेन्सलाई ४० प्रतिशत र शिखरलाई ३० प्रतिशतका दरले हकप्रद निश्कासन गर्न दिने भनी गरिएको निर्णय गैरकानूनी ढंगले बाहिर ल्याइएको हो । 

अझ बजारमूल्यमै प्रभाव पर्ने यो विषय निर्णय भएको लामो समयसम्म लुकाएर कारोबार संचालन भइरहेको समयमै बाहिर ल्याइएको हो । यो पनि बोर्डले यसअघिदेखि गर्दै आएको प्रयासविपरीत अभ्यास हो । 

बुधबार बोर्डका संचालक समिति सदस्य शोभाकान्त पौडेलको अध्यक्षतामा बसेको बैठकले यी दुई कम्पनीलाई हकप्रद निश्कासनको अनुमति दिइएको बताइएको छ । बुधबारको बैठकले गरेको निर्णय कारोबार सकिएलगत्तै सार्वजनिक नहुनु र त्यो विषय बिहीबार बिहानसम्म पनि सार्वजनिक नगरी अमूक मिडियामार्फत सार्वजनिक गरिनुलाई ती दुईको सेयरमूल्यमा राम्रै ढंगले चलखेल भएको प्रष्ट हुन्छ। 

बजारमा हुने चलखेल र संवेदनशील सूचनाका आधारमा हुने इन्साइडर ट्रेडिङ नियन्त्रणको जिम्मेवारीमा रहेको बजारको नियामकले नै यस्ता सूचना चुहावट गर्नु अर्थपूर्ण देखिन्छ । 

बजारका लगानीकर्ताले यस्ता विषय चुहाएर चलखेल गरिएको भन्दै यो प्रकरणमा छानबिन गर्नुपर्ने र सूचना दिने तथा सार्वजनिक गर्ने, त्यो सूचनाका आधारमा बजारमा चलखेल गर्ने, तत् कम्पनीका सेयर उठाउने लगायतका विषयमा समते अनुसन्धान गरी कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।