– अनन्त्य सुन्दर

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४५ दिनको सूचना जारी गर्दै नयाँ स्टक एक्सचेन्जको लाइसेन्सका लागि आवेदन दिन आह्वान गरेको छ। 

सेबोनको प्राथमिकतामा दोस्रो स्टक एक्सचेन्जको लाइसेन्स भएसँगै अहिले सञ्चालनमा भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर पुनर्संरचना भने ओझेलमा परेको छ।  

मन्त्रिपरिषद्को बैठकले धितोपत्र बजार सञ्चालन नियमावली, २०७९ दोस्रो संशोधन स्वीकृत गरेसँगै सेबोनले एक्सचेन्जको लाइसेन्स दिने प्रक्रिया अघि बढाएको छ। तर, नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याउँदै गर्दा अहिले सञ्चालनमा भएको नेप्सेको सेयर पुनर्संरचना विषय ओझेलमा परेको नेप्सेका कर्मचारीहरुको गुनासो छ। अहिले भएको सेयर संरचनामै नेप्सेले निजी क्षेत्रको लगानीमा आउने एक्सचेन्जसँग प्रतिस्पर्धा गर्न असम्भव भएको उनीहरुको ठहर छ। 

‘सेबोनले निजी क्षेत्रको लगानीमा नयाँ एक्सचेन्ज ल्याउने प्रक्रिया अघि बढाइसकेको छ। तर, नेप्सेको सेयर संरचना सुधारका लागि सेबोनबाट अहिलेसम्म कुनै पनि किसिमको पहल भएको छैन’, नेप्सेका एक कर्मचारी भन्छन्, ‘यही अवस्थामा नयाँ एक्सचेन्ज आउने हो भने भोलिका दिन नेप्से घाटामा गएर नयाँ एक्सचेन्जसँग गाभ्नुपर्ने अवस्था सिर्जना हुन्छ।’

सेबोनको हरेक वर्षको नीति तथा कार्यक्रममा नेप्सेको पुनर्संरचनाको विषय समेटिए पनि अहिलेसम्म सेयर पुनर्संरचनाको कुनै पनि प्रयास नभएको ती कर्मचारीको आरोप छ। ‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि नेप्सेको पुनर्संरचनाको विषय समेटिएको थियो। यसपटक सेबोन अध्यक्ष रमेशकुमार हमालबाट नेप्सेमा कार्यरत कर्मचारीहरुले धेरै नै आशा गरेका थिए’, ती कर्मचारी भन्छन्, ‘तर, हमाल पनि नेप्सेलाई सुधार गर्नेभन्दा पनि सक्नेतिर केन्द्रित भएका छन्।’  

सेबोनले जारी गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमको बुँदा नम्बर १४ मा धितोपत्र दोस्रो बजार तथा यससम्बन्धी संरचनालाई थप प्रतिस्पर्धी बनाउन नेपाल स्टक एक्सचेन्ज तथा सीडीएस एन्ड क्लियरिङको सेयर संरचनामा सुधारका लागि सहजीकरण गरिने उल्लेख छ। तर, नेप्से कर्मचारीले भनेजस्तै सेबोनको नेतृत्व अहिले प्रतिस्पर्धाका नाममा नेप्सेको सेयर संरचनामा सुधार गर्न सहजीकरण गर्नेमा भन्दा पनि दोस्रो स्टक एक्सचेन्ज सञ्चालनमा ल्याएर अहिले भएको अर्बौंको एक्सचेन्ज (नेप्से) सक्नेतिर केन्द्रित भएको देखिन्छ।