काठमाण्डौ । धितोपत्र बोर्डले ५१ कम्पनीहरुको नामै तोकेर ती कम्पनीलाई सेयर लगानीको हिसाबले 'जोखिमपूर्ण' भनेपछि बजारको फ्रन्ट लाइन रेगुलेटर नेप्से चिढिएको छ । 

नेप्सेले संसारमा कहीँ नभएको अभ्यास धितोपत्र बोर्डले सुरु गरेको उल्लेख गर्दै लगानीकर्ताको लगानीमाथि बोर्डले धावा बोल्न काम गरेको बताएको हो । 

'नियामकले सचेत भएर लगानी गरौं, जोखिम हेरौं भन्नुुसम्म ठीक हो ।' नेप्सेका एक उच्च अधिकारीले बिजशालासँग भने-'तर कम्पनीको नाम नै तोकेर जोखिमपूर्ण भन्ने अधिकार बोर्डलाई छैन । यो त हदैसम्मको माइक्रोम्यानेजमेन्टतर्फ बोर्ड लाग्यो भन्ने देखियो ।' 

बोर्डले हचुवाको भरमा ५१ वटा कम्पनीलाई जोखिमयुक्त भनिदिंदा सर्वसाधारण र सोझा लगानीकर्ताको लगानी जोखिममा पर्नसक्ने र उनीहरुको लगानी डूब्यो भने त्यसको जिम्मेवारी कसले लिने ? भन्ने प्रश्न गर्दै ती अधिकारीले भने-'यो त धितोपत्र बोर्ड आफैं लगानीकर्ता जस्तो पो देखियो । आफूले किनेका कम्पनीलाई जोखिमविहीन र नकिनेका र फालिसकेका कम्पनीलाई जोखिमयुक्त करार गरियो । यो विषयमा अर्थमन्त्रालयको ध्यान जाओस् ।' 

धितोपत्र बोर्डको विज्ञप्तिबाजी र लगानीकर्ताको अधिकारमाथि कुठाराघात हुने गरी आएको 'जोखिमयुक्त कम्पनीको सूची' र यसबाट बजारमा पर्नसक्ने प्रभावको विषयमा नेप्सेमा भोलि छलफल गरिने ती अधिकारीले प्रष्ट पारे । 'बोर्डले यो गलत गर्यो, यो विषयमा नेप्सेमा भोलि गम्भीर छलफल हुन्छ ।' ती अधिकारीले भोलि मात्र नाम खुलाउन भन्ने आग्रह गर्दै थपे-'यो त बोर्ड आफैं इन्साइडर टेडिंगमा लागेको जस्तो देखियो । कहीँ नभएको जात्रा हाँडीगाउँमा भनेजस्तो भयो यो ।' 

उनले बोर्डका अधिकारीहरु ठूला र केही बैंकका सेयर होल्ड गर्नेहरुको प्रभावमा परेर र त्यस्ता लगानीकर्तासँगको मिलेमतोमा सुनियोजित ढंगले आजको विज्ञप्ति आएको शंका समेत गरेका छन् ।