काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा अहिले ६ वटा कम्पनीको हकप्रद सेयर रहेका छन्। 

पाँचवटा हाइड्रोपावर कम्पनी र एउटा विकास बैंकले कुल १४ अर्ब ८७ करोड रुपैयाँबराबरको हकप्रद सेयर निष्कासनका लागि सेबोनको अनुमति पर्खेर बसेका हुन्। सेबोनले अनुमति दिएमा यी कम्पनीहरुले १०० अंकित दरका कुल १४ करोड ८७ लाख कित्ता बढी हकप्रद जारी गर्नेछन्। 

अहिले सेबोनको पाइपलाइनमा सिनर्जी पावर, अपर तामाकोशी, नेसनल हाइड्रोपावर, अरुण काबेली पावर र हिमाल दोलखा हाइड्रोपावर छन् भने नारायणी डेभलपमेन्ट बैंकले हकप्रद जारीका लागि सेबोनसँग अनुमति मागेको छ। 

सिनर्जी पावरले २ः१ अर्थात चुक्तापुँजीको ५० प्रतिशतले हुन आउने १०० अंकित दरका कुल ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद जारी गर्ने तयारी गरेको छ। कम्पनीले सेबोन कुरेर बसेको छ। 

त्यसैगरी अपर तामाकोशीले चुक्तापुँजीको सतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद जारी गर्ने तयारी गरेको छ। सेबोनले अनुमति दिएमा यो कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्नेछ। 

उता नेसनल हाइड्रोपावरले पनि चुक्तापुँजीको ५० प्रतिशत हकप्रद जारी प्रक्रियामा छ। जसअनुसार कम्पनीले १०० अंकित दरका कुल ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद बिक्री गर्नेछ। 

यसैगरी अरुण काबेलीले चुक्तापुँजीको सतप्रतिशत र हिमाल दोलखा हाइड्रोपावरले चुक्तापुँजीको ७५ प्रतिशत हकप्रद जारी गर्न सेबोनसँग अनुमति मागेका छन्। जसअनुसार अरुण काबेलीले कुल १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता र हिमाल दोलखा हाइड्रोपावरले १ करोड २० लाख कित्ता हकप्रद जारी गर्नेछन्। 

नारायणी डेभलपमेन्ट बैंकले भने चुक्तापुँजीको १ः१ अनुपात अर्थात सतप्रतिशत हकप्रद जारी गर्ने अनुमति मागेको छ। सेबोनले अनुमति दिएमा यो बैंकले १०० अंकित दरका कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद जारी गर्नेछ।