– अनन्त्य सुन्दर

काठमाण्डौ । कोरोनाको जोखिम कम हुनुका साथै अधिकांश नागरिकले खोप लगाएकाले अहिले स्थिति सामान्य बन्दै गएको छ। 

सरकारले अहिले जिम, फिल्म हल, कलेज, विद्यालयलगायत अन्य क्षेत्र खोल्न अनुमति दिइसकेको छ। तर, ब्रोकर हाउसहरुमा सेयर कारोबार हुने समयमा देखाइने डिस्प्ले अझै पनि बन्द नै छ।

कोरोनाको जोखिम बढेकाले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ब्रोकर हाउसहरुलाई डिस्प्ले बन्द गर्न निर्देशन दिएको थियो। डिस्प्ले बन्द भएको डेढ वर्ष बढी भइसकेको छ। 

‘अहिले होटेल, फिल्म हल, शिक्षालगायत सबै क्षेत्रहरू खुलिसकेको अवस्था छ’, बजारका सक्रिय लगानीकर्ता दुर्गा घिमिरे भन्छन्, ‘सेयर बजार सरकार साथै नियामक निकायको प्राथमिकतामा नआएकाले होला ब्रोकरको डिस्प्ले अझै पनि बन्द छ।’

‘सेबोनबाट लिखित रूपमा निर्देशन आएपश्चात डिस्प्ले खोल्छौँ’, एक ब्रोकर भन्छन्, ‘कोरोनाले गर्दा सेबोनबाट चिठी आएपछि लगानीकर्ताको स्वास्थ्यको सावधानी अपनाउँदै डिस्प्ले बन्द भएको थियो।’

कोरोना कहरअघि अनलाइन कारोबार सीमित लगानीकर्ताले मात्र गर्थे। ‘तर, अहिले अनलाइनबाट कारोबार गर्नेहरुको संख्या बढेसँगै लगानीकर्ताले डिस्प्लेको खासै चासो नदेखाएको’, ती ब्रोकरले भने। 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली कोरोनाको जोखिमले गर्दा बन्द भएको डिस्प्ले सेबोनबाट खोल्ने अनुमतिपश्चात खुल्ने बताउँछन्। ‘ुडिस्प्ले खोल्न कि नखोल्ने भनेर हामी छिट्टै धितो पत्र बोर्डसँग छलफल गर्दैछौँ’, उनले भने।

नेपाल धितो पत्र बोर्डकी सूचना अधिकारी तथा उपकार्यकारी निर्देशक दीपा दाहाल बन्द भएको डिस्प्ले अध्यक्ष नियुक्तिपछि मात्र छलफल गरी खुल्ने बताउँछिन्। ‘बोर्डको अध्यक्षको नियुक्तिपश्चात् कोरोनाको जोखिमलाई मध्यनजर गरेर मात्र डिस्प्ले खोल्ने कि नखोल्ने भनेर निर्णय हुन्छ’, उनी भन्छिन्।