काठमाण्डौ । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) मा रिक्त रहेको अध्यक्ष पदमा योग्य उम्मेदवार नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समिति पुनः गठन गर्ने भएको छ। योसँगै सेबोनमा अध्यक्ष नियुक्तिको प्रक्रिया लम्बिने देखिएको छ। 

यसअघि अर्थ मन्त्रालयले सेबोनमा अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्व पोडेल, अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यका रुपमा प्राडा नारायणप्रसाद पौडेल सम्मिलित सिफारिस समिति गठन गरेको थियो। तर, धितोपत्रसम्बन्धी ऐनमा छनोट समिति नेपाल सरकारले बनाउनुपर्ने उल्लेख छ। सोही कारण अर्थ मन्त्रालयले बनाएको र मन्त्रीस्तरीय निर्णयलाई नेपाल सरकारको निर्णय भन्न नमिल्ने भन्दै सुरुदेखि समिति गठनका विषयमा विवाद हुँदै आएको थियो। 

अर्थ मन्त्रालय स्रोतका अनुसार आज (बिहीबार) बस्ने मन्त्रिपरिषद्को बैठकले पुनः छनोट तथा सिफारिस समिति गठन गर्ने सम्भावना छ। ‘पहिलेकै समितिलाई निरन्तरता दिने कि नयाँ समिति गठन गर्ने भन्ने खुलिसकेको छैन’, स्रोतले भन्यो, ‘यसबारे मन्त्रिपरिषद्को बैठकले नै निर्णय गर्नेछ। 

सेबोनमा अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि नाम सिफारिस गर्नका लागि राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अर्थ मन्त्रालयका सचिव र धितोपत्र क्षेत्रसँग सम्बन्धित विशेषज्ञ रहेको समिति बनाउनुपर्ने ऐनमा व्यवस्था छ। सोही समितिले ऐनबमोजिम योग्यता पुगेका कम्तीमा ३ जनाको नाम सरकारलाई सिफारिस गर्ने व्यवस्था छ। 

मन्त्रिपरिषद्ले समिति पुनः गठन गर्ने भएपछि यसअघि सेबोन अध्यक्ष पदमा आवेदन परेकाहरु के हुन्छ भन्ने विषयमा पनि अन्यौलता देखिएको छ। यसअघि अध्यक्ष पदमा १२ जनाको आवेदन परेको छ। 

सरकारले छनोट तथा सिफारिस समिति फेरि गठन गर्ने भएकोले सेबोन अध्यक्ष पदमा पुनः आवेदन खुल्न सक्ने अर्थ स्रोत बताउँछ। ‘यसअघि परेको आवेदनहरु के गर्ने भन्ने विषयमा पनि मन्त्रिपरिषद्को बैठकले नै निर्णय गर्न सक्छ’, स्रोतले भन्यो। 

यसअघि सरकारले सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा संलग्न रहेको भन्दै सेबोन अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको थियो। त्यसपछि रिक्त रहेको पदमा अध्यक्ष नियुक्त गर्न सरकारले प्रक्रिया अगाडि बढाएको थियो।