– अर्जुन तिमिल्सिना

काठमाण्डौ । लामो समयदेखि नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षविहीन हुँदा कम्पनीहरुको आईपीओ निष्कासन प्रक्रिया अवरुद्ध बन्न पुगेको छ। 

सेबोनमा अध्यक्ष नहुँदा झन्डै ४ महिनादेखि आईपीओ निष्कासन हुन सकेको छैन। अहिले सेबोनको पाइपलाइनमा २९ वटा कम्पनीका आईपीओ स्वीकृतिको पर्खाइमा छन्। 

पछिल्लोपटक गत साउन १४ गते बुद्धभूमि नेपाल हाइड्रोपावरले आईपीओ निष्कासनको अनुमति पाएको थियो। बुद्धभूमिसहित चालु आर्थिक वर्षमा ३ वटा कम्पनीले मात्र आईपीओ निष्कासनको अनुमति पाएका छन्। 

सेबोनकै कार्यकारी निर्देशक निरज गिरीले अध्यक्ष नियुक्तिको प्रक्रिया लम्बिँदै गएकोले अब आईपीओ निष्कासनमा सेबोन बाधक हुन नहुने बताए । ‘झन्डै ४ महिनादेखि आईपीओ निष्कासनको प्रक्रिया रोकिएको छ’, उनले भने, ‘अब सेबोनले आईपीओ निष्कासनको अनुमति दिने काम गर्नुपर्छ।’ 

सर्वोत्तम सिमेन्ट प्रकरणमा मुछिएपछि भीष्मराज ढुंगानालाई सरकारले सेबोनको अध्यक्षबाट बर्खास्त गरेको छ। हाल गिरी निमित्त अध्यक्षको जिम्मेवारी दिइएको छ। 

अध्यक्ष नहुँदा अहिले सेबोनको बोर्ड बैठक महिनामा एकपटक मात्र हुने गरेको छ। अहिले बोर्ड बैठकले अन्य सामान्य निर्णयहरु गर्छ तर आईपीओ निष्कासनको अनुमति दिने निर्णय गर्दैन। ‘अध्यक्ष नहुँदा नियमितबाहेक अन्य कुनै पनि काम हुन नसकेको छैन’, उनले भने। 

लामो समयदेखि आईपीओ नहुँदा प्रमोटर सेयर होल्डरहरुको क्यापिटल प्लानिङमा समेत असर पर्ने गिरीको भनाइ छ। ‘अध्यक्ष नहुँदाको अवस्थामा बोर्डको पूर्ण बैठकले मात्रै निर्णय गर्न सक्छ’, उनले भने, ‘हकप्रदको अनुमति दिएपछि अब आईपीओ निष्कासनको अनुमति पनि दिँदै जानुपर्छ।’ 

सीडीएससीका एक अधिकारीले पनि हाल आईपीओ रोकिँदा र पछि एकैपटक अनुमति दिँदा सीडीएससीको सिस्टमले नै धान्न गाह्रो पर्ने बताउँछन्। 

लामो समयदेखि आईपीओ निष्कासन नहुँदा अहिले ब्रोकर हाउसदेखि डीपीहरुसमेत सुनसान भएका भएका छन्।