काठमाण्डौ । झन्डै ५ महिनापछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ। 

सर्वोत्तम सिमेन्टको सेयरको भित्री कारोबारमा मुछिएपछि सेबोनको अध्यक्षबाट भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै आईपीओ निष्कासनको अनुमति दिने काम रोकिएको थियो। सेबोन सञ्चालक समितिको बुधबार बसेको बैठकले एकैपटक ५ कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिने निर्णय गरेको हो। बैठकले २ वटा कम्पनीलाई हकप्रद निष्कासनको पनि अनुमति दिने निर्णय गरेको छ।

सेबोनकी सूचना अधिकार दीपा दाहालका अनुसार राष्ट्रिय उत्थान लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, बलेफी हाइड्रोपावर र ग्रिन भेन्चर्स लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएका छन्। 

सेबोनको अनुमतिसँगै अब राष्ट्रिय उत्थानले ८ लाख ५० हजार कित्ता, नेष्डोले ८ लाख २८ हजार ७५० कित्ता, जाल्पाले ५ लाख २२ हजार कित्ता, बलेफीले ३६ लाख ५५ हजार ९४० कित्ता र ग्रिन भेन्चर्सले ६२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ। 

यसैगरी सेबोन सञ्चालक समितिको बैठकले आइएमई जनरल इन्स्योरेन्स र शिखर इन्स्योरेन्सलाई हकप्रद निष्कासनको अनुमति दिने निर्णय गरेको पनि सूचना अधिकारी दाहालले जानकारी दिइन्। 

योसँगै अब जनरल इन्स्योरेन्सले चुक्तापुँजीको १०ः४ अनुपातमा कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद सेयर जारी गर्नेछ। 

त्यस्तै शिखर इन्स्योरेन्सले १०ः३ अनुपातमा कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद सेयरधनीहरुका लागि निष्कासन गर्नेछ। 

सेबोन सञ्चालक समितिले एकैपटक ५ कम्पनीका आईपीओ र २ कम्पनीका हकप्रदलाई निष्कासन गर्ने अनुमति दिने निर्णय गरे पनि सेबोन वेबसाइटमा भने अनुमति दिइएकोबारे सार्वजनिक गरिएको छ। तर हिजोको बैठकको निर्णयबारे सेबोनभित्रै अधिकारीहरुले सूचक चुहाएपछि शिखर र आइएमई जनरल इन्स्योरेन्सको सेयरभाउ उचालिएको छ। यो यी दुवै कम्पनीको सेयरमूल्यमा राम्रै ढंगले चलखेल भएको प्रस्ट पनि हुन्छ।