काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले धितोपत्र बोर्डको काम गर्ने तरिका गलत भएको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका छन् । 

दुई दिनअघि धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बोलाएको छलफलमा सहभागी उनले काम गर्ने तरिका सच्याउन आग्रह गरेका हुन् । 

बोर्डले दोश्रो बजारमा सूचीकृतमध्ये ५१ कम्पनीलाई फितलो आधारहरुको भरमा ‘जोखिमयुक्त’ घोषणा गरेपछि त्यसले बजारमा आतंक मच्चिएको थियो । नेप्से प्रमुख साउदले असार १ गते साँझ नै विभिन्न मिडियाहरुमार्फत बोर्डको कार्यशैलीको विरोध गरेका थिए । बोर्ड नियामक निकाय भए पनि काम भने कच्चा गरेको उल्लेख गर्दै उनले ‘५१ कम्पनीको लगानीकर्ता डूबे भने त्यसको जिम्मेवारी कसले लिने ?’ भन्ने प्रश्न गरेका थिए । 

यस्तै, उनले बोर्डको कार्यशैली गलत भएको उल्लेख गर्दै सोही विज्ञप्तिका आधारमा प्यानिक नहुन लगानीकर्तालाई आग्रह गर्दै संयमित भएर खरीदबिक्रीको निर्णय लिन समेत अपील गरेका थिए । उनको अपीलकै कारण भोलिपल्टको बजारमा अपेक्षा गरिएजस्तो पहिरो गएन ।  

बोर्डको कार्यशैलीको आलोचना गरेपछि अध्यक्ष ढुंगानाले नेप्से प्रमुखलाई एक छलफलका क्रममा सो विषयमा सोधेका थिए । ‘बोर्डको कदमको विरोध किन गर्नुभयो ?’ भनी उनले प्रश्न सोधेकोमा नेप्से प्रमुख साउदले आफूले गलत कामलाई ‘गलत’ नै भनेको प्रष्ट जवाफ दिएका थिए । ‘यदि मैले लगानीकर्तालाई नअत्तालिन आग्रह नगरेको भए धेरै डूब्थे, बोर्ड र नेप्सेमा लगानीकर्ता घेर्न आइपुग्थे ।’ साउदको भनाई उद्धृत गर्दै स्रोतले भन्यो–‘बोर्डले कम्पनीको नामै तोकेर सूची सार्वजनिक गर्ने गल्ती गर्नु हुँदैन थियो । तपाईहरु सच्चिन जरुरी छ ।’ 

उनले सो क्रममा बोर्डले यस्ता विषयमा सम्बद्ध अन्य निकायसँग सहकार्य नगरेकोमा दुःख प्रकट गरेका थिए । ‘बोर्डले बजार शुद्धिकरणको अभियान चलाउने हो भने एक्लै हिँडेर संभव हुन्न ।’ साउदलाई उद्धृत गर्दै स्रोतले भन्यो–‘बजारको फ्रन्टलाइन रेगुलेटर हामी हौं । नेप्सेलाई बाइपास गरेर तपाईहरु एक्लैले बजार शुद्धिकरण गर्न खोज्नु भयो भने असार १ गतेको जस्तै भाँती पुग्दैन । आफ्नै कदम आफ्ना लागि गलपासो बनिदिन्छ ।’ 

साउदले सो क्रममा धितोपत्र बोर्डको उद्देश्य ठीक भए पनि काम गर्ने शैली गलत भएको पटक–पटक भनेका थिए । ‘सबैले ठीकलाई ठीक र बेठीकलाई बेठीक भन्नुपर्छ । सेतोलाई कालो, कालोलाई सेतो भन्न सकिन्न ।’ उनले आफूले मिडियाहरुमा बोलेको प्रष्ट पार्दै भने–‘बोर्डले लगानीकर्ता तर्साउने गरी के के न खोज गरेँ भन्दै सार्वजनिक गरेको कम्पनीहरुको तथ्याङ्क नेप्सेको वेबसाइटमा सहजै उपलब्ध छ । तत् कम्पनीले पनि हरेक त्रैमासमा आफ्नो वेबसाइटमा राखेकै छन् । त्योभन्दा बढी यो केशमा के काम भयो र तपाईहरुबाट ?’

उनले सो क्रममा बोर्डले कतिपय काम गर्दा ट्रयाक छाड्न थालेको हो कि भन्ने गलत सन्देश बजारमा गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।

‘तपाईहरु यसरी अलमलिएको बेला र तपाईहरुको अपरिपक्व निर्णयबाट लगानीकर्ता अत्तालिएको बेला सही कुरा बोलिदिने मान्छे त हुनुपर्छ नि । मैले त्यही भूमिका निर्वाह गरेको हुँ ।’ उनले सो क्रममा भनेका थिए ।   

नेप्से र बोर्ड दुवैको उद्देश्य बजारको विकास र बिस्तार रहेको उल्लेख गर्दै साउदले तरिका नमिलाई काम गर्दा यस्तै समस्या आउने र अनाहकमा आलोचनाको शिकार बन्नुपर्ने समेत सो क्रममा बताएका थिए । 

छलफलको क्रममा बोर्डका अधिकारीहरु आफूहरुले तरिका नपुर्याई काम गरेकोमा सहमत देखिन्थे । साउदले नेप्सेको आफ्नो टिमलाई बोर्डमा भएको छलफलको विषय सुनाउँदै भनेका थिए–‘उहाँहरुलाई रियलाइज भइसकेको छ । अब यसलाई लगानीकर्ताले बुझ्ने गरी सच्याउनु भयो भने दोष पखालिन्थ्यो ।’