काठमाण्डौ । नियामक निकायको नेतृत्वमा बसेर भित्री सूचनाको आधारका सर्वोत्तम सिमेन्टको सेयर किनिएको भन्दै सांसदहरुले नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) प्रमुख चन्द्रसिंह साउदलाई निलम्बन गरी कारबाही प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गरेका छन्। 

अर्थ समितिको आज बसेको बैठकमा सहभागी सांसदहरुले यस्तो माग गरेका हुन्। सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाको छोरीको नाममा र साउदको श्रीमतीको नाममा सेयर किनेको भेटिएपछि सांसदहरुले दुवैजनालाई निलम्बन गर्दै कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन्। 

यसका साथै सांसदहरुले सेयर बजारमा हुने गरेको इन्साइडर ट्रेडिङको विषयमा बहालवाला वा पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति बनाउन पनि सरकारलाई सुझाव दिएका छन्। 

बैठकमा अर्थसचिव मधुकुमार मरासिनीले ढुंगाना र साउद दुवैलाई यस विषयमा व्यक्तिगत स्पष्टीकरण माग गरेको जानकारी दिए। यसअघि अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र नेप्सेसँग स्पष्टीकरण माग गरेको थियो। 

मरासिनीका अनुसार दुवैसँग गत साउन २७ गते स्पष्टीकरण माग गरिएको थियो। ‘दुवैले जबाफ पठाइसकेका छन्’, उनले भने, ‘अब यस विषयमा थप अध्ययन गर्न एउटा समिति बनाउने तयारी भइरहेको छ।’