– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पहिले आफूले केही काम गरेर देखाउने र त्यसपछि मात्र मिडियासँग बोल्ने बताएका छन्। 

धितोपत्र बोर्डको कार्यालयमा आज नेपाल पुँजीबजार लगानीकर्ता संघको प्रतिनिधिमण्डलसँग भेटमा अध्यक्ष हमालले आफूले अहिले नै मिडियासँग यो गर्छु वा त्यो गर्छु भनेर नबोल्ने बताएका हुन्। ‘पहिले केही काम गरेर देखाउँछु, अनिमात्र मिडियासँग बोल्छु’, उनले भने, ‘विगतमा केही कमीकमजोरी भएका होलान्, तिनलाई सच्चाउँदै अगाडि बढ्छु। पुँजीबजार सुधारका लागि म लागिपर्नेछु।’

भेटका क्रममा संघकी अध्यक्ष राधा पोखरेलले बजारमा पछिल्लोपटक देखिएको समस्याहरु समाधान गर्न अभिभावकको भूमिका खेल्न अध्यक्ष हमाललाई सुझाव दिएकी थिइन्। ‘हामीले बजारका समस्या पहिचान र समाधान गर्न धितोपत्र बोर्डले सकभर साप्ताहिक रुपमा नभए मासिक रुपमा लगानीकर्ताहरुसँग छलफल गर्न पनि भनेका छौँ’, उनले भनिन्

बजार विकास र विस्तारका लागि लगानीकर्तासँग मिलेर अगाडि बढ्न आफूहरुले सुझाव दिएको पोखरेलको भनाइ छ। ‘नयाँ ब्रोकर लाइन्सेन्स वितरण गर्न, ब्रोकर कमिसन घटाउन र कोभिडको अवस्था सहज बनेकोले बन्द रहेका ब्रोकर हाउसका डिस्प्ले खोल्न सुझाव दिएका छौँ’, उनले भनिन्, ‘यी विषयमा अध्यक्ष हमाल सकारात्मक हुनुहुन्छ, मिलेर अगाडि बढ्ने प्रतिबद्धता गर्नुभएको छ।’