– अनन्त्य सुन्दर

काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अध्यक्ष रमेशकुमार हमालले आफ्नो कार्यकाल कम भएकाले आफूले दिन गन्दै काम गरेको बताएका छन्। 

सेबोनमा अध्यक्ष हमालको नियुक्ति भएको झन्डै ३ महिना भएको छ। हमालले नियुक्तिपश्चात बोर्डबाट बजार विकास र विस्तारका लागि आवश्यक कामहरू नभएको लगानीकर्ता, ब्रोकर, मर्चेन्ट लगायत अन्य सरोकारवालाले आरोप साथै गुनासो राख्दै आएका छन्।

यिनै गुनासाहरुबीच बिजशालासँगको कुराकानीमा अध्यक्ष हमालले आफू सेबोनमा अध्यक्ष नियुक्ति भएको आज ८० दिन भएको बताए। ‘विगतका अध्यक्षहरुको ८० दिनमा भएको कामको तुलना गर्ने हो भने मैले तुलनात्मक हिसाबमा बढी नै काम गरेको छु’, उनले दाबी गर्दै भने। 

सेबोनमा लामो समयदेखि रोकिएको टीएमएसको एपीआई पोलिसी संशोधनसहित पारित भएको उल्लेख गर्दै हमालले भने, ‘कारोबार अवधिमा देखाइने फ्लोरसिट हटाइएको छ। त्यस्तै टी प्ल्स टु सेटलमेन्ट नगर्ने ब्रोकरहरुलाई कारबाही अघि बढाइएको छ।’

सेबोनले सीआईबी, राष्ट्र बैंकलगायत अन्य नियामक निकायहरुसँग सहकार्य र समन्वय गरेर बजारमा धितोपत्र ऐनविपरीत काम गर्ने ‘गोल्डम्यान’जस्ता कम्पनीको अध्ययन साथै अनुसन्धान प्रक्रिया अघि बढाएको पनि हमालले बताए। ‘नेपाल सरकारबाट स्वीकृति लिएर गएका श्रमिकहरुलाई आईपीओमा कोटाका लागि बोर्डले नियमावली तयार गरेको छ। क्याबिनेटले पास गरेपछि लागू हुन्छ’, उनले भने, ‘त्यस्तै विदेशमा बस्दै आएका नेपालीलाई डलर अकाउन्ट खोली दोस्रो बजारमा कारोबार गर्ने वातावरण बनाउन बोर्ड अघि बढेको छ।’

रियल सेक्टरका कम्पनीहरु आईपीओ निष्कासनका लागि बुक बिल्डिङ प्रक्रिया अघि बढिसकेको हमालले बताए। ‘नेपाल विद्युत् प्राधिकरणजस्तो संस्थाले आईपीओ जारी गर्नुपर्छ भनेर कुलमान घिसिङजीलगायतसँग भेटवार्ता पनि भइरहेको छ’, उनले भने। 

आईपीओ स्वीकृति, डिबेन्चर, म्युचुअल फन्डलगायत ९ महिनामा हुने काम आफू आएपछि २ महिनामै भएको हमालले उल्लेख गरे। ‘सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार पनि बजार सञ्चालन गर्ने निर्देशन सेबोनले नेप्सेलाई दिएको छ’, उनले भने।

‘८० दिनमा योभन्दा बढी के गर्ने?’ प्रश्न गर्दै हमाल भन्छन्, ‘सेबोनबाट छोटो अवधिमा यति धेरै काम हुँदा पनि नभएको देखिन्छ भने अझ बढी गरौँला।’

‘सेबोनले नयाँ प्रडक्ट, प्रविधि, टुल्स थप्नुका साथै नीतिगत सुधार गर्ने हो’, हमाल भन्छन्, ‘म सधैँ न्युट्रल सोचेर काम गर्छु। त्यसैले विगतका दिनमा सेबोनले जे गरे पनि सेबोनले बजार घटाउने वा बढाउने काम गर्दैन। सेबोनको काम नियमन गर्ने हो।’