काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष रमेशकुमार हमालसहितको टोली आज साँझ भारत प्रस्थान गर्ने भएको छ। 

अध्यक्ष हमालसहित सेबोनका कर्मचारी कृष्णराज पोख्रेल, नारायण शर्मा र मुक्तिनाथ श्रेष्ठ भारतको नयाँदिल्ली प्रस्थान गर्न लागेका हुन्। सेबोनको नीति तथा कार्यक्रमका साथै राष्ट्र बैंकको मौद्रिक नीति नजिकिँदै गर्दा अध्यक्ष हमालसहितको सेबोन टोलीको भारत प्रस्थान चासोको विषय बनेको छ। 

सेबोनका एक कर्मचारीका अनुसार उक्त टोली भारतको पुँजीबजारको नियामक निकाय सेक्युरिटिज बोर्ड अफ इन्डिया (सेबी)बारे बुझ्न भारत प्रस्थान गर्न लागेको हो। ती कर्मचारी भन्छन्, ‘टोलीले भारतको सेबीका साथै नेसनल इन्स्टिच्युट अफ सेक्युरिटिज मार्केट (निसम)का गतिविधि बुझ्नेछ। 

सेबोन टोली भारतबाट असार ३० गते नेपाल फर्किने पनि ती कर्मचारीले जानकारी दिए।