काठमाण्डौ। सेयर बजार दैनिक चलायमान भएसँगै अहिले धेरैको ध्यान मुख्य मुखपत्र तथा मिडियामा हुने गरेको छ। जोसुकै पनि अहिले सेयरको समाचार सुन्नेबित्तिकै कान ठाडो पारिहाल्छन्। 

बढ्दो बजारमा विकृति र चलखेल बढ्न थालेको भन्दै लगानीकर्ता तथा सरोकारवालहरुको गुनासो सुनिन थालेको छ। कतिपयले सम्बन्धित निकायबाट भरपर्दो सेवाहरु नपाइरहेको गुनासो पनि गरिरहेका छन्।

यिनै विषयमा आज नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा भीष्मराज ढुंगाना र बिजशालाकर्मी अर्जुन तिमिल्सिनाबीच कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरेका छौँ। 

बाहिर सबैतिर सामान्य भइरहेको छ, अब ब्रोकर हाउसहरुमा डिस्प्लेमात्रै बन्द गरेर केही अर्थ होला र ?

– अहिले डिस्प्ले नखुल्नु मुख्य समस्या होइन। अहिले भारतमा फेरि कोरोना संक्रमण बढेको छ। नेपालमा पनि सचेत हुन आवश्यक छ। ब्रोकर हाउसहरुमा दूरी कायमा भएको छैन। अहिले नै मान्छे जम्मा हुने अवस्था छैन। अझै बेला भएको छैन। अहिले जोखिम नै छ। सरकारले सहज महसुुस गर्नेबित्तिकै हामीले डेस्प्ले खोल्छौँ।

कमोडिटी मार्केटको चर्चा पनि छ। यो विषय कहाँ पुग्यो ? 

– हाम्रो ऐनअनुसार अघि बढेका छाँै। पहिलाका आवेदनहरु अगाडि बढ्ने अवस्था छैन। पहिला नीतिगत तथा प्रक्रियागत व्यवस्था तय हुनुपर्यो। यसका लागि एउटा कमिटी बनेको छ। त्यो कमिटीले सुझाव दिएपछि फेरि दरखास्त आह्वान गर्छौं। यसमा विदेशी पार्टनर वा प्राविधिक सहयोग पनि लिन सकिन्छ। सबै प्रक्रिया पूरा गर्न छिटोमा ९ महिना लाग्छ। आगमी आर्थिक वर्षसम्मा आउँछ।

यहाँ लामो समय राष्ट्र बैंकमा बसेर बैंकहरुलाई नियाल्नु पनि भएको थियो। बैंकलाई ब्रोकर लाइसेन्सको विषयमा बोर्डमा के हुँदैछ ?

– व्यवहारिक रुपमा हेर्न हो भने बैंकले पाएका आफ्नै जिम्मेवारी पूरा गर्न नसकेको अवस्थामा थप जिम्मेवारी दिनु कति जाहेज होला ? सोचनीय नै छ। क्षेत्र विस्तारपछि हाम्रो पनि जिम्मेवारी बढ्छ। सुपरीवेक्षणको विषय पनि छ। हरेक क्षेत्रमा अनिमितता बढेको छ। अर्काको नियमनभित्र रहेको संस्थालाई हाम्रोभित्र ल्याउँदा धेरै कुरा विचार गर्नुपर्छ। बजारको विकास र विस्तार गर्नु आवश्यक छ। त्यसका लागि अहिलेका ब्रोकरहरुलाई स्थानीय निकाय तथा जिल्लामा जाने गरी माग भएअनुसार अनुमति दिइनेछ। प्रादेशिकस्तरमा नयाँ ब्रोकर लाइसेन्स दिने तयारी गरिरहेका छौँ। सेयर कारोबारलाई यन्त्रीकरण गर्छौं। अब मोबाइल एपबाटै सेयर किनबेच गर्ने व्यवस्था हुन्छ। संसारको जुनसुकै ठाउँबाट किनबेच गर्न सक्ने हुनेछ। ब्रोकरको क्षमता बढाउनुपर्छ।

– गैरआवासीय नेपाली (एनआरएन) लाई नेपालको पुँजी बजारमा ल्याउने विषय के भइरहेको छ ? 

यस विषयमा अध्ययन गर्न हामीले विज्ञटोली परिचालन गरेका छौँ। विज्ञ टोलीले १–२ हप्तामा प्रतिवेदन दिन्छ। कसरी ल्याउन सकिन्छ भनेर त्यतिबेला नै भन्न सकिएला। उनीहरुलाई दुईवटा बाटो खुला छन्। पहिलो भनेको पोर्टफोलियो व्यवस्थापनका लागि यसमा लगानी गर्न सक्छन्। दोस्रो भनेको विशिष्टीकरण लगानी कोषबाट पनि लगानी गर्न सक्छन्। जहाँसम्म दोस्रो बजारमा प्रवेश गर्ने विषय छ, यो भने प्रतिवेदन दिएकै आधारमा भन्न सकिन्छ। मुख्य विषय भनेको एनआरएनहरुले पैसा कसरी लैजान दिने भन्ने नै हो। लगानी गर्दा कुन माध्यमबाट कसरी लगानि गर्ने र लगानीपछिको प्रतिफल कसरी फिर्ता लैजाने भन्ने बिषय प्रस्ट भएपछि एनआरएनलाई स्वागत गर्छौं।

आर्थिक पत्रकारलाई तालिमको कुनै अवसर छ ?

– तत्काल कुनै योजना छैन। पहिले विश्व बैंकको पहलमा आर्थिक पत्रकारलाई तालिम दिइएको थियो। कसैले योजना ल्याएदेखि हामीले जनशक्ति दिन सक्छौँ।

प्राथमिक बजारमा धेरै आकर्षण बढेको छ। अहिलेको १० कित्ता प्रथाबारेमा बोर्डको धारणा के छ ? 

– यसमा आकर्षणसँगै विकृति पनि बढेको छ। अरुको नाममा नागरिकता संकलन गरेर भर्नेजस्ता समाचार आइरहेका छन्। यो अवैधानिक हो र बैंकिङ कसुरअन्तर्गत जेलसम्मको सजाय हुन सक्छ। यसले डिजिटल बोरेको विकास भएको हो कि भन्ने पनि हामीलाई लागेको छ। सेयरमा खास लगानी हो, बचत होइन। अहिले सामान्यभन्दा सामान्य नागरिकले पनि दैनिक १ हजार ५०० रुपैयाँ कमाउँछ भने ५ हजार रुपैयाँ जोड्न नसक्ने कोही छैन। 

– क्लोजआउटको विषयमा बोर्डको धारणा के छ ?

आफूसँग सेयर छ र राम्रोसँग कारोबार गरिएको छ भने यो समस्या छैन। बदमासी गर्दा यस्तो हुने हो। त्यस्तै बेलैमा ईडीआईएस नगर्दा पनि यस्तो हुने गर्छ। लगानीकर्ता नै सचेत हुनुपर्छ। अरु मुलुकमा सट्टेबाजीको व्यवस्था पनि छ, हामीकोमा छैन। इन्ट्राडे ट्रेडिङको व्यवस्था पनि गर्ने प्रक्रियामा छौँ। भर्खर बिडिङ सकिएको छ। हामी छिटै रियल टाइममा जाँदैछौँ। भारतबाट एपीआई आउँदैछ। छिटै अब हामी रियल टाइमा गएर प्लेजेजको सेयर पनि फुकुवा हुनेबित्तिकै बेच्न मिल्ने सीडीएससीले गर्दछ। यो आउँदो ३–४ महिनामा हुन्छ।