-भक्तराज रसाइली
काठमाण्डौ । सेयर बजार बुझ्ने लगानीकर्ताहरुको जमात निकै सानो छ । सेयर बजारमा गरिएको विवेकपूर्ण र सुझबुझपूर्ण लगानी धेरै व्यक्तिहरुको व्यवसाय र जीवनको आधार बन्दै आएको छ । बजारमा विवेकपूर्ण लगानी गर्ने केही सीमित पात्रमध्ये सन्तोष बस्नेत पनि एक हुन् । उनी जागिरे जीवनलाई नै त्यागेर नेपाली सेयर बजारमा होमिएका हुन् । 

बजार सूचनाका आधारमा चल्छ । कम्पनीका सूचना र गहन विश्लेषणसहितको लगानीकै कारण सेयरबाट करोडपति बनेका बस्नेत सेयर र जग्गा व्यापारमा समेत अब्बल छन् । बस्नेतको पुख्र्यौली घर भोजपुर कुलुङ गाउँपालिका हो । हाल उनी कपनको भङ्गाल बसोबास गर्र्दै आएका छन् ।

राजधानी काठमाण्डौं खाल्डोमा प्रायः अधिकांश व्यक्तिहरु अध्ययन, रोजगारीकै सिलसिलामा आउँछन् । यस्तैमा बस्नेत पनि २०५५ सालमा एसएलसी दिएर उच्च अध्ययनकै लागि काठमाण्डौ आएका थिए । अध्ययनलाई पनि अगाडि बढाउँदै उनले रेष्टुरेण्टमा जागिर पाए । लाजिम्पाटमा नेपाल हिम थाई रेष्टुरेण्ट रेष्टुरेण्ट इञ्चार्जको जागिर ३ वर्ष जति गरे । अनि एक इन्टरनेट सर्भिस प्रोभाइडर कम्पनीमा पनि बस्नेतले ३ वर्ष नोकरी गरे । मार्केटिङ मेनेजरको पदबाट जागिरबाट बाहिरिएपछि उनले आजसम्मै कतै जागिर खाएनन् । 

सिप्रदी ट्रेडिङमा उनलाई ६०–७० हजारको तलबमा सेल्स मेनेजरका रुपमा आमन्त्रण गरिँदासमेत उनलाई जागिरप्रति मोह बढेन । अनि २०६५ सालमा सेयर बजार छिर्ने निधो गरी उनी फूलटाइमरको रुपमा आए । 

एनटीसीको आइपीओ मूल्य बढाबढमा भर्न भने नाताले उनकै भिनाजु पर्नेबाट थाहा पाए । उनले त्यत्तिबेला एनटीसीको प्राथमिक निष्कासन ५ सय कित्ता प्रतिकित्ता ७ सयमा हाता पारे । डेढ वर्षजति प्राथमिक बजारमै रमाएका बस्नेतलाई सेयर बजारको नशा चढ्यो अनि तराईमा आफैंले बनाएको घर बेचेर २०६७ सालताका ५० लाख रुपैयाँसहित दोस्रो बजारमा धमाकेदार इन्ट्री मारे । 

बजार बूम भएकाले सेयरको मूल्य बढ्दै जाँदा उनमा पनि नशा चढ्दै थियो । आक्रामक लगानी र आक्रामक प्रवेश मारेका बस्नेतले सुरुमा बीओकेको ५ सय कित्ता ८ सय ५० प्रतिकित्ता  र एसबीआईको  ५ सय कित्ता ७ सय प्रतिकित्ताका दरले किने । ग्लोबल आइएमईको आइपीओ परेको चिट नै ८ सयमा बेचेपछि दोस्रो बजारमा २ हजारसम्म बेच्ने सपना देखेर नै बस्नेतले ज्ञानको अभावका बाबजूद पनि हौसिएको विगत कोट्याए । 

सुरुवातीताका बजार बुझ्न बस्नेतलाई निक्कै हम्मेहम्मे पर्यो । सुरुको लगानी लगभग कारोबार गर्दागर्दै सकिएको बस्नेत बताउँछन् । नबुझी एकैचोटि धेरै पैसा खन्याउनु नहुने पाठ समेत बस्नेतले सिके । सही समयमा इन्ट्री र एक्जिट भएन भने फेल भइने पाठ उनले त्यहाँबाट सिक्दै गए । सेयर बजारबारे बुझ्न कसैलाई गुरु नमानेका बस्नेत आफैं लगानी गर्दै सिकेको सुनाउँछन् । तर अथाह सम्भावना देखेर मोहित बनेका उनले सेयर बजारलाई नै बिजनेस बनाउने अठोट राखे ।

बस्नेतले दोस्रो बजारमा प्रतिकित्ता ५ सयमा खरिद गरेका अरुण हाइड्रोको सेयर हकप्रद सेयर पनि पचाएर साढे छ सय प्रतिकित्तामा बेची अत्यधिक मुनाफा कुम्ल्याएको प्रसँग निकाले । उसो त एभरेष्ट बैंक प्रतिकित्ता ६ सय ७० रुपैयाँमा किनेर छोटो समयमै १२ सय प्रतिकित्तामा बेच्न सफल बनेको दाबी गरे । सेयर बजारमा नाफामात्र हुँदैन घाटा पनि व्यहोर्नुपर्ने हुन्छ । सेयर कारोबारकै सिलसिलामा नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा अहिलेसम्मकै अधिक नोक्सानसमेत बेहोरेका रहेछन् । २७ सय प्रतिकित्ता सेयरलाई प्रतिकित्ता १८ सयमा बेच्दाको पीडा समेत उनले सुनाउन भ्याए ।

सेयर बजार अधिक जोखिमको लगानी क्षेत्र भएको बताएका बस्नेतले बजारको उत्तारचढाव रमाइलो लाग्ने गरेको अनुभव छ । बजार घटिरहेकोमा हताश लाग्दैन ? भन्ने बिजशालाको जिज्ञासामा बस्नेत भन्छन्–‘कहिलेकाहीँ निराश भइयो होला, तर मेरो आत्मबल निकै बलियो भएकाले पेशा बनाएरै जाडिएकाले सकारात्मक छु ।’ 

अन्य नवप्रवेशी लगानीकर्ताहरुलाई समेत उत्प्रेरित गरी सेयरबाटै करोडपति बनाइदिएको उदाहरण उनले सुनाए । सेयर बजारबारे जानकार नभएका उनकै आफन्तलाई डेढवर्षभित्र डेढ करोड रुपैयाँ सेयरबाटै चोखो कमाइदिएको स्मरण समेत उनले सुनाए ।

सेयर बजारको पहिलो स्कूल ब्रोकरलाई ठान्ने बस्नेत ब्रोकरको गाइड, बजारको गहिरो अध्ययन र अर्थतन्त्रको विश्लेषण गर्नसके सेयर राम्रो कमाई हुने क्षेत्र भएको बताउँछन् । बचत रकम वा थोरै रकम लगानीबाट सेयर बजारमा प्रवेश गर्नुपर्ने सल्लाह दिएका बस्नेत अग्रज लगानीकर्ताको मार्गदर्शन समेत चाहिने सुनाउँछन् । सूचिकृत कम्पनीका मुख्य वित्तीय सूचक इपीएस, पीइ रेसियो, आरओई, रिजर्भ लगायतमा चनाखो भई वार्षिक २० देखि २५ प्रतिशत ग्रोथ भएका कम्पनीहरुमा गरिएको लगानीबाट राम्रो प्रतिफल हुने बस्नेतको बुझाइ छ । 

विगत ११ वर्षदेखि सेयर बजारमा आएर के पाउनुभयो ? भन्ने प्रश्नमा बस्नेतले १–२ ठाउँ जग्गा किन्न, जीवनयापन चलाउन सफल भएको बताए । घर बनाउने पैसा समेत सेयर लगानीमै थुपारेका बस्नेत घरको भाडाबाट हुने आम्दानीभन्दा सेयरले ४०–५० प्रतिशतसम्म प्रतिफल दिने दाबी गर्छन् । 

जग्गा व्यसायमा धेरै वर्षदेखि जोडिएतापनि सक्रियता भने विगत १० वर्षदेखि रहेको उनको भनाइ छ । नेप्से परिसूचक १७ सय हुँदा सेयर गरिएको लगानीमध्ये कुल पोर्टफोलियोको ४० प्रतिशत रकम करिब २ करोड पैसा बजारबाट झिकेर जग्गामा खन्याएका बस्नेतले ३ गुणासम्म सम्पत्ति बढेको दाबी गरे । हाल बजार बियरिस हुँदा समेत आफ्नो पोर्टफोलियो भने ब्रेकइभनमै रहेको उनको दाबी छ ।

केही लाखको लगानी करोड बनाएका बस्नेतले केही पाउन केही ग्ुमाए पनि । सेयर बजारको अथाह सम्भावना र बिजनेस बनाउन सफल बस्नेतले दोस्रो बजारमा लगानी गर्न घर नै बेच्न पुगे । 

उत्तारचढावमा अनुशासित भइ लगानी गरी धैर्य हुन उनले लगानीकर्तालाई आग्रहसमेत गरे. । बजार अथाह हुने भएकाले अनुभव अध्ययन नै अनुमानको आधारशीला भएको उल्लेख गर्दै बस्नेत नेप्से परिसूचक हेरेर कारोबार गर्न नहुने बताउँछन् । 

नियामक सेबोन र नेप्सेले बजारमा गाइड गर्न नसक्नु र बजार विकासको पहल कहीँकतैबाट नहुनु आफैंमा दुःखद भएको बस्नेतले बताए । ‘बजारमा अस्थिर लगानीकर्ता हुनु पनि अर्को दुःखद पक्ष हो ।’ उनले भने । 

पूँजीबजारको विषयमा सरकारको स्पष्ट धारणा आवश्यक रहेको जिकिर गर्दै बस्नेत एनआरएनएलाई पूँजीगत लाभकर छुट सुविधासहितको लगानीको वातावरण बनाउन आवश्यक रहेकोमा जोड दिए । निश्चित मापदण्डका साथ बैदेशिक लगानी सेयर बजारमा भित्र्याउन जरुरी रहेको बस्नेतको ठम्याइ छ ।