-भक्तराज रसाइली
काठमाण्डौ । विश्वमै सेयर बजारमा लगानी गर्ने व्यक्तिहरुलाई निकै सम्मानपूर्वक हेरिन्छ । सेयर बजारको चार्म र ग्लामरसकै कारण यसैलाई प्रोफेसनका रुपमा अगाडि बढाउने जमात नेपालमा पनि बढिरहेको छ । जागिरको कमाइ निश्चित हुने र नसोचेको पैसा कमाउन समेत सेयर बजारको क्षेत्रमा अन्य प्रोफसेनबाट आउने व्यक्तिहरुको लहड पनि रोचक बन्दै गएको छ । आज हामीले जागिर नै छाडेर सेयरबाट करोडपति बन्ने सपनालाई विपनामा परिणत गर्न आएका एक युवाको अनुभव र यात्राको कथा लेख्दैछौ । 

सुन्दर पाण्डे, जो जागिरझैं सेयर बजारलाई दैनिक ८ घण्टा नै दिने गर्दछन् । ३५ वर्षीय पाण्डेको पुख्र्यौली घर दोलखाको कालिञ्चोक गाउँपालिका हो भने हाल उनी टोखा नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । 

सेयर बजारमा पूर्णकालीन लगानीकर्ताको परिचय दिन रुचाउने उनी सर्वश्री इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष पनि हुन् । एक सहकारीका सञ्चालक समेत रहेका पाण्डे सानोतिनो जग्गा व्यापारमा पनि सक्रिय छन् । पुख्र्यौली घर दोलखा भए पनि उनी काठमाण्डौ टोखामा नै जन्मेका हुन् । बीबीएस तह उत्तीर्ण उनी पढाइमा भन्दा काममा ज्यादा विश्वास राख्छन् ।

न्यूप्लाजामा अवस्थित स्टक ब्रोकर नम्बर २६ एशियन सेक्युरिटीजले त अघोषित रुपमै एउटा कम्प्युटर नै प्रदान गरेको छ । बिहानै घरबाट निस्कने पाण्डे १० बजेतिर बैंक धाउँछन् अनि त्यसपछि ११ बजेतिर ब्रोकर हाउसमा सेयर कारोबारमै व्यस्त हुन्छन् । बिहान ११ बजेदेखि ३ बजेसम्म ब्रोकर हाउसमा बसेर अल्पकालीन ट्रेडमा रमाइरहँदा पाण्डेका धेरै लगानीकर्ताहरुसमेत फलोअर छन् । पाण्डे झिझो नमानीकनै लगानीकर्ताहरुलाई दिशानिर्देश र नबुझेका कुराहरु बताइदिन्छन् । निकै हँसिला पाण्डे सेयर बजारमा जति धेरै लगानीकर्ता आए, उति सबैलाई फाइदा हुने सुनाउँछन् ।

पन्ध्र वर्षको उमेरमा एसएलसी दिने बित्तिकै पाण्डेले एक प्रतिष्ठित अटोमोबाइल कम्पनीबाट करिअरको सुरुवात गरे । मासिक ३९ सय तलबबाट सुरु गरेका उनले जागिरसँगै थोरबहुत जग्गा व्यवसायमा पनि हात हाले । २०५६ सालदेखि २०६८ सालसम्म सो अटोमोबाइल कम्पनीमा जागिर गरेपछि सेयर बजारमा सक्रिय हुने सोचेर उनले मासिक ५० हजारको तलबलाई तिलाञ्जली दिए ।

सेयर बजारमा पाण्डेको यात्रा भने जागिरे अवधिमा नै सुरु भएको रहेछ । उनका साथीहरुकै लहलहैमा आइपीओ र अक्सन मार्केटमा पाण्डेले सेयर आवदेन गर्दा रहेछन् । ग्लोबल बैंकको आइपीओबाट सुरु उनको सेयर बजार यात्रा शाइन रेशुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक लगायतका सेयरहरु उनले न्यूनतम बिड मूल्यमै सकारेर ५÷६ लाख रुपैयाँ कमाए । लाखौं कमाएपछि उनलाई सेयरको रस पसेछ । अनि जागिर गरिरहेको कम्पनीमा सहमतिमै बिदा लिएर सेयर बजारमा पूर्ण रुपमा लागेको पाण्डे सुनाउँछन् । 

आइपीओ र अक्सन मार्केटबाट सकारेका सेयरहरु बेच्न खोज्दा पाण्डे दोस्रो बजारसँग जोडिए । ‘जिन्दगीमा मैले सेयर बजारलाई प्रोफेसन नै बनाउँछु भनेर सोचेका थिइँन।’पाण्डे भन्छन्–‘अन्यौल र लहैलहैमा ठोक्किए पनि निकै मज्जा लिइरहेको छु । मैले जागिर झैं ८ घण्टा समय बिताउँछु । बिहान बैंक, साथीभाइ छलफल राय, दिउँसो ११ देखि ३ बजेसम्म मार्केट र ३ बजेपछि बाँकी रहेका बैंकका कामहरु गरेरै म घर पुग्छु।’पाण्डेले आफ्नो दैनिकीको बृतान्त लगाए ।

दोस्रो बजारमा पाण्डे प्रवेश हुँदा नेप्से परिसूचक ७०० आसपास रहेको सम्झन्छन् । ग्लोबल आइएमई बैंकको ४०० कित्ता सेयर ३ सय हाराहारीमा किनेर दोस्रो बजारमा पाइला चालेका उनले जग्गा बेचेर करिब ५० लाख लगानी ओइराए । ‘बढ्दो ट्रेण्डमा बजार रहेछ, आज किन्थे भोलि बढ्थ्यो, अनि आत्मविश्वास पनि बढ्दै गयो।’ पाण्डेले भने–‘२ वर्ष सक्रिय भइसकेपछि कता–कता मलाई मार्केट रिसर्च गर्नुपर्ने अनुभूति भयो ।’

सेयर बजारका लगानीकर्ता र वकिलको पेशा लगभग एउटै जस्तो लाग्ने गरेको उनको बुझाइ छ । ‘वकिल पेशामा पनि कुनै केसमा सबै पढ्नुपर्छ अनि सेयर बजारमा पनि कम्पनीबारे सबै पढ्नुपर्ने अनि भएन त एउटै ?’–उनल तर्क राखे ।

सेक्टरवाइज पोर्टफोलियो लगानीमा निकै चलाख पाण्डेले धेरै मुनाफा कमाएको धितोपत्रहरु भने शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, मुक्तिनाथ विकास बैंक, बिराटलक्ष्मी विकास बैंक र आरबीसीएल रहेको दाबी गरे । विकास बैंकहरुमा करिब १५ लाख र आरबीसीएलमा करिब ८ लाख जति नाफा कुम्ल्याउन भ्याएका उनलाई नेपाल बैंक र अरुण हाइड्रोमा भने चूना लागेछ । नेपाल बैंक र अरुण हाइड्रोमा प्रतिकित्ता ५० रुपैयाँ नोक्सान सहेर बेचेको उनी सम्झन्छन् ।

कम्पनीका बारे विस्तृत अध्ययन गर्दै विगत ३ वर्षको प्रगति र भविष्यको ग्रोथ हेरी सेयरमा लगानी गर्नुपर्ने पाण्डेको ठम्याइँ छ । ‘सेयर कर्जामै कारोबार गरेता पनि लाभांशले ब्याज धान्नसक्ने खालको हुनुपर्छ।’पाण्डे भन्छन्–‘बजार बूम भएर १८८१ हुँदा सेयर कर्जा डेढ करोड रुपैयाँ लिने हैसियत हुँदा पनि मैले ५० लाख रुपैयाँमात्र लिएँ । अहिले नेप्से घट्दा पनि मेरो पूँजी २० प्रतिशत हाराहारी मात्र गिरावट छ । बढ्दा मात्तिने र घट्दा डराउनु हुँदैन भन्ने मलाई लाग्छ । बजार नबढी घट्दैन र नघटी बढ्दैन ।’

बजार रातो हुँदा किन्ने र हरियो हुँदा बेच्न सक्नुपर्ने पाण्डे सुझाउँछन् । ‘यो सूत्र कार्यान्व्यन गर्न निकै कठिन छ, तर नगरी सेयरमा सफलता पाइँदैन । तर म त रातो हुँदा समेत होल्ड गर्ने क्षमता राख्छु।’उनले आत्मविश्वासका साथ जिकिर गरे । नेप्से परिसूचक नकारात्मक वा सकारात्मकमा धेरै चिन्तित हुनु नपर्ने उनको बुझाइ छ । बैंक, लघुवित्त, बिमा लगायतका समूहमा पोर्टफोलियो लगानी विविधिकरण गर्न उनले सल्लाह दिए । बैंकमा समेत नगद तरलता राख्दा बजारमा कहिलेकाहीँ राम्रो अवसर छोप्न मिल्ने पाण्डे सुनाउँछन् ।

जागिरै छाडेर केही गर्ने उत्कट चाहनाले सेयर बजारमा आएका पाण्डेले स्वदेशमै परिवारका साथ सुखमय जीवनयापन गर्न पुगेको बताए । विवाहित पाण्डेले सेयरबाटै मासिक पौने २ लाख रुपैयाँ हाराहारीको आम्दानी भइरहेको दाबी समेत गरे । ‘म हरेक काम मनैदेखि गर्ने भएकाले सेयर बजारमा पनि धेरै नै खुशी छु ।’ उनी भन्छन् । 

सेयर लगानीमा सफल हुन मुख्य ३ चीज आवश्यक पर्ने पाण्डे जिकिर गर्छन् । ‘पूँजी, लगनशीलता र धैर्यता लिएर आउनुस्, सेयरमा सफलता निश्चित छ।’उनले भने–‘तर यसमा एउटा कुनै चीजको कमी भने हुनुभएन ।’

सेयरको लगानी सुरक्षित  र आकर्षक प्रतिफल भएको र अहिले बढ्दो ट्रेण्डमा बजार प्रवेश उपयुक्त अवसर भएको पाण्डे बताउँछन् ।