काठमाण्डौ । भारतीय सेयर बजार नियामक सेबीले बलिउड अभिनेता अर्शद वारसीलाई सेयरको हेरफेरी गरेको आरोपमा कारबाही गरेको छ। 

सेबीले वारसी र उनकी पत्नीलाई सेयर बजारमा व्यापार गर्न प्रतिबन्ध लगाएको हो। सामाजिक सञ्जालमार्फत कम्पनीको सेयर खरिद गर्न सुझाव दिने भ्रामक भिडियोलाई लिएर यो कदम चालिएको सेबीले जनाएको छ। 

सेबीलाई साधना ब्रोडकास्ट स्टकको मूल्यमा धाँधली भइरहेको गुनासो आएको थियो। यो काम गरिरहेका इकाइले पनि सेयर फिर्ता गरिरहेका छन्। यस विषयमा अनुसन्धान गर्दै बजार नियामकले बिहीबार अभिनेता अर्शद वारसी, उनकी पत्नी मारिया गोरेटी र साधना ब्रोडकास्टका प्रवर्द्धकसहित ४४ संस्थालाई सेयर बजारमा कारोबार गर्न प्रतिबन्ध लगाएको थियो। जसमा प्रवर्द्धकहरुमा श्रेया गुप्ता, गौरव गुप्ता, सौरभ गुप्ता, पूजा अग्रवाल र वरुण एम पनि छन्।

पीटीआई रिपोर्टका अनुसार सेबीलाई प्राप्त भएका गुनासामध्ये भ्रामक सामग्रीसहितका भिडियोहरु लगानीकर्तालाई लोभ्याउने उद्देश्यले अपलोड गरिएको आरोप पनि एउटा थियो। यी उजुरीमा सेबीले गत वर्ष अप्रिल–सेप्टेम्बरमा यस विषयमा अनुसन्धान थालेको थियो। भिडियो अपलोड भएपछि साधना ब्रोडकास्टको सेयरमूल्य आकाशिएको र प्रवर्द्धकले मनग्य आम्दानी गरेको अनुसन्धानले देखाएको छ।

यसबाहेक सेबीले भिडियोमार्फत कमाएको करिब ५४ करोड रुपैयाँ अवैध नाफा जफत गर्ने आदेश पनि जारी गरेको छ। रिपोर्टका अनुसार यस मामिलामा अर्शद वारसीले २९.४३ लाख रुपैयाँ नाफा कमाए भने उनकी पत्नीले ३७.५६ लाख रुपैयाँ नाफा कमाए। यसबाहेक इकबाल हुसेन वारसीले ९.३४ लाख रुपैयाँको फाइदा उठाएका थिए। 

सेबीले आफ्नो अन्तरिम आदेशमा भनेको छ कि यी युट्युब भिडियोहरुले गलत र भ्रामक समाचार फैलाउँछन्। जसले लगानीकर्तालाई असाधारण मुनाफाको प्रलोभन दिएर साधनाको स्टक किन्न प्रेरित गरे।

यस मामिलामा जारी भएको युट्युब भिडियोमा लगानीकर्तालाई लोभ्याउन अडानी समूहले साधना ब्रोडकास्ट लिमिटेडलाई किनेको र त्यसलाई अधिग्रहण गर्न लागेको बताइएको छ। भिडियोमा सम्झौतापछि कम्पनीको मार्जिन बढेको दाबी गरिएको छ। पीटीआईका अनुसार यो युट्युब भिडियो सार्वजनिक भएपछि साधना ब्रोडकास्टको मूल्य र व्यापारिक मात्रामा तीव्र वृद्धि भएको थियो। यसैबीच सेयरधनी र प्रवर्द्धकहरुले आफ्नो सेयरको ठूलो अंश बढेको मूल्यमा बेचेर नाफा कमाए।

यद्यपि अर्शद वारसीले ट्विट गर्दै सञ्चारमाध्यममा आएका समाचारलाई विश्वास नगर्ने बताए। आफू र आफ्नी पत्नीलाई सेयर बजारका बारेमा कुनै जानकारी नरहेको उनले दाबी गरेका छन्। –एजेन्सी