काठमाण्डौ । अर्थमन्त्री विष्णु पौडेलले उत्साहजनक बन्दै गएको पूँजीबजारमा नकारात्मक प्रभाव पर्ने कुनै पनि काम नगर्न र त्यस्ता गतिविधि समेत हुन नदिन धितोपत्र बोर्डलाई निर्देशन दिएका छन् । 

बोर्डको २९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले यस्तो निर्देशन दिएका हुन् । 

उनले पूँजीबजारलाई विश्वसनीय बनाउनका लागि यहाँ कुनै पनि गडबड हुन नहुने तर्क गर्दै भने-'बजारमा कुनै पनि प्रकारको अनियमितता वा गडबडी नहोस् भनेर बोर्ड चनाखो बन्नुपर्छ । पूँजीबजारलाई नकारात्मक प्रभाव पार्ने कुनै पनि क्रियाकलाप प्रवेश गर्न नपाउन भन्नेतर्फ तपाईहरुको विशेष ध्यान जाओस् ।' 

उनले पूँजीबजारप्रतिको आकर्षणलाई आफूहरुले लगानीकर्ताले वर्तमान सरकारप्रति गरेको विश्वासको रुपमा बुझेको उल्लेख गर्दै यसलाई कमजोर नपार्न उनले निर्देशन दिए । 'अहिले बजारमा एक प्रकारको आकर्षण देखिएको छ । लगानीकर्ताको संख्या र लगानीको आकार पनि बढिरहेको छ ।' उनले भने-'हामीले यसलाई सरकारप्रति लगानीकर्ताको विश्वासको अर्थमा पनि बुझेका छौं ।' 

उनले आगामी दिनमा लगानीकर्ताको हित संरक्षणमा प्रभावकारी भूमिका निर्वाह गर्न समेत बोर्डलाई आग्रह गरे । 

उनले बजेटमा केही महत्वपूर्ण घोषणा भएका उल्लेख गर्दै त्यसको कार्यान्वयनका लागि द्रूत गतिमा काम गर्न बोर्डलाई निर्देशन दिए । 

उनले बोर्डको कार्यशैलीमा कमजोरीहरु रहेका उल्लेख गर्दै सवल र सक्षम नियामकको रुपमा उपस्थिति जनाउनुपर्नेमा जोड दिए । 

पूँजीबजार आकार र यसप्रतिको विश्वास बढ्दै जाँदा मुलुकले अपेक्षा गरेको आर्थिक वृद्धिदरको लक्ष्यमा समेत टेवा पुग्ने उल्लेख गर्दै उनले यसमा समेत सन्तुलित भूमिका खेल्न धितोपत्र बोर्डलाई आग्रह गरे । उनले भने-'बोर्डका कमजोरीहरु पनि छन्, यसलाई सच्याउँदै अगाडि बढ्नुहोला ।'