काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको ११ महिनासम्मको देशको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । 

कोभिड प्रभावले थिलथिलो बनेको अर्थतन्त्रका महत्वपूर्ण सूचकहरुको अवस्थाको विषयमा जानकारी दिन केन्द्रीय बैंकले ११ महिनासम्मको अवस्था सार्वजनिक गरेको हो । 

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये मार्जिक प्रकृतिको कर्जा झण्डै ८८(८७.६)प्रतिशतले बढेको छ । जब कि यही अवधिमा आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले मात्र बढेको छ । यो अवधिमा सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ भने लकडाउन र कोरोना भाइरसको संक्रमणका कारण मानिसहरुको आम्दानीको स्रोत संकुचन हुँदा ठूला गाडी किन्नसक्ने क्रयशक्ति समेत घटेको देखिन्छ । जसका कारण समीक्षा अवधिमा हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।

जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ४.१९ प्रतिशत रहेको देखिएको छ । 

समीक्षा अवधिमा आयात २५.७ प्रतिशतले र निर्यात ३७.८ प्रतिशतले तथा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशत र अमेरिकी डलरमा १०.४ प्रतिशतले बढेको छ ।

शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा छ भने कुल विदेशी विनिमय सञ्चिति ११ अर्ब ७१ करोड अमेरिकी डलर रहेको छ । 

संघीय सरकारको खर्च रु.९१६ अर्ब ८५ करोड र राजस्व परिचालन रु.८१२ अर्ब ३५ करोड छ । 

विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १५.३ प्रतिशत र निजीक्षेत्रमाथिको दावी २५.३ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा भने निक्षेपको वृद्धिदर २०.८ प्रतिशत र निजी क्षेत्रमाथिको दाबीको वृद्धिदर २४.६ प्रतिशत छ ।

मुख्य सूचकहरुको अवस्था हेरौं:
मुद्रास्फीति
२०७८ जेठमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.६३ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत, तराईमा ४.४७ प्रतिशत, पहाडमा ४.३२ प्रतिशत र हिमालमा १.७२ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ जेठमा यी क्षेत्रहरुमा क्रमशः ४.४३ प्रतिशत, ४.८६ प्रतिशत, ४.१३ प्रतिशत र ४.३४ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

वैदेशिक व्यापार
आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई रु.१२१ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः ४३.३ प्रतिशत र २५.९ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा १७.४ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा सोयाविन तेल, अलैंची, धागो (पोलिष्टर तथा अन्य), जुटका सामान, ऊनी गलैंचा लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकर लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु आयात २५.७ प्रतिशतले वृद्धि भई रु.१३८३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १५.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ३२.२ प्रतिशत, २४.० प्रतिशत र ९.९ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, चामल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, कोल्डरोल्ड शिट इन्क्वाइल, चाँदी लगायतका वस्तुको आयात घटेको छ ।

विप्रेषण
समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३.२ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.४ प्रतिशतले वृद्धि भई ७ अर्ब ३९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.२ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ५९.९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या १२.४ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ४७.१ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३१.१ प्रतिशतले घटेको थियो ।

चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता रु.२९३ अर्ब ९७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.६२ अर्ब ५९ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५७ करोड ८५ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ५१ करोडले घाटामा रहेको छ ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.१५ अर्ब १५ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१७९ अर्ब ३७ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १४ करोड ८ लाखले घाटामा रहेको छ ।
 
कुल विदेशी विनिमय सञ्चिति
२०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.६ प्रतिशतले कमी आई २०७८ जेठ मसान्तमा रु.१३६५ अर्ब ६५ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड रहेकोमा २०७८ जेठ मसान्तमा ०.६ प्रतिशतले वृद्धि भई ११ अर्ब ७१ करोड पुगेको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.१ महिनाको वस्तु आयात र १०.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०७८ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३२.० प्रतिशत, ७६.६ प्रतिशत र २७.८ प्रतिशत रहेका छन् । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

सरकारी वित्त स्थिति
नेपाल सरकार, अर्थमन्त्रालय (महालेखा नियन्त्रक कार्यालय) का अनुसार २०७८ जेठ मसान्तसम्ममा चालु खर्च रु.७०० अर्ब ६१ करोड, पुँजीगत खर्च रु.१४३ अर्ब ९ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु.७३ अर्ब १५ करोड गरी कुल रु.९१६ अर्ब ८५ करोड खर्च भएको छ।

समीक्षा अवधिमा सरकारको कर राजस्व रु.७५८ अर्ब ३८ करोड र गैर कर राजस्व रु.५३ अर्ब ९८ करोड गरी कुल राजस्व रु.८१२ अर्ब ३५ करोड (प्रदेश सरकार तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) परिचालन भएको छ  ।

समीक्षा अवधिमा संघीय सरकारले रु.४१ अर्ब ५० करोडको ट्रेजरी विल, रु.१०५ अर्बको विकास ऋणपत्र, रु.२ अर्बको नागरिक वचतपत्र र रु.१ करोड ५३ लाखको वैदेशिक रोजगार वचतपत्र गरी कुल रु.१४८ अर्ब ५२ करोड आन्तरिक ऋण परिचालन गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को जेठ महिनासम्ममा प्रदेश सरकारको स्रोत प्राप्ति रु.१३७ अर्ब २१ करोड रहेको छ । यसमध्ये संघीय सरकारले प्रदेश सरकारलाई अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्व समेत गरी रु.१०४ अर्ब ६९ करोड हस्तान्तरण गरेको छ । यस अवधिमा प्रदेश सरकारहरुले राजस्व र अन्य स्रोतबाट रु.३२ अर्ब ५३ करोड परिचालन गरेका छन्। यसैगरी, यस अवधिमा प्रदेश सरकारहरुको खर्च रु.१०९ अर्ब ९५ करोड रहेको छ ।

मौद्रिक स्थिति
आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा विस्तृत मुद्राप्रदाय १६.१ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा विस्तृत मुद्राप्रदाय २१.४ प्रतिशतले बढेको छ ।

आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल आन्तरिक कर्जा २१.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १२.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा यस्तो कर्जा २२.२ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १५.३ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २०.८ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २४.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.७ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७८ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २६.३ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २५.२ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २५.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ९.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा २४.८ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २८.२ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा २४.१ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ८७.६ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ५३.२ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ५.५ प्रतिशतले घटेको छ ।