– अनन्त्य सुन्दर

काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरु नेपाल राष्ट्र बैंक घेराउ गर्न जान अहिले काठमाण्डौको पुतलीसडकमा भेला भएका छन्। 

सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजी बजार सुधार संघर्ष समितिले अगुवाइमा आज राष्ट्र बैंक घेराउ गर्ने कार्यक्रम तय गरिएको हो। त्यसका लागि लगानीकर्ताहरु शंकरदेव क्यापसअगाडि भेला भएका छन्। अब लगानीकर्ताहरु त्यहाँ घेराउ गर्न नेपाल राष्ट्र बैंक पुग्नेछन्। 

भेलामा सहभागी लगानीकर्ताहरुले गभर्नरको बर्खास्ती, ४ करोड र १२ करोडको कर्जा सीमा तत्काल खारेजीजस्ता माग गरेका छन्। 

राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्। यसअधि सेयर बजारमा यस्तो सीमा तोकिएको थिएन। 

मौद्रिक नीतिमा यो व्यवस्था गरिएपछि बजार लगातार घटिरहेको छ। 

संघर्ष समितिले हिजो १६ बुँदे विज्ञप्ति पनि जारी गरेको थियो। जसको पहिलो बुँदामै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ। 

मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहारी गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा लगाएर समग्र पुँजी बजारको विकासको बाधक बनेकोले यो व्यवस्था तुरुन्त खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ।

यसैगरी विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि अघि सारिएको छ। 

राष्ट्र बैंक घेराउ गर्दा पनि आफ्ना माग पूरा नभए अनशनमा उत्रिने लगानीकर्ताहरुले चेतावनी दिएका छन्।