काठमाण्डौ । नेपाल राष्ट्र बैंकले सेयर धितो राखी लिएको ऋण भुक्तान नगरेका लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले साधारणसभामा भाग लिन र मतदान गर्न नपाउने भएका छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार लघुवित्त वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन, २०७७ मा यस्तो व्यवस्था थप गरेको हो। राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाका सेयरधनीले आफूले धारण गरेको सेयर धितो वा बन्धक राखी अन्य इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण भुक्तान नगरेको कारणबाट निजउपर कानुनी कारबाही चलाई सेयरबापत मतदान गर्नबाट रोक लगाउन सम्बन्धित बंैक तथा वित्तीय संस्थाबाट लेखिई आएमा सम्बन्धित लघुवित्त वित्तीय संस्थाले त्यस्तो सेयरधनीलाई निजले लिएको सेयरबापतको ऋण चुक्ता नभएको अवधिभर साधारणसभामा मतदान गर्नबाट रोक लगाउनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको हो। 

आफू र राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाको बीचमा भएको वा हुने कुनै सर्त बन्देजको सम्बन्धमा हुने छलफलमा कुनै व्यक्तिले सेयरधनीको हैसियतबाट आफैँ वा आफ्नो प्रतिनिधिद्वारा साधारणसभामा भाग लिन र मतदान गर्न पाउने छैन। 

यसैग्री आफूले गरेको वा गर्न छुटाएको वा गलत ढंगले गरेको कामको जबाफदेही वा आफ्नो स्वार्थनिहीत रहेको कुनै पनि विषयका सम्बन्धमा साधारण सभामा हुने छलफलमा सञ्चालक वा निजको हिस्सेदार वा प्रतिनिधिले मतदान गर्न पाउने छैन। 

कुनै सेयरधनीले सम्बन्धित संस्थाको सञ्चालकलाई प्रतिनिधि नियुक्त गरेको अवस्थामा त्यस्तो सञ्चालकले आफ्नो निजी स्वार्थ वा सरोकार भएको विषयमा वा आफूलाई नियुक्त गर्ने वषयमा कसैको प्रतिनिधिको हैसियतले साधारणसभामा मतदान गर्न पाउने छैन। 

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा १०० को उपदफा २ को खण्ड (ख), (ग), (घ) तथा (ङ) बमोजिमको कारबाहीमा परेका सञ्चालक÷सेयरधनी वा निजको प्रतिनिधिले कारबाही भएको मितिले १ वर्ष साधारणसभामा मतदान गर्न नपाउने व्यवस्था गरिएको छ।