काठमाण्डौ । सेयर धितो कर्जाको सीमाविरुद्ध आन्दोलनरत लगानीकर्ताले आजबाट रिले अनसन सुरु गर्ने भएका छन्।

रामकृष्ण ढकालको संयोजकत्वमा गठित पुँजीबजार सुधार संघर्ष समितिको नेतृत्वमा लगानीकर्ताहरुले आजबाट माइतीघर मण्डलामा रिले अनसन सुरु गर्न लागेका हुन्। ‘हामीले नेपाल राष्ट्र बैंकमा ज्ञापनपत्र बुझाएको २ दिन बित्दा पनि हाम्रा माग सम्बोधन भएन’, संयोजक ढकालले भने, ‘त्यसैले आजबाट माइतीघर मण्डलामा रिले अनसन गर्न लागेका हौँ।’

ढकालका अनुसार आज दिउँसो ३ देखि ५ बजेसम्म हुने अनसनमा बसिनेछ। अनसनमा दीपेन्द्र अग्रवाल, रोहन कार्की, उमेशराज सिलवाल, आदित्य सिवाकोटीलगायत थुप्रै लगानीकर्ताको उपस्थिति हुने उनले जानकारी दिए। 

ढकालले बजारमा सुधार चाहने लगानीकर्तालाई उक्त कार्यक्रममा उपस्थित हुन् आग्रहसमेत गरेका छन्।

गत सोमबार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरुले राष्ट्र बैंक घेराउ गर्दै प्रवक्ता देवकुमार ढकाललाई १८ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्र बुझ्दै प्रवक्ता ढकालले गभर्नर बजारप्रति सकारात्मक भएकाले बजार सुधारका लागि उचित कदम चलाइने आश्वासनसमेत दिएका थिए।