काठमाण्डौ । प्रभू बैंक लिमीटेड र सिभिल बैंक लिमीटेडका संचालकहरुबीच भएको मर्जर कुराकानी पूर्णविराम लाग्ने अवस्थामा पुगेको छ ।

सेयर स्वाप रेसियो र कर्मचारी समायोजनजस्तो मुख्य मुद्धामै कुरा नमिलेपछि यी दुई बैंकबीचको संभावित मर्जरमा पूर्णविराम लाग्ने अवस्था सिर्जना भएको स्रोतहरुले जनाएका छन् । 

केही दिनअघिदेखि यी दुई बैंकका संचालकहरु मर्ज गर्ने विषयमा आन्तरिक कुराकानीमा थिए । प्रभू बैंकले कुनै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने चाहनाअनुरुप सिभिल बैंकसँग समेत कुरा अगाडि बढाएको थियो । 

राम्रो सेयर स्वाप अनुपात र कर्मचारी समायोजन समेत सम्मानजनक हुने अवस्था आए सिभिलका अध्यक्ष इच्छाराज तामाङ प्रभू बैंकसँग आफ्नो बैंकलाई बिलय गराउन तयार थिए । तर, प्रभूले सेयर स्वाप रेसियो राम्रो नदिने छाँटकाट देखाएपछि सिभिल प्रभूसँगको छलफलबाट पछाडि हटेको तामाङ निकट स्रोतले जानकारी दिएको छ । 

‘हामीले प्रभूसँग १००: ८४ को सेयर स्वाप रेसियो मागेका थियौं । प्रभूले चाहेको थियो भने ८० सम्म कुरा मिल्नसक्थ्यो ।’ स्रोतले भन्यो–‘तर प्रभूले ६० भन्दा माथि जान मानेन् । यो त अलिक डोमिनेन्ट नै गरेजस्तो भयो भनेर हामी ब्याक भयौं ।’

कर्मचारी समायोजनका कतिपय जटिल मुद्धामा समेत प्रभू बैंकसँग कुरा मिल्ने संकेत नदेखिएपछि आफूहरु अन्य बैंकसँगको छलफलमा बढी केन्द्रीत भएको स्रोत दाबी गर्छ । 

प्रभूसँगको छलफलले सहमति ननिकाल्ने देखिएपछि सिभिल बैंकले अन्य वाणिज्य बैंकसँग छलफल चलाएको बुझिएको छ । यो क्रममा सिभिल बैंकले मेगा बैंक, बैंक अफ काठमाण्डू र हिमालयन बैंकसँग घनिभूत रुपमा छलफल गरिरहेको छ । 

‘यी तीनमध्ये कुनै एउटा बैंकसँग हाम्रो सहमति हुनसक्ने संभावना प्रवल छ ।’ सिभिल बैंकका एक संचालकले भने–‘मौद्रिक नीतिपछि हाम्रोतर्फबाट तपाईहरुलाई गुड न्यूज आउनसक्छ ।’ 

सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङले बिहीबार आइएसओ सर्टिफिकेट पाएको सन्दर्भमा बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा आफूहरु मर्जरका लागि विभिन्न बैंकसँग तीव्र छलफलमा रहेको बताएका थिए । उनले बजारमा हल्ला चलेको विषयतर्फ संकेत गर्दै भनेका थिए–‘बजारमा आएका हल्लामा केही सत्यता पनि हुनसक्छ । तर, कुनै बैंकसँग मर्जरको विषयमा सहमति नै बनिसकेको अवस्था होइन ।’

उनले आफूहरुले मर्जर गर्दा गुड्विल राम्रो भएको फस्ट जेनेरेसनको बैंक पहिलो रोजाई पर्ने समेत बताएका थिए । उनको विश्लेषणका आधारमा कतिपयले हिमालयन बैंकसँग सिभिलको कुरा मिल्न लागेको समेत अड्कलबाजी गरिरहेका छन् । स्रोतको भनाईलाई आधार मान्ने हो भने यो अड्कलबाजी सत्यमा परिणत हुनसक्ने संभावना पनि उत्तिकै छ । 

यस्तै, कतिपयले बैंक अफ काठमाण्डूसँग समेत मर्जर सम्झौता हुनसक्ने अड्कल काटिरहेका छन् । 

जेहोस् सिभिल बैंक निकटका स्रोत र अध्यक्ष तामाङको कुरा सुन्दा यो बैंक आफूभन्दा गुड्विल राम्रो भएको बलियो कुनै बैंकसँग मर्जरको कसरतमा छ भन्ने बुझिन्छ । यो बैंकले सिनर्जी आउने गरी कुनै बैंकसँग मर्जर सम्झौता गर्यो भने त्यो बैंकका सेयरधनी तथा लगानीकर्ताका लागि मात्र होइन, ग्राहक र समग्र बैंकिङ उद्योगकै लागि समेत हितको विषय बन्नेछ ।