काठमाण्डौ । सेयर लगानीकर्ताका एक नेताले कोरोनालाई जितेका छन् ।

लगानीकर्ता दवाब समूहका वरिष्ठ उपाध्यक्ष दीपेन्द्र अग्रवालले हिजो आइतबार कोरोनाको युद्ध जितेका हुन् । 

एक महिनाअघि राति १२ बजे अचानक अग्रवालको मुख फुट्यो र बेहोस भए । तुरुन्त अस्पताल पुगेर चेकजाँच गर्दा सबै परीक्षण सामान्य आयो ।

डाक्टरले एमआरआई र हल्टर(मुटुको धड्कन नाप्ने) सिलसिलामा अग्रवाल बयोधा हस्पिटल पुगे । जुन दिन उनी पुगे सोही दिनदेखि बयोधा हस्पिटलले समेत कोरोना परीक्षण गर्न सुरुवात गरेको थियो । अग्रवाल आफैंले पीसीआर परीक्षण गराए । परीक्षण गराएकै दिन रिपोर्ट पोजिटिभ आयो । त्यसलगत्तै आफ्ना परिवार सबैको उनले परीक्षण गराए । उनकी श्रीमतीलाई पनि कोरोना पोजिटिभ भइसकेको रहेछ, तर छोराको पीसीआर रिपोर्ट भने नेगेटिभ आयो । 

अग्रवालले आफूलाई कोरोना संक्रमण बैंकिङ सेवा लिन प्राइम बैंकको केन्द्रीय कार्यालय पुग्दा भएको हुनसक्ने आशंका गरेका छन् । सोही बैंकमा कार्यरत २२ जना कर्मचारीमा पनि कोरोना संक्रमण भइसकेको छ । 

सरकार तथा विश्व स्वास्थ्य संगठनले तोकेका स्वास्थ्य सुरक्षाका सबै मापदण्ड सावधानीपूर्वक अपनाउँदासमेत कोराना संक्रमित हुन पुगेकोमा उनी अचम्ममा छन् । यद्यपि उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुसूचित गराएको र आफ्ना नातेदार, साथीभाइ र कम्पनीका सबै कर्मचारीलाई पीसीआर परीक्षण गराएको उनको भनाइ छ ।

अग्रवाल एउटा विषयमा भने अचम्ममा परेका छन् । आफू र उनका छोराले एउटै बोटलको पानी खाँदासमेत छोराको कोरोना नेगेटिभ रिजल्ट आयो । यसपछि छोरालाई रातोपुलस्थित ससुराली पठाइदिए । आफ्नो छोरालाई आफूसँग अलग गर्दाको पीडा त्यो समय निकै कठिन रहेको उनी बताउँछन् । 

श्रीमतीलाई भने लक्षणबिनाकै कोरोना पोजिटिभ भएको उनी सुनाउँछन् ।

अग्रवाल विगत ६-७ वर्षदेखि उच्च रक्तचापको औषधि लिइरहेका रहेछन्, तर जब उनी कोरोना संक्रमित भए तब रक्तचाप घटेर ९० /६० मा आइपुगेछ । उच्च रक्तचापको औषधि उनले छाडिदिए ।

कोरोना संक्रमित भएपछि अग्रवाल आफैं ह्याम्स हस्पिटल जाने निर्णय गरे । उनलाई ज्वरो आउने, खोकी लाग्ने र श्वास लिनै समस्या हुन थाल्यो । 'एकातिर मनोवैज्ञानिक त्रास र अर्कातिर पीडा, निकै कठिन थियो ।'- उनी भन्छन् । 

ज्वरो आउँदा सिटामोल र खोकीको दबाइ उनले सेवन गरे । मिडियाले कोरोनाबारे देखाएको त्रास र स्वयम् आफूलाई पर्दा पर्ने मानसिक पीडाले उनी पनि विक्षिप्त बने । 'यतिसम्म पनि मनमा कुरा आउने कि आत्महत्या नै गर्न मन लाग्दो रहेछ' ,उनले भावुक हुँदै सुुनाए ।

केही अप्ठ्यारो परे सहजै उपचार हुने आशमा उनी आफैं हस्पिटल पुगेको बताउँछन् तर, ५ दिनपछि नै हस्पिटलबाट डिस्चार्ज भई उनी घर फर्कने निर्णयमा पुगे ।

कोरानालाई जित्नु छ भने दृढ संकल्प र मानसिक रुपमा परिपक्व हुनुपर्ने अग्रवालको भोगाइ छ । 'कोरोना लागेपछि म मरिसकेँ भन्ने अनुभुति हुँदो रहेछ ।' उनी भावुक हुँदै सुुनाउँछन् ।

घरमा आइपुगेपछि उनले दैनिकी र जीवनयापनमा निकै कडा अनुशासन पालना गरे । एउटा रुमभित्र उनी पूर्ण रुपमा आइसोलेटेड भए । रोगसँग लड्न तागत चाहिन्छ, त्यही भएर मैले भोक नलागे पनि यथेष्ट खाना खाए ।

होम आइसोलेसनमा अग्रवालले दुई पटक काँढा,हल्दी दूध दुई पटक, काजु किसमिस, बाफ (स्टिम)लिने,२ पटक छेना(दूध फटाएको) र ३ पटक (बिहान,दिउँसो र साँझ) खाना खाँदै कोरोनासँग लडेको अनुभव सुनाउँछन् । 'मुख्य कुरा नै खाना हो । खाना खाइएन भने रोगले जित्छ- ,उनले बिजशालासँग भने ।

अग्रवाललाई होम आइसोलेसनमा भर्चुअल माध्यमद्वारा स्वास्थ्यसम्बन्धी सल्लाह सुझाव भने उनकै दिदी डा. ज्योति अग्रवाल(बीपी प्रतिष्ठान धरानमा कार्यरत)ले दिएर आफूले पुर्नजीवन पाएकोमा निकै खुशी छन् । कोराना संक्रमित भएको बेला कहिलेकाहीँ बाँच्ने आशा मर्दासमेत दिदी भएकै कारणले निकै माया र प्रेरणाले नै कोरोनालाई जितेको अग्रवाल बताउँछन् ।

होम आइसोलेसनमा बस्दा अग्रवालले नियमित रुपमा भिटामिन सी र जिंक समेत औषधि दिनको २ पटक सेवन गरेको बताए । ज्वरो आउँदा सिटामोल सेवन गरेको र ६-८-१२ घण्टाको अवधि बढाउँदै सिटामोल सेवन गर्ने र खोकी लागे दबाइ खाँदै उनले कोरोनासँग लडे । पछि ज्वरो र खोकी निको भयो । 

उनले श्वास प्रणालीसम्बन्धी योगासमेत गरे । रगत बाक्लो हुन नदिन उनकै दिदीको सल्लाहबमोजिम उनले ह्याब्रिन इन्जेक्सन समेत लगाएछन् ।

कोरोनाले संक्रमण फैलाउँदै जाँदा कलेजो, मुटु, मृगौलामा रगत बाक्लो भएर असर नगरोस् भनी सो इन्जेक्सन लगाइएको उनको दाबी छ । 

केही दिनपछि ह्याब्रिङ इन्जेक्सन छाडेर रुममै कसरत गरेको उनी सुनाउँछन् । बिस्तारै राम्रो हुँदै गयो । त्यसपछि अग्रवालले ४ पल्टसम्म पीसीआर परीक्षण गराउँदा पोजिटिभ आयो, तर हिजो आइतबार मात्रै पाँचौ पटक पीसीआर गर्दा भने कोरोना नेगेटिभ आयो । हाल उनी कोरोना संक्रमणबाट मुक्त छन् ।

दृढ मनोविज्ञान, अनुशासित दिनचर्या र स्वस्थ खानपिनले गर्दा कोरोना जित्न सफल भएको अग्रवालको भोगाइ छ । स्वस्थ्य जीवनयापन र खानपिन भए कोरोनाले केही गर्न नसक्ने उनको भनाइ छ । 

कोरोनालाई जित्न लकडाउन मात्रै उपाय नभएको उनको बुझाइ छ । 'लकडाउनले त रोग हैन भोक जगाउँछ अनि कोरोनाले भन्दा कयौं गुणा बढी भोकमरीले मान्छे मर्छन् ।'-उनले मधुर स्वरमा भने । 

कोरोनासँग लड्न सरकारसँग कुनै ठोस योजना र रणनीति नभएको उनको ठहर छ । 'कोराना समस्या हो, तर समाधान लकडाउन होइन ।' अग्रवाल भन्छन्-'सरकारले समेत अस्ती कर मात्रै उठाउने उद्देश्यले लकडाउन खोल्यो अब फेरि कर उठाउन खोल्छ । सरकारले नागरिकलाई नागरिक होइन, वस्तु ठानेको छ । प्रयोग गर्ने फाल्दिने।' 

कोरोनाको भ्याक्सिन आउन अझै ६ महिना जति लाग्ने अवस्था देखिएको र त्यो बेलासम्म त समस्या झन् बढेर जानसक्ने उनको आँकलन छ ।