काठमाण्डौ । नेपालको सेयर बजारले बिहीबार(आज) कीर्तिमानै कीर्तिमान कायम गरेको छ । नेप्से परिसूचकले ४ वर्षअघिको अलटाइम हाई १८८१.४५ को विन्दूलाई ब्रेक गरी नयाँ उचाई चुमेको छ भने कारोबार रकममा पनि आज कीर्तिमान कायम भएको छ । 

यस्तै यो दिन दैनिक कारोबार संख्यामा समेत नयाँ कीर्तिमान कायम भएको छ । 

बुलिस बजारमा यो दिन बैंकिंग समूहको उपसूचकमा ३७.७६ अंकको उछाल आयो । यो समूहकै देनका कारण कारोबार रकम ७ अर्ब ६१ करोड माथि तथा नेप्से परिसूचक १८.४३ अंकले बढेर हालसम्मकै सर्वाधिक उचाई १८९३.२४ को विन्दूमा पुगेको हो । 

आज बजार खुलेदेखि नै उछालको गतिमा दौडिएको थियो । नेप्से परिसूचक बढेर १९२७ अंकमा पुगे पनि पुनः केही घटी बजार बन्द हुँदा १८९३ मा सीमित बन्न पुगेको हो । 

यसअघि सन् २०१६ को जुलाई २७ मा नेप्से परिसूचक १८८१.४५ को विन्दूमा पुगेको थियो । चार वर्षअघिको त्यो अलटाइम हाई ब्रेक भएको यो दिन ७० हजार ३ वटा कारोबार भएका छन् । सन् २०२० को सेप्टेम्बर २० मा एकैदिन ६४ हजार ५१५ वटा कारोबार भएको थियो । त्यो कीर्तिमानलाई आजको कारोबार संख्याले तोडिदिएको हो । 

बजारमा आज किन्ने र बिक्री गर्नेबीचको रोमाञ्चक प्रतिस्पर्धा देखिएको थियो । तर, बजारमा खरीद चाप हाबी भएका कारण दोहोरो अंकले नेप्से बढेको हो । यो बढोत्तरीको यात्रा अझै अगाडि बढ्ने विश्लेषकहरुले दाबी गरेका छन् । 

प्राविधिक तथा आधारभूत विश्लेषकहरुले नेप्से परिसूचकले डिसेम्बर पहिलो सातासम्म १९५० अंक सहजै चुम्ने प्रक्षेपण गरिरहेका छन् । बजारका हंग्री इन्भेष्टरको खरीदतर्फको मरिहत्ते देख्दा पनि नेप्सेले चाँडै नयाँ उचाई चुम्ने अनुमान गर्न सकिन्छ । 

आज नेप्से उपसमूहमा रहेका १२ समूहमध्ये ५ वटा समूहमा हरियाली छाएको छ भने बाँकी ७ वटा समूहमा रातो पोतिएको छ।

यो दिन बैंकिङ समूह सर्वाधिक ३७.७६ अंकले उकालो लागेको छ। अन्य समूह १५.३६ अंकले बढेको आज जलविद्युत् समूहमा ६.८२ अंक, उत्पादन तथा प्रशोधनमा ०.०९ अंक र म्युचुअल फन्ड समूहमा ०.०७ अंकको बढोत्तरी भएको छ।

आज निर्जीवन बीमा समूह सर्वाधिक १६५.०१ अंकले ओरालो लागेको छ। जीवन बीमा समूह १३४.३२ अंकले घटेको यो दिन व्यापार समूहमा १३०.६६ अंक, होटेल्स् समूहमा ४३.६५ अंक, विकास बैंक समूहमा ८.३५ अंक, वित्त समूहमा ५.८७ अंक र लघुवित्त समूहमा १६.६५ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु
आज नेप्सेमा सूचीकृतमध्ये २०१ कम्पनीका १ करोड ७१ लाख ८८ हजार ९९ कित्ता सेयर ७ अर्ब ६१ करोड ३० लाख ३० हजार ९१ रुपैयाँ कारोबार भएको छ।

यो दिन नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ५८ करोड १३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३८ करोड ३४ लाख रुपैयाँको कारोबार भएको आज शिवम सिमेन्ट्सको २८ करोड ९१ लाख रुपैयाँ, नेपाल टेलिकमको २८ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको २५ करोड ५१ लाख रुपैयाँ, प्रभु बैंकको २२ करोड ७४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २२ करोड १२ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको २१ करोड ८७ लाख रुपैयाँ, कुमारी बैंकको १७ करोड ६३ लाख रुपैयाँ र शिखर इन्स्योरेन्सको १७ करोड १९ लाख रुपैयाँबराबरको कारोबार भएको छ।

धेरै कमाउने र धेरे गुमाउने
आज ४ वटा कम्पनीका सेयरमूल्यमा पोजेटिक सर्किट लागेको छ। यो दिन एनएमबी लघुवित्तको सेयरमूल्य १० प्रतिशतले बढ्यो भने पाँचथर पावर कम्पनी, हिमालयन ऊर्जा विकास र आँखुखोला जलविद्युतका सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा उछाल आएको छ। आज नबिल बैंकका सेयरधनीहरु मालामाल भएका छन्। यो बैंकको सेयरमूल्य पनि ९ प्रतिशतको हाराहारीमा बढेको छ।

यो दिन साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी) का सेयरधनीहरु धेरै गुमाएका छन्। यो कम्पनीको सेयरमूल्य ६ प्रतिशत बढीले घटेको छ। आज ङदी ग्रुप पावर र बोटलर्स नेपाल (तराई) को सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा र सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत बढीले घटेको छ।