– तिलक कोइराला

कोरोनाको कहर र बढ्दो राजनीतिक अस्थिरताका कारणले तत्कालै पुँजी बजारबाट लगानी बाहिरिने सम्भावना रहेन। दसैँताका नै सेयर बजारबाट लगानी बाहिरिन्छ कि भन्ने आशंका गरिएकोमा कोरोना कहर अरु समय लम्बिने सम्भावना देखिएपछि बरु सेयर बजारमै लगानी थपियो।

अहिले संसद् विघटनको घटनाक्रमसँगै राजनीतिक अस्थिरता र अशान्ति बढेकाले सेयर बजारबाट लगानी झिकेर अन्य क्षेत्रमा उद्योग ब्यवसाय गर्ने जोखिम लिन चाहनेहरु पछि हटेका छन्। लगानीको क्षेत्र खुम्चिएपछि हजारपतिदेखि अर्बपतिसम्मले सेयर बजारमै लगानी खन्याएका छन्। यसले पनि सेयर बजारमै लगानी घुमिरहने र अरु लगानी थपिने संभावना बढाएको छ। 

सेयर बजारलाई ठूलो आड–भरोसा दिएको अर्को पक्ष बैंकको ब्याजदर पनि अहिले मुख्य हो। कतिपय बैंक तथा बित्तीय संस्थाले ७.५ प्रतिशतमै सेयर धितो कर्जा दिइरहेका छन्। राष्ट्र बैंकको नयाँ नियमले बैंकहरुले प्रबाह गरिरहेको बीटी लोन (सेयर किनेको बिलका आधारमा पहिले नै पैसा दिने कर्जा) मा ब्रेक लाग्दा केही दिन सेयर बजार प्रवाहित भए पनि सेयर खातामा आएपछि चौथो दिनमै रोक्का गरेर सस्तो ब्याजदरमा कर्जा प्रबाह गर्ने कार्य रोकिएको छैन। 

केही असहजताका बीच पनि बैंकहरुले सेयर कर्जा दिने कार्य तीव्र पारेपछि रौनक फेरि बढेको छ। सेयर कर्जा लिइदिन बैंकका अधिकारीहरु लगानीकर्ता र दलालको कार्यालय चाहारेर अनुनय–विनय गरिरहेकै छन्। बैंकहरुको मुद्दति निक्षेप र बचत खातामा न्यून ब्याज दिइरहेकाले त्यता जाने पैसासमेत सेयर बजारमै खनिएको छ। 

अहिले सेयर बजारलाई माथिका दुई कुराले मुख्य रुपमा आड दिएका छन्। यसमा तेस्रो कुरा पनि जोडिएको छ, त्यो हो कम्पनीहरुले दिइरहेको आकर्षक लाभांश। सेयर बजारका धेरै कम्पनीहरुले लाभांश दिइरहेका र त्यसका लागि योग्य हुन सेयर किन्ने समय अझै बाँकी रहेको अवस्थाले लगानीकर्तालाई मूल्य बढाबढ गरेर सेयर किन्न प्रेरित गरिरहेको छ। सामान्य खालका कम्पनीले पनि न्यूनतम ५ प्रतिशत लाभांश दिइरहेकाले लगानीकर्तालाई आशावादी नै बनाएको पाइन्छ। 

सेयर बजार अहिले केही दलाल र ब्यक्तिको मुठ्ठीबाट लाखौँ लगानीकर्ताको हातमा पुगेको छ। लाखौँको संख्यामा रहेका अनलाइन लगानीकर्ताले बजारलाई चलायमान बनाएका छन्, यद्यपि धेरै लगानीकर्ता सतही सूचना र हल्लाबाट प्रभावित भइरहन्छन्। नेप्से अनलाइनको कारोबार ब्यवस्थापन प्रणाली र वेबसाइटमा गम्भीर खालका समस्या छन् र त्यसले लगानीकर्तालाई सहज कारोबारमा बाधा पारिरहेको छ। 

अन्य कुराहरुको साथसाथै सेयर बजार मुख्य दुई कुरामा आधारित रहेर चल्छ। एउटा हो– माग र आपूर्ति अनि अर्को– लगानीकर्ताको मनोविज्ञान वा मनोबल। अहिले लगानीकर्ताको मनोबल उच्च छ र त्यसले माग पक्षमा चाप पार्दा सेयरको मूल्य बढेको हो। यही कुरा बुझेका खेलाडीहरुले बजारमा तुलनात्मक रुपमा आपूर्ति कम रहेका कम्पनीको सेयरमा खरिदचाप सिर्जना गरेकाले केही कम्पनीको सेयरमूल्य अचाक्ली बढेर उच्च विन्दुमा पुगेका छन् र त्यस्ता कम्पनीको सेयर मूल्य थिग्रिने क्रम पनि चलिरहेको छ। 

कतिपय कमजोर कम्पनीको सेयरमूल्य बढेर उच्च विन्दुमा पुगिसके पनि अरु धेरै कम्पनीको सेयरमूल्य बढ्नै सकेको छैन वा न्यून विन्दुमा छ। मूल्य बढेका कम्पनीलाई मात्रै हेरेर वा नेप्से सूचकलाई मात्रै हेरेर सेयर बजारको विश्लेषण गर्नु उचित छैन। १० प्रतिशत कम्पनीको सेयरमूल्य अधिक रुपमा बढे पनि बजारमा केही खराब वा शंकास्पद कम्पनी छाडेर ९० प्रतिशत कम्पनीको मूल्यवृद्धिको सम्भावना अझै बाँकी छ। अधिक मूल्य बढेका कम्पनीहरुको मूल्य थिग्रिने र नयाँ–नयाँ कम्पनीमा मूल्य बढाबढको खेल हुने क्रम चल्छ भन्ने कुरा यस साताको सेयर बजारमा पनि देखिएको छ।  सेयर बजारमा नयाँ लगानीकर्ताको प्रवेशका साथसाथै नयाँ कम्पनीहरुको आगमनले पनि पुराना कम्पनीहरुको मूल्यवृद्धिमा सघाऊ पुगेको छ। यसबाट पूरै सेयर बजार लाभान्वित भएको पाइन्छ। तर पुराना कम्पनीहरुको सेयरको मूल्य अपेक्षाभन्दा तल नै छ। 

जुन कम्पनीहरुले कम्तीमा १० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेर बुक क्लोज हुन बाँकी रहेको छ, आगामी दिनमा बृद्धि र विकासको सम्भावना ब्यापक छ भने त्यस्ता कम्पनीमा लगानी गर्दा कुनै जोखिम छैन। अहिलेको सेयर मूल्यको ९० प्रतिशतसम्म सेयर धितो कर्जा पाइने कम्पनीहरु त झन धेरै फाइदाजनक छन् किनकि लाभांश पाइने, सेयर धितो कर्जाका लागि धेरै रकम प्राप्त हुने र भबिष्यमा सेयरमूल्य बढ्दा पुँजीगत लाभको पनि उत्तिकै सम्भावना हुने हुन्छ। यस्ता सम्भावना नभएका कम्पनीहरुमा चाहिँ सर्वसाधारण लगानीकर्ता लाग्नै हुन्न किनकि सेयर बजारमा विपत्ति कतिखेर आउँछ भन्नै सकिन्न। त्यस्तो विपत्तिमा बिक्री गर्न पनि नसकिने, धितो राखेर कर्जा पनि नपाइने र पुँजीगत लाभ पनि नहुने कम्पनीमा लगानी गर्दा विगतका बर्षमा कयौँ लगानीकर्ता लामो समयसम्म रोएर बस्नु परेको थियो। त्यसबाट पाठ भने सिक्नैपर्छ। 

फेसबुकमा कुन कम्पनीको सेयर किनु भनेर सोध्ने, फलानो कम्पनी किन्दा मालामाल र्भन्छ भनेर कसैले भनेको भरमा लगानी गर्ने, कम्पनीको आधारभूत अवस्था नहेर्ने, आफ्नो जोखिम बहन क्षमता विचार नगर्ने, बजारीया हल्लामा मात्तिने र आत्तिनेहरु चाहिँ सेयर बजारमा नराम्ररी डुब्न सक्छन्। खेलाडी लागेकै सेयरमा लाग्न त पर्छ तर उनीहरुले खेल खेल्न सुरु गर्दा नै सेयर किन्ने र उनीहरुले बिक्री गर्नुभन्दा अगाडि नै बिक्री गर्ने कौशल भने अवश्य हुनुपर्छ। नत्र खेलाडीहरुले लगाइदिएको टोपी लामो समयसम्म पहिरिएर बस्नुपर्छ। त्यो पीडादायी क्षण भोग्नेलाई मात्र थाहा हुन्छ। 

कुनै कम्पनीले राम्रो लाभांश घोषणा गर्यो वा धेरै हकप्रद बिक्रीको सूचना सार्वजनिक गर्यो भने त्यो बेलामा सेयर किन्ने सर्वसाधारण लगानीकर्ताको ओइरो लाग्छ तर चलाख लगानीकर्ताहरुले पहिले नै सेयर किनेर बसेका हुन्छन् र उनीहरुले यही माग सिर्जना भएको बेलामा आफूलाई कुस्त फाइदा गराई सेयर बिक्री गर्छन्। एकैपटक धेरै बोनस सेयर वितरण घोषणा गर्ने कम्पनीको सेयर किन्नु दीर्घकालमा फाइदाजनक हुन्न। हकप्रद बिक्री गर्ने कम्पनीको पछाडि त लाग्नै हुन्न। 
सेयर बजारमा सूचनाको धरापमा पर्नबाट जोगिनका लागि पहिले नै कम्पनीहरुको अवस्था विश्लेषण गरी लगानी गर्नुपर्छ। सूचना बाहिरिएर मूल्य उचालिदा सेयर बिक्री गर्नुपर्छ वा कतिपय कम्पनीमा नबेचेर राख्दा पनि केही फरक पर्दैन। उच्च नेटवर्थ र लाभांश क्षमता भएका, मूल्य आम्दानी अनुपात ३० गुणाभन्दा तल रहेका, संस्थागत सुशासन राम्रो रहेका कम्पनीहरुमा गरिएको लगानी कम जोखिमपूर्ण हुन्छ भन्ने कुरालाई ख्याल गर्नु लगानीकर्ताको हितमा छ।

कतिपय लगानीकर्ताले फोन वा सामाजिक सञ्जालमा सम्पर्क गरी सोध्ने गर्छन् कि अब नेप्से कतिले घट्ला वा बढ्ला ? कतिसम्म पुगेर नेप्से फर्केला ? यी वाहियात कुराहरु हुन्। नेप्सेको बढाइ वा घटाइअनुसार सेयर बजारमा लगानी गर्नु हँदैसम्मको मूर्खता हो। सेयर बजार चलायमान हुन्छ र केही कम्पनीको सेयरको मूल्यमा हुने घट्बढले नेप्से सूचकमा पनि असर पार्छ तर त्यसैलाई लगानीको आधार बनाउनु चाहिँ घातक नै छ। लगानीकर्ताले सूचक हैन, कम्पनीको आधारभूत अबस्था र आफूलाई हुने लाभांश तथा पूँजीगत लाभ, जोखिमको अवस्था हेर्ने हो। नेप्से घटिरहेको बेलामा पनि आफूले सेयर धारण गरेको वा नगरेको कम्पनीको सेयर मूल्य बढिरहेको हुन सक्छ र नेप्से बढिरहेको बेलामा आफ्नो कम्पनीको सेयरमूल्य तीव्र रुपमा घटिरहेको पनि हुन सक्छ। त्यसैले नेप्से सूचकलाई मुख्य ध्यान दिएर लगानी गर्नु हितकर छैन। ब्यक्तिगत रुपमा भन्दा मलाई आजको नेप्से सूचक कहाँ छ भनेर मतलब छैन र हेर्ने पनि गरेको छैन।

अनुभवकै कुरा गर्दा केही लगानीकर्तालाई तीन महिनाको अवधिमा कुनै कम्पनीको सेयरमा पाँच गुणाभन्दा बढी पूँजीगत लाभ भयो तर उनीहरुले त्यो सेयर बिक्री गरेनन्। जोखिमपूर्ण क्षेत्रमा पर्ने त्यो कम्पनीको सेयर बिक्री गरेर फाइदा सुरक्षित गरेको भए फेरि अर्को कम्पनीमा लगानीका लागि पुँजी उपलब्ध हुने थियो। धेरै लोभ गर्यो भने पनि सेयर बजारबाट अपेक्षित लाभ लिन सकिन्न। कम्पनीको नाम वा अरु कुरा राम्रो लागेर कम्पनीसँग लभ गर्न थालियो भने पनि फसिन्छ भन्ने ख्याल गर्नुपर्छ।

सेयर बजारमा अल्पकालीन लगानी गर्ने कि दीर्घकालीन लगानी गर्ने भन्ने कुराको छनौट पहिले नै गर्नुपर्छ। अल्पकालीन लगानी गर्ने हो भने पुँजीगत लाभ मुख्य हुन्छ भने दीर्घकालीन लगानी गर्दा लाभांश र पुँजीगत लाभ दुवै हेरिन्छ। दीर्घकालीन लगानी गर्दा पनि छोटो समयमा धेरै पूँजीगत लाभ भयो भने सेयर बिक्री गरेर नाफा सुरक्षित गर्नु उत्तम उपाय हो। सेयरको मूल्य सधैँ घट्ने वा बढ्ने भन्ने हुन्न, एउटा विन्दुमा पुगेपछि फेरि तल वा माथि भइरहन्छ। लगानीकर्ताले त्यसैमा खेल्ने हो।
सेयर बजारका लगानीकर्तासँग सेयर र पैसाको तरलता भने सधैँ हुनुपर्छ। सेयरको मूल्य बढ्दा बिक्री गरेर फाइदा सुरक्षित गर्ने र सेयरको मूल्य घट्दा किन्न आवश्यक पैसा सधैँ राखिरहने नै लगानीको सही तरिका हो। आफूसँग भएभरको पैसा एकैपटक एउटै कम्पनीमा लगानी गर्ने, मूल्य आउँदा बिक्री नगर्ने र मूल्य धेरै घट्दा किन्ने पैसा नहुनु राम्रो हैन। एउटै कम्पनीमा एकैपटक सबै पैसा लगानी नगरी लगानी विविधिकरण गर्नु र पर्याप्त तरलता राखिरहनु धेरै आवश्यक छ।

सेयरको मूल्य धेरै बढेको बेला सेयर बिक्री गरेर सबैभन्दा पहिले तिर्ने नै कर्जा हो। आफूले महँगो ब्याजदरमा लिएको कर्जा समयमा तिरिएन भने त्यसले घर न घाटको बनाउन सक्छ। बैंकहरुले अहिले दिएको सस्तो दरको कर्जाको ब्याज पछि बढाउन सक्छन्। त्यो बेला तरलता अभाव भयो, बैंकको ब्याज पनि बढ्यो अनि सेयरको मूल्य पनि तीब्र रुपमा घट्न थाल्यो भने दोहोरो–तेहेरो मार पर्छ। नाफा सुरक्षित गर्नुका साथसाथै कर्जाको साँवा–ब्याज तिर्न पनि ध्यान केन्द्रित गर्नेपर्छ।

अन्त्यमा नेपालको सेयर बजारको विकास, विस्तार र फैलावट अवश्य नै हुन्छ। विगतमा पुँजी बजारको सुधार र विस्तारका लागि गरिएका संघर्ष र प्रयासहरुका कारणले सरकारी तवरमा धेरै कामहरु भएका छन् र केही गर्न बाँकी छन्। नेपाल उद्योग बाणिज्य महासंघले लगानीकर्ता अम्बिकाप्रसाद पौडेलको अध्यक्षमा पुँजीबजार फोरम नै गठन गरेको छ। यस्ता प्रयासहरुले बजारको विकासमा सघाउँछन्। यस आधारमा भन्दा राम्रो कम्पनीमा लगानी विविधीकरण गर्ने लगानीकर्ताको भविष्य उज्जवल नै छ, सुरक्षित लगानी गरौँ। 

(लेखक सेयर लगानीकर्ता हुन्।)