-अर्जुन तिमिल्सिना
एउटा कालजायी नेपाली आधुनिक गीत छ-'गल्ती हजार हुन्छ यहाँ होस हराएको बेला ।'  गोपाल योञ्जनको शब्दसंगीतमा नारायण गोपालले गाएको यो गीतको भाव र अर्थ कहीँ न कहीँ सेयर बजारमा पनि मिल्छ । 

सायद सेयर बजार एउटा  यस्तो क्षेत्र हो, जहाँ एउटा न एउटा गल्ती नगरेको र पछुतो नभएको कोही छैन र हुन्न पनि । कसैलाई उच्च मूल्यमा  किनेकोमा पछुतो हुन्छ, कसैलाई सेयरको भाउ तल्लो विन्दूमा आउँदा समेत नकिनेकोमा पछुतो हुन्छ । कसैलाई राम्रो कम्पनी किन्दै नकिनेकोमा पछुतो हुन्छ । कसैलाई बेचेपछि बढेकोमा पछुतो त कसैलाई उच्च मूल्यमा पुग्दा समेत बिक्री नगरेकोमा पछुतो हुन्छ। कसैलाई सेयरको भाउ उच्च मूल्यले बढेर गएको कम्पनीको सेयर अझै बढी कित्ता आफूसँग नभएकोमा पछुतो हुन्छ । 

गाउँघरमा एउटा भनाई छः बाँधे कराउँछ, छोडे हराउँछ । के हो भने 'बाख्रो' । शहर बजारमा अर्को भनाई सुनिन्छ किनेपछि घट्ने बेचेपछि बढ्ने ? के हो भने 'सेयर' । यो शब्द लगभग सबै ब्रोकरमा सबै लगानीकर्ताको मुखबाट सुनिन्छ  । जे गरे पनि हुने सबैलाई थकथकी नै हो । त्यसैले कतिपय लगानीकर्ताले यसलाई थुक्क बजार पनि भन्छन् । 

यति मात्रै कहाँ हो र ? गाउँ-गाउँमा र कुनाकाप्चामा खोज्नु भयो भने प्राथमिक तथा हकप्रद सेयर भर्न छुटाएर लाखौं गुमाएर पछुतो  मान्नेहरु कति छन् कति ?

यो त भयो हाम्रो आफ्नै पीडा, व्यथा अनि कथा । अब लागौं विश्व सेयर बजारतर्फ । के नेपालीलाई मात्रै हो त यस्तो हुने ? बिल्कुल होइन । संसारका विकसित राष्ट्र र विश्व सेयर बजारका गुरु वारेन बफेटले पनि आफूले ब्रिटेनको टेस्को कम्पनीमा लगानी गर्दा घाटा भएको भन्दै गल्ती स्वीकार गरेका थिए । त्यसैगरी, अमेरिकाको अघिल्लो चुनावमा डेमोक्र्याटिक पार्टीले जित्ने अनुमान गर्दै सेयर खरिद गर्दा नतिजा उल्टो आएको र सेयरको मूल्यमा गिरावट आयो । यस्तो संसारभरकै बजारमा हुन्छ । 

खासगरी देशको राजनीतिलाई अनुमान गर्दै लगानी गर्दा कहिलेकाँही सेयर बजारमा उल्टो पनि पर्न जान्छ । नेपालमा पनि केही समय पहिला सरकारले संसद बिघटन गर्दा राजनीतिक अस्थिरता हुने आँकलन गरी सेयर बेच्नेहरुले भोलिपल्टै बजार लयमा फर्किएपछि हतारमा सेयर बेच्नु पनि गल्ती हुने रहेछ भनेर शिक्षा पाए सायद । 

सेयर बजारमा हतारमा किन्नु र बेच्नु दुबै गल्ती हुन्छ । गल्ती खासमा के हो त ? सेयर बजारबाट कमाएको पैसा मात्रै हाम्रो कमाइ हो त ? अबश्य होइन, गल्तीबाट सिकेको शिक्षा हाम्रो सबैभन्दा ठूलो कमाइ हो । मान्छेबाट गल्ती अबश्य हुन्छ । जसरी पेन्सिल कटरले एउटा पेन्सिललाई तिखार्दै र निखार्दै जान्छ, हामी पनि त्यसैगरी हाम्रा गल्तीबाट सिकेर तिखारिँदै र निखारिँदै जानुपर्छ र सेयर बजारमा निखारिँदै जानुपर्छ । खासगरी हाम्रो जीवनको गल्ती हाम्रो पेन्सिल कटर हो । हामी अगाडि बढ्दै जाँदा पछाडि के के गल्ती भए भनेर फर्केर हेर्नुपर्छ र सुधार गर्दै जानुपर्छ । अन्य क्षेत्रमा जस्तै हजारौ हन्डर र ठक्कर यो क्षेत्रमा पनि हुन्छ । जसरी खोलामा एउटा ढुङ्गा बग्दै र ठोक्किँदै गएर एउटा आकार लिएर खोलामा बस्छ र कोही आएर काम लाग्ने बस्तु सम्झेर टिपेर लग्छ, खासमा सेयर बजारका लगानीकर्ता पनि त्यही खोलाको ढुङ्गा हो, जसले हजार हन्डर र ठक्कर खाएका हुन्छन् । हामीले यहाँबाट सिकेको शिक्षा कहीँ न कहीँ, कसै न कसैलाई काम लाग्नसक्छ ।  बजारमा उच्च मूल्यमा सेयर किनेर पछुताउनेको भीड सेयर बजारमा ठूलै हुन्छ । किनिसकेपछि सेयर बजारमा धैर्यता हुनु पनि महत्वपूर्ण हुन्छ । 

अब लागौं, बजारमा अक्सर देखिने सपनातिर । सपना खास के हो त ? मान्छेले सपना किन देख्छ ? मान्छेले सपना दिनमा र रातिमा दुबै समयमा देख्छ  । सपनाकै बारेमा धेरै परिभाषा पाइन्छ । तर एउटा लगानीकर्ताको भाषामा भन्नु पर्दा सपना खास त्यो हो, जसले उसलाई निदाउन दिंदैन । उसले सपना त्यस्तो देखेको हुन्छ, आफ्नो लगानी दश गुणा, बीस गुणा बढोस्, केही लाखको लगानी करोडौंमा पुगोस्, करोडको लगानी बढेर अरब पुगोस्, यस्तै यस्तै । 

हरेक मान्छेको एउटा सपना हुन्छ । साइकलमा दगुर्दै गरेकोलाई मोटरसाइकलको सपना होला, मोटरसाइकलमा गूड्नेलाई कारको होला, कार नै चढ्नेलाई अझै राम्रो कारको होला । धनी र विकसित देशमा बस्नेलाई त निजी बिमानकै होला ।  धेरैलाई एउटा सुन्दर घरपरिवारको होला । हरेक मानिस आफ्नो सपनाको पछि पछि कुदिरहेको हुन्छ । 

विदेश बसेर सेयरमा लगानी गर्नेको सपना अझै बढी होलान् । त्यही सपना भएर होला बिदेशतिर दुई चार डलर खर्चेर लोटरी काट्ने चलन छ । सेयर बजारमा कति लगानी गर्ने ? र, कति कमाउने सपना देख्ने ? त्यो आफ्नो आफ्नो क्षमताको कुरा हो । त्यो आफ्नो क्षमताअनुसार  पनि हुन आवश्यक छ, किनकि कहिलेकाही ठूलो भारी बोक्दा अप्ठ्यारोमा पनि पर्न सकिन्छ । एउटा सेयर बजारमा लागेको लगानीकर्तालाई केही लाखको लगानी केही करोडको हुने सपना नौलो नहुनसक्छ । यस्तै सपनै सपनामा लगानीकर्ताले के के गल्ती गरेका हुन्छन् होला त ? दैनिक सेयर बजारमा हामीले गर्ने गल्तीलाई अब बुँदागत रुपमा हेरौं:

१)बजारको ट्रेन्ड बुझ्न नसक्नु: धेरै लगानीकर्ताबाट हुने सबैभन्दा धेरै गल्ती भनेको यो बजार बुलिस हो अथवा बियरिस हो भन्ने निक्र्यौल गर्न नसक्नु हो । बजारले भर्खरै बुलिस यात्रा सुरु गर्दैछ भने त्यस्तोबेला बेच्ने हतारो गर्नुहुन्न । होल्ड इज गोल्डको नीति अपनाउनुपर्छ । 
२)कम्पनीको छनौट: सेयर बजारमा राम्रा कम्पनी छनौट धेरै महत्वपूर्ण हुन्छ । यदि राम्रो कम्पनीमा पैसा लागाइयो भने दैनिक नाफा दिन सक्छ । कमसल र संस्थागत सुशासन कमजोर भएका कम्पनीमा लगानी गरियो भने लामो समय र हाम्रो लगानी नै खेर जान पनि सक्छ । 
३)हरियोमा किन्नु र रातोमा आत्तिएर  बेच्नु: धेरैजसो साना लगानीकर्ता तुरुन्तै हरियो हुनेबित्तिकै किन्न दगुर्ने चलन हुन्छ, जुन बियरिस मार्केटमा अत्यन्तै हानिकारक हुन्छ ।  
४)अरुसँग सोधेर कारोबार गर्नु, आफूले गृहकार्य नगर्नू:सेयर बजारमा सोधखोज आवश्यक हुन्छ, तर अरुले भनेको कुरालाई आफूले पनि अध्ययन र विश्लेषण गर्नुपर्छ । अरुबाट पाएको सूचनाको भेरीफाइ गर्नुपर्छ ।  
५)कम्पनीको सूचना आएपछि मात्र किन्नु: प्राय  मार्केटमा आन्तरिक सूचनामा पहिले नै बजार बढिसक्ने हुँदा लाभांश घोषणापछि बजार घट्ने गर्छ । यो भनेको आफू सूचनाबाट टाढा रहनु हो । सेयर बजारमा सूचना भनेको सवारी साधनका लागि इन्धन जत्तिकै महत्वपूर्ण हो । 
६)बढी लोभ गर्दा नाफा बुक गर्न नसक्नु: यदि तपाईं ट्रेडर हो भने कति प्रतिशत नाफा लिने हो, यसको निक्र्यौल सेयर किनेको दिन नै गर्नुपर्छ  । छोटो समयमा २०–२५ प्रतिशतसम्म  प्रतिफल आउँछ भने सेयर बेचे पनि हुन्छ । 
७)अरुको व्यापार योजना र रणनीतिमा चल्नु: सेयर बजारमा हरेकको आफ्नो–आफ्नो योजना हुन्छ, त्यसैले आफ्नो व्यापार योजना आफैंले तर्जुमा गर्नुहोला  ।  
८)तत्कालीन बजारको आँकलन गर्न नसक्नु: बजार कति बढ्यो ? कुन सेक्टर बढ्यो ? कुन–कुन कम्पनी अझै अण्डरभ्यालुड छन् ? भन्ने कुरा निक्र्यौल गर्न आवश्यक हुन्छ । साधारणतया बैंक तथा बित्तीय संस्थाको पीई रेसियो १७ भन्दा तल भए अण्डरभ्यालुड र ३० भन्दा माथि भएर ओभरभ्यालु भएको मानिन्छ । अण्डरभ्यालुमा किन्ने र ओभरभ्यालुमा बेच्ने गर्नुपर्छ । 
९)नेप्से इन्डेक्स  र कम्पनीको तुलना गर्न नसक्नु: सेयर बजारमा धेरै लगानीकर्ताले नेप्से इन्डेक्समात्रै हेरेको पाइन्छ । नेप्से इन्डेक्स भनेको सबै सेक्टरको एभरेज बिन्दु हो, जहाँ कुनै सेक्टर ओभर र कुनै सेक्टर अन्डर भएका पनि हुनसक्छन् । इण्डेक्स उच्च भए पनि कतिपय कम्पनीको भ्यालू तल हुनसक्छ । 
१०) हल्लाको पछि लाग्नु, अरुले बेच्ने बेलामा आफूले किन्ने गल्ती गर्नु । 

उसो भए कसरी होला त आफ्नो ब्रिफकेशको खल्ती सुरक्षित गर्ने?
१)आफ्नो क्षमताअनुसार खरिदबिक्री गर्ने: नेपालीमा एउटा उखान छ–घाँटी हेरेर हाड निल्नू । यो भनाई सेयर बजारमा पनि उपयुक्त हुन्छ । आफूले सक्ने मात्र खरीद गर्ने । 
२)एकैपटक खरीद नगरेर बजारको अवस्था नियालेर दैनिक रुपमा खरीद गर्ने बानी बसाल्ने । आफूसँग भएको पूँजीको ३० प्रतिशत नगद मौज्दात राखिरहने । 
३)लगानी व्यवस्थापन गर्ने: समय–समयमा आफूले कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाको लोन पनि चुक्ता गर्दै जाने  
४)पोर्टफोलियो व्यवस्थापन गर्ने: आफूले किनेका कम्पनीलाई ध्यान दिएर हेर्ने र अनुपयुक्त लागे पोर्टफोलियो परिवर्तन गर्ने 
५)जीरो इन्भेस्टमेन्ट पोलिसी अपनाउने: बजार बढ्दै गएपछि कति सेयर बेचेमा आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने कुरा ख्याल गर्ने र बजारमा नाफाको सेयर मात्रै छाड्ने । 
६)मितव्ययी हुने: बजारबाट कुनै बेला राम्रो कमाइ भए पनि फजुल खर्च रोक्ने ।  

सेयर बजारमा राम्रा कम्पनी छानेर आफ्नो मात्रै पुँजी दिर्घकालीन रुपमा लगाउनेले सधैं बाजी मार्छ ।