काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा निकै आकर्षण बढेको पाइएको छ।

विशेषगरी कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानी निरुत्साहित हुँदा सेयर बजारमा लगानी गर्नेको संख्या ह्वात्तै बढेको देखिन्छ। हालसम्म डिम्याट खाता खोल्नेको संख्या १६ लाख बढी भइसकेको अवस्थामा सक्रिय लगानीकर्ताहरु संख्या पनि दिनप्रतिदिन बढ्न जान थालेको छ।

धितोपत्र बजारमा अनलाइन प्रणालीबाट कारोबार गर्न २ वर्ष अघिमात्र टीएमएस भित्र्याइएको थियो। टीएमएस सञ्चालनमा आएर अनलाइन प्रणालीबाट कारोबार गर्नेको संख्या ह्वात्तै बढेको छ। 

पछिल्लो २ साताको तथ्यांक हेर्ने हो भने पनि टीएमएस लिनेको संख्या ७० हजारको हाराहारीमा वृद्धि भएको छ। नेप्सेले हिजो सार्वजनिक गरेको तथ्यांकअनुसार टीएमएस लिनेको संख्या ४ लाख ४५ हजार ३५३ पुगेको छ। जब कि दुई साताअघि टीएमएस लिनेको संख्या ३ लाख ७६ हजार २६१ रहेको थियो। 

टीएमएस लिएकामध्ये पनि २ लाख २२ हजार ५६९ जनाले सक्रिय रुपमा धितोपत्र कारोबार गरिरहेका छन्। यो संख्या २ साता अघिसम्म १ लाख ९५ हजार ९८९ मात्र थियो। यो अवधिमा टीएमएसबाट सक्रिय कारोबार गर्नेको संख्या पनि २६ हजार ५८० ले बढेको छ। 

त्यसो त हाल बजारमा सेयर कारोबारीको कुल संख्या ५ लाख ९४ हजार ८७९ रहेको छ। यो संख्या २ साता अघिसम्म ५ लाख ५० हजार ४०९ रहेको थियो। यो २ साताको अवधिमा कुल लगानीकर्ताको संख्या पनि ४४ हजार ४७० ले बढेको छ। 

त्यसो त नासा सेक्युरिटिज कम्पनी लिमिटेडबाट सबैभन्दा धेरै लगानीकर्ताले अनलाइन प्रणालीबाट कारोबार गरेको देखिन्छ। नासाबाट ४१ हजार ९०२ जनाले टीएमएस लिएकोमा २१ हजार १८५ जनाले टीएमएसबाट सक्रिय रुपमा कारोबार गरिरहेको देखिन्छ।