व्यापार, राजनीति र खेलमा सधैँ एउटै रणनीति र योजनाले काम गर्दैन। समय, परिस्थिति र प्रतिद्वन्द्वीहरुको चालअनुसार आफूले पनि पाइला चाल्न सक्नुपर्छ। 

सेयर बजार पनि एउटा बौद्धिक खेल नै हो। यहाँ पनि समयअनुसार चेसका गोटी फेर्न जान्नुपर्छ अर्थात् पोर्टफोलियो व्यवस्थापन गर्नुपर्छ। पोर्टफोलियो व्यवस्थापन भन्नाले धितोपत्रसम्बन्धी पर्याप्त ज्ञान तथा सूचना संकलनमार्फत विश्लेषण गरी लगानी गरिने कार्यलाई बुझिन्छ। 

केही दिनयता देशको राजनीतिमा उथलपुथलको अवस्था आएको छ। लगानीकर्तामा पनि अब के होला ? भन्ने चासो देखिन्छ। छिनछिनमा नयाँ–नयाँ समाचार आइरहेकोले र राजनीतिमा हरेक असम्भव विषय पनि सम्भव हुने भएकोले यही हुन्छ भनेर किटान गर्न मुस्किल नै हुन्छ। तर पनि संसदको पुनस्र्थापना भएकोले अब सबै समस्याको निकास त्यहीँबाट निस्कने विषयमा भने कुनै द्विविधा देखिँदैन। अब केही दिन र समयको अलमलपछि राजनीतिले एउटा बाटो समात्ने तथा बजारले पनि लय लिने देखिन्छ। 

हरेक वर्ष यो समयमा हकप्रद तथा बोनस सेयर सूचीकृत हुने हुँदा पनि अहिले बजारमा केही करेक्सन देखिएको हो। तर, घटेको बेला दीर्घकालीन लगानी गर्नेलाई अवसर पनि हो। 

बजार बढ्दै जाँदा राम्रा र नराम्रा सबै कम्पनीको सेयर मूल्य बढेको हुन्छ। यस्तो बेला लगानीकर्ताले कम्पनीको सम्भवना र भविष्यलाई मध्यनजर गरी लगानी गर्नुपर्छ। वर्षौं केही नदिने तर मूल्यमात्रै उच्च भएका (सेतो हात्ती) सेयरबाट निस्कन पनि सक्नुपर्छ। सेयर बजारमा साना तथा नयाँ लगानीकर्ता यस्ता कम्पनीमा लगानी गर्दा बुल ट्रयापमा पर्ने सम्भावना पनि त्यत्तिकै हुने हुँदा सजग भएर लगानी गर्ने, कम्तीमा आफूले लगानी गर्ने कम्पनीको ट्रेन्ड तथा विगत ५ वर्षको लाभांश इतिहास र भविष्यको व्यापार हेरेर होल्ड गर्ने अवस्था आए पनि कम्तीमा वार्षिक २५ प्रतिशत प्रतिफल दिन सक्ने कम्पनीमा लगानी गर्नसके सेयरबाट पुँजीगत लाभ तथा वार्षिक प्रतिफल दुवै हात लाग्न सक्छ। 

कसरी हान्ने होला छक्का र चौका ?

क्रिकेट धेरैले बुझेकै खेल हो। स्कोर कसरी बढी आउँछ भन्ने कुरा त सबैलाई थाहै छ। ब्याट्सम्यानले छक्का–चौका हान्नसके बढ्ने हो। तर, खेलमा रन लिँदाभन्दा चौका–छक्का हान्दा   क्याचआउट हुने बढी जोखिम हुन्छ भने बलले घेरा काट्न सके स्कोर पनि बढी हुन्छ। अर्थात् यहाँ यो पंक्तिकारले भन्न खाजेको के भने उच्च जोखिम लिँदा नै उच्च प्रतिफल हुने हो। बिना जोखिम त न खेलमा स्कोर आउँछ न सेयर बजारमा प्रतिफल ? जोखिम क्षमता हेरेर लिनुपर्छ। यदि ब्याट्स म्यानले बल हावामा उडाएर घेरा कटाउन नसके र फिल्डरको हातमा परे खेलै छोड्न पर्नै अवस्था पनि आउन सक्छ।

त्यसैगरी सेयर बजारमा पनि उच्च मूल्यका सेयर खरिद गर्दा उच्च मूल्यमै कम्पनीको अवस्था र बजारको ट्रेन्ड हेरेर कटाउन पनि सक्नुपर्छ। अन्यथा यता पनि खेल छोड्नुपर्ने अवस्था आउन सक्छ। यसको अर्थ यो होइन कि बजार घटेको बेला आत्तिएर भन्छाको फोहोर फाले जसरी भकारीको अन्न (सेयर) फाल्नुस्। बजार बढ्दै जाँदा र कम्पनीको मूल्य डबल भइसकेपछि जिरो इन्भेस्टमेन्ट पोलिसीअन्तर्गत केही बेचेर लगानी झिक्नुस् ता कि भोलि बजार जे भए पनि आफ्नो आर्थिक अवस्था नबिग्रियोस्।

सेयर बजार पनि एउटा चलचित्र नै हो। यहाँ पनि कथा हुन्छन्। उता कलाकार चल्छन्। यता पैसा चल्छ। तर, रमाइलो र मज्जा भने दुवैतिर हुन्छ। 

सेयर बजारका बादशाहा वारेन बफेटले भनेका छन्, ‘मसँग चित्र कोर्नका लागि खाली क्यानभास छ र म त्यसमा जति पनि चित्र कोर्न सक्छु। जुन क्यानभासमा बढीभन्दा बढी पैसा हुन्छ। यसो गर्दा मलाई जति मज्जा आउँछ, त्यत्ति नै मज्जा मलाई १० वा २० वर्षअघि कुनै काम गरेर आउँदैनथ्यो। आज मलाई यो क्यानभारमा चित्र कोर्दा कुनै हीनताबोध छैन।’ यसको अर्थ सेयर बजार पनि चित्र र चलचित्र दुवै हो। जसले हरेक कारोबार दिन र क्षण एउटा रेखा कोरिराखेको हुन्छ।