अहिले सेयर बजारको चर्चा देशमा मात्रै सीमित नभएर विदेशका कुनाकाप्चामा चलेको पाइन्छ। देशभित्र चोकचोक, चियापसल र चौतारीमा चर्चा छ भने सेयरकै छ। ब्रोकर हाउसभित्र पनि बूढाबूढीदेखि काखे बच्चा च्यापेरसमेत सेयरका फर्म भरेको पाइन्छ। 

भनिन्छ, सेयर बजारको चर्चा दुईपल्ट धेरै हुन्छ। एकपल्ट निकै तल आएको बेला र अर्कोपल्ट निकै माथि पुगेको अवस्थामा। 
सेयर भनेको के हो ? अथावा यसबाट कसरी फाइदा हुन्छ ? किन लगानी गर्ने ? जस्ता विषय सामान्यभन्दा सामान्य मानिसलाई बुझाउन नसकेसम्म सेयरको खास महत्व र मूल्यमा होला तर व्यवहारिक रुपमा हुँदैन। 

हाम्रोजस्तो अल्पविकसित र अशिक्षित समाजमा शिक्षाको पहुँच नै देशका कुना–कुनासम्म नपुगेको अवस्थामा सेयरको ज्ञान सर्वसाधरणमा पुर्याउनु पक्कै पनि चुनौतीपूर्ण छ तर असम्भव नै भने पक्कै छैन। सेयर बजारको २५ वर्षभन्दा बढीको इतिहासमा आजसम्म सेयर शिक्षाको एउटा पाठ्यक्रमसम्म नबन्नु  भनेको नेप्सेको आँगनमा आजसम्म एउटा साँढेको तस्बिरसम्म नहुनुजस्तै हो। गत हप्ता एउटा ब्रोकर हाउसमा साँढेको तस्बिर राखेर कतै नियामक निकायलाई गिजाएको हो कि भन्ने भान पनि परेको छ। 

गाउँका दूरदराजको त परैको विषय व्यवस्थापन विषयमा नै अध्ययन गरेका र सहरबजारकै शिक्षित वर्गलाई समेत सेयर बजारको विषयमा बुझाउन नसक्नु भनेको कहीँ न कहीँ हाम्रो शिक्षामा कमजोरी पक्कै छ। अब स्कुल तहकै शिक्षामा सेयर, बोन्ड तथा डिबेन्चर, म्युचुअल फन्ड तथा  क्यापिटलको ज्ञान हुन आवश्यक छ। आमसर्वसाधरणसम्म सेयर भनेको पनि सम्पत्ति तथा व्यवसाय हो। यसबाट पनि राम्रो जीविकोपार्जनको माध्यम बन्छ भन्ने अनुभूति नभएसम्म सेयर बजारको महत्व हुँदैन। 

खासगरी सेयर बजारमा पुरुषभन्दा महिलाको जमात बढी र गरगहनाभन्दा पनि सेयरमा लगानी गर्नुपर्छ भन्ने भावानाको विकास हुने गरी जनचेतनामूलक सन्देश जानु आजको आवश्यकता देखिन्छ। योसँगै सेयरमा २ टा बजार हुन्छन्। दोस्रो बजार भनेको जोखिमयुक्त क्षेत्र पनि हो। बुझेर अध्यान गरेर लगानी गर्नु आवश्यक छ। प्रथामिक बजारमा पनि केही जोखिम हुन्छ नै तर दोस्रो बजारभन्दा सुरक्षित हुन्छ।

लगानीकर्ताले लगानी कम्पनीको वित्ती अवस्था नियालेरमात्रै गर्नुपर्छ। ब्रोकर कम्पनीहरुले पनि नाफालाई मात्रै भन्दा पनि अहिले व्यवस्था भएको नाफाको १ प्रतिशत शिक्षामा लगानी गर्ने भन्ने व्यवस्थालाई व्यवहारिक रुपले लागू हुनु्पर्छ।

कस्तो हुनुपर्ला नियामक निकायको भूमिका ? 

एक आमसर्वसाधरणले बुझ्ने भनेको र पहिला ठोकिने भनेको ब्रोकर हाउस हो। त्योभन्दा अलवा सेयरसँग सम्बन्धित धितोपत्र बोर्ड, नेप्से, सीडीएससी, मर्चेन्ट बैंक र बैंक पनि जोडिएका हुन्छन्। यिनीहरु सबैको आ–आफ्नो काम र कर्तव्य हुन्छन् नै। 

धितोपत्र बोर्ड भनेको टाउको हो भने सीडीएससी मुटु हो। ब्रोकर हाउस, नेप्से, मर्चेन्ट बैंक र बैंकहरु भनेका हातखुट्टा हुन् किनकि यहाँ धेरै काम हुन्छ र गरिन्छ। यी सबै मिलेर एउटा अंग बनेको हुन्छ र सेयर कारोबार हुन्छ। यसका अलवा यहाँ अप्रत्यक्ष रुपमा मिडिया पनि जोडिएको हुन्छ। मिडियाले यिनै अंगबाट सूचना लिएर रक्त (सूचना) सञ्चार गरेको हुन्छ। अर्थात् मिडिया भनेको एउटा शरीरको नली हो। यसको भूमिका पनि अहम नै हुन्छ। 

टाउको र मुटो अर्थात धितोपत्र बोर्ड र नेप्से र सीडीएससीको भूमिका अलि बढी नै हुन्छ। धितोपत्र बोर्डले नीतिनियम तर्जुमा गर्छ भने नेप्सेले कार्यान्वनका लागि जोड दिन्छ। धितोपत्र बोर्डले यो सोच्नुपुर्यो कि अब लगानीकर्तालाई के आवश्यकता छ ? अर्थात् संसारमा के परिवर्तन भएको छ ? लगानीकर्ताको माग र चाहाना के हो ? एउटा हत्केलामा संसार भएको अवस्थामा अहिलेको लगानीकर्ताले दिनमा नेपालको सेयर बजार हेरेका हुन्छन् भने रातमा न्युयोर्क स्टक मार्केट र लन्डन स्टक मार्केट पनि हेरेका हुन्छन्। 

वास्तवमा सेयर बजार भनेको दिमागको खेल पनि हो। जहाँ आफूसँग हुँदै नभएको सेयर पनि कारोबार गरेर पैसा बनाइरहेका हुन्छन्। हामी हरेक हिसाबले विकासकै चरणमा छौँ। सय मिटर भए पनि नेपालकै भूमि र नेपालीकै बुद्धिबाट रकेट माथि गएको छ। भलै एक दिन चन्द्रमामा नपुग्ला भन्न सकिन्न। 

सबै कुरा विकास नै हो। शक्तिशाली राष्ट्रहरु चीन र भारत हाम्रा छिमेकी भएकोले त्यसको प्रभाव विकासमा पर्न सक्छ। नियमक निकायहरु चनाखो हुन जरुरी छ। 

अहिले लगभग धेरैजसो सेयर डिम्याट भइसकेका छन्। सम्पूर्ण लगानीकर्ताको सम्पत्ति अहिले सीडीएससीको केन्द्रीय निक्षेप प्रणालीमा छ। यसले अर्को जोखिम पनि सिर्जना भएको देखिन्छ। संसारमा यस्ता ह्याकरको उदय भएको छ कि केही गरी सीडीससीको डाटा नै उडे के गर्ने ? खर्बौंको सम्पत्तिमा कसको कति ? गुगल सर्भरमा पनि सुरक्षित डाटा राखिएको  होला तर जोखिम त अवश्य देखिन्छ। 
पहिलेजस्तो अहिले सेयरको सर्टिफिकेटमा नाम लेख्ने अवस्था अहिले छैन। सीडीएसीमा राखिएको लगानीकर्ताले ऋणधन गरेर किनेको सम्पत्ति कति सुरक्षित छ ? यी र यस्तै यक्ष प्रश्न एउटा लगानीकर्ताको मानसपटलमा भएको पनि पाइन्छ। 

नियामक निकायले गर्नुपर्ने धेरै काम अझै बाँकी नै छन्। अब ब्रोकरका शाखा जिल्ला–जिल्लामा पुग्नुपर्छ नभए स्थानीय तहसम्म पुगेका बैंकहरुलाई सेयर कारोबार गर्न दिनुपर्छ। अहिले गाउँगाउँमा  सेयरको यस्तो चर्चा छ कि पानी भर्ने पधँेरोमा पानीका गाग्री सेयरले भरिएका छन् भने चौपारीमा शीतल पनि सेयर बजारले नै दिएको छ। 

बजारको विकास र स्थायित्वका हामी सबैको भूमिका रहन्छ र सबैले समन्वय गरेर अगाडि बढ्नुको विकल्प पनि छैन।