काठमाण्डौ । बढ्दो कोरोना संक्रमणको प्रभाव सेयर बजारमा पनि देखिएको छ। कोरोना त्रासकै कारण आइतबार बजारमा भारी गिरावट आएको छ। 

धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार बजारमा ७५.७९ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २५७२.२१ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.५६ अंकले घटेर ४६४.०५ को विन्दुमा समेटिएको छ। यो दिन कारोबार रकम भने बढेर सवा ७ अर्बभन्दा बढीको भएको छ। 

नेपाल इन्भेस्टर फोरमका अध्यक्ष छोटेलाल कोरोना प्रभाव बढेसँगै सरकारले लकडाउन गर्न सक्ने हल्ला चलेकै कारण आज बजार प्रभावित भएको बताए। ‘एकातिर कोरोना त्रास र अर्कोतिर बजारका प्राविधिक विश्लेषकहरुले बजार घट्छ भन्दा लगानीकर्ताको मनोविज्ञानमा असर गरेको प्रस्ट देखिन्छ’, उनले भने, ‘तर बजार घट्नुपर्ने कुनै कारण छैन। बैंक तथा वित्तीय संस्थाहरुको तेस्रो त्रैमासको रिपोर्ट राम्रै आइरहेको छ, एकल अंकको ब्याज, अब एउटा त्रैमासको मात्रै ब्याज तिरेपछि प्रतिफल खाना पाइन्छ । त्यसैले बजार अगाडि बढ्छ, आत्तिनुपर्ने अवस्था छैन।’

अहिले बजार विस्तार विकासमा नियामले पनि राम्रै काम गरिरहेकोले लगानीकर्ताहरु धैर्य गरेर बस्न आवश्यक रहेको रौनियारको सुझाव छ। ‘हल्लाको भरमा बजार घटाउन थालिएको देखिन्छ’, उनले भने, ‘सोझा र नयाँ लगानीकर्ताहरुले आत्तिएर बेचेका छन्, बाठा लगानीकर्ताहरुले उठाएका छन्।’

रौनियारले यतिबेला सेयर बेच्ने पछुताउनुपर्ने अवस्था आउने पनि बताए। ‘अहिले सेयर किनेर थप्ने अवसर हो, भएको सेयर होल्ड गर्नुपर्छ’, उनले भने, ‘केही दिनभित्रै बजारमा सुधार हुन्छ।’

हिमालयन जनरल इन्स्योरेन्सकी सञ्चालिका नुरा शर्माले पनि कोरोनाकै त्रासका कारण बजार घटेको बताए। ‘कोरोनाले बढ्दो संक्रमणले साना लगानीकर्ताहरु आत्तिएका छन्’, उनले भनिन्, ‘तर ठूला लगानीकर्ताले यही बेला अवसर छोपेर धमाधम सेयर उठाइरहेका छन्।’

गत वर्षको कोरोनाकालमा पनि यस्तै अवस्था आए पनि पछि बजारले आमलगानीकर्ताको बुझाइलाई उल्टाइदिएको उदाहरण प्रस्तुत गर्दै शर्माले कोरोना महामारीका बेला अन्य क्षेत्र सुस्ताए पनि सेयर बजार बढ्ने बताइन्। ‘यतिबेला बैंक तथा वित्तीय संस्थाहरुका सेयर उठाएर राख्नुपर्छ’, उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाहरुमा लगानी सुरक्षित हुन्छ र भविष्यमा राम्रो प्रतिफल पाइने निश्चित छ।’ 
शर्माले अब बजार बढेर ३००० उचाइसम्म पुग्ने दाबी गरिन्। ‘अहिले खरिदको राम्रो अवसर छ, आत्तिनुपर्ने अवस्था छैन, बरु यो अवसरलाई सदुपयोग गरौँ।’

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। 

यो दिन जीवन बीमा समूह सर्वाधिक ४६०.०४ अंकले ओरालो लागेको छ। निर्जीवन बीमा समूह ४४०.८७ अंकले घटेको आज बैंकिङ समूहमा ४२.६५ अंक, व्यापार समूहमा ११३.५५ अंक, होटेल तथा पर्यटन समूहमा २२०.२७ अंक, विकास बैंक समूहमा ८६.३४ अंक, जलविद्युत् समूहमा ११२.४१ अंक, वित्त समूहमा ४३.७७ अंक, उत्पादन तथा प्रशोधन समूहमा १३६.२१ अंक, अन्य समूहमा ४७.१३ अंक, लघुवित्त समूहमा १६०.६५ अंक, म्युचुअल फन्ड समूहमा ०.०९ अंक र लगानी समूहमा ३.३५ अंकको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २१५ कम्पनीका १ करोड ४६ लाख ९० हजार ७२० कित्ता सेयर ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन निफ्राको सर्वाधिक ३९ करोड ५२ लाख रुपैयाँ बढीको कारोबार भएको छ। ज्योति लाइफ इन्स्योरेन्सको ३३ करोड ८५ लाख रुपैयाँबराबरको कारोबार भएको आज माथिल्लो तामाकोशीको २५ करोड ९७ लाख रुपैयाँ, नबिल बैंकको २० करोड ९७ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको २० करोड ५६ लाख रुपैयाँ, कुमारी बैंकको १९ करोड १४ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ७० लाख रुपैयाँ, एनसीसी बैंकको १७ करोड ४९ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ३९ लाख रुपैयाँ र नागरिक लगानी कोषको १५ करोड ५७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज २ कम्पनीको सेयरमूल्यमा पोजेटिभ सर्किट लागेको छ। यो दिन महिला लघुवित्त र विशाल बजार कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजेटिभ सर्किट लागेको हो।

यो दिन २ कम्पनीका सेयरधनीले उच्च गमाए। चन्द्रागिरी हिल्स र नारायणी डेभलपमेन्ट बैंकको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको हो।