काठमाण्डौ । गत आर्थिक वर्ष २०७७/७८ मा सेयर बजारबाट १४ अर्ब रुपैयाँ बढी पुँजीगत लाभकर उठेको छ। एकै वर्षमा सेयर बजारबाट यति धेरै रकम पुँजीगत लाभकरबाट उठेको यो हालसम्मकै उच्च हो। 

सीडीएससीका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा १४ अर्ब ६ करोड पुँजीगत लाभकर उठेको छ। जुन अघिल्लो वर्ष २०७६/७७ को तुलनामा १३४६.८४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षमा ९७ करोड २० रुपैयाँमात्रै पुँजीगत लाभकर उठेको थियो। 

पछिल्लो समय सेयर बजारमा ठूलो संख्यामा लगानीकर्ता भित्रिनु र कारोबार पनि सोहीअनुसारले हुनुले पुँजीगत लाभकर ह्वात्तै बढेको सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले बताए। 

गत आर्थिक वर्षसम्म सेयर बजारमा पुँजीगत लाभकर ५ प्रतिशत लगानीकर्ताले तिर्नुपथ्र्यो। चालु आर्थिक वर्षबाट भने अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्ताले ५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्ने व्यवस्था गरिएको छ। जसअनुसार आफूले किनेको सेयर १ वर्षभित्रै बिक्री गर्नेहरुलाई साढे ७ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्नेछ भने १ वर्षपछि बिक्री गरेमा भने ५ प्रतिशत नै पुँजीगत लाभकर तिर्नुपर्नेछ। 

पछिल्लो समय बजारमा अल्पकालीन लगानीकर्ताको संख्या धेरै देखिएकोले चालु आर्थिक वर्षमा पनि पुँजीगत लाभकर ह्वात्तै उठ्न सक्ने जानकारहरु बताउँछन्। 

सीडीएससीका अनुसार हालसम्म गत आर्थिक वर्षसम्म डिम्याट खाता खोल्नेको संख्या ३७ लाख ३६ हजार ९२६ पुगेको छ। अघिल्लो आर्थिक वर्षसम्म भने यो संख्या १७ लाख २३ हजार ९७४ रहेको थियो। यो हिसाबले डिम्याट खाता खोल्नेको संख्या पनि दोब्बर बढीले बढोत्तरी भएको छ। 

यसैगरी हालसम्म २८ लाख ५२ हजार २३३ जनाले मेरो सेयर लिएका छन्। अघिल्लो वर्ष मेरो सेयर लिनेको संख्या ७ लाख ४२ हजार ४९ मात्र रहेको थियो।