– अर्जुन तिमिल्सिना

काठमाण्डौ । कुनै समयमा देशमा फाइनान्स कम्पनीको संख्या अत्याधिक थियो। नेपाल राष्ट्र बैंकले मर्जर तथा प्राप्तिको योजना लिएपछि फाइनान्सको संख्या हाल डेढ दर्जनका हाराहारीमा सीमित बनेको छ। धेरैजसो फाइनान्स क, ख र ग वर्गका बैंक तथा वित्तीय क्षेत्रमा विलिन हुन पुगे। 

खासगरी तत्कालीन राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले ल्याएको पुँजी वृद्धिको योजनापछि धेरै फाइनान्स कम्पनी मर्जरमा जान बाध्य भए। यसले बैंक तथा वित्तीय क्षेत्रमै हलचल ल्याइदियो भने धेरै संस्था फोर्स मर्जरमा जान बाध्य भए। जसले फाइनान्स तथा विकास बैंकको संख्या उल्लेख्य रुपमा घटाउन सहयोग गर्यो। 

आज हामीले नेपाल फाइनान्स लिमिटेडलाई आधारभूत तथा प्राविधिक रुपमा विश्लेषण गर्ने कोसिस गरेका छौँ। 

आधारभूत पक्ष

नेपाल फाइनान्स नेपालकै पहिलो फाइनान्स कम्पनी हो। यो फाइनान्स २०४९ सालमा स्थापना भएको थियो। राष्ट्रियस्तरको यो फाइनान्सका हालसम्म १० वटा शाखा छन्। 

गत आर्थिक वर्षको तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको चुक्तापुँजी ३० करोड ५५ लाख ५१ हजार रहेको छ भने सेयर प्रिमियम २ करोड १९ लाख ५७ हजार रहेको छ। कम्पनीको नेटवर्थ १३६.९ रुपैयाँ छ भने प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३११.०९ रुपैयाँ रहेको छ। 

प्रतिसेयर आम्दानी २.११ रुपैयाँ रहेको छ यो फाइनान्सको मूल्य आम्दानी अनुपात १४७.५६ गुणा रहेको छ। कम्पनीले ललितपुर फाइनान्सलाई गाभेर एकीकृत  कारोबार गरेको छ। ललितपुर फाइनान्सलाई गाभेपछि कम्पनीको पुँजी बढेर आउनेछ। जुन चौथो त्रैमास वित्तीय विवरणमा सार्वजनिक गरिनेछ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। 

यस वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरु सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।   इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा माइनर डिग्रीअन्तर्गत वेभ ५ चलेको देखिन्छ। यसले आगामी दिनमा कम्पनीको सेयर मूल्य अझै केही समय बढोत्तरी आएर ७७५ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। त्यसपछि करेक्सन भएमा वेभ ए बनाउन ६७५ रुपैयाँसम्म आउन सक्छ भने वेभ बी बनाउन पुनः ७५० रुपैयाँसम्म पुगेर अन्तमा वेभ सी बनाउन ६४३ रुपैयाँसम्म यो कम्पनीको सेयर भाउमा उत्तारचढाव हुुन सक्ने देखिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवा ६४३ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ५९७ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा ५६३ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवा ५३५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने केही समय पहिला एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल बनेको र अझै भ्यालिड रहेको देखिन्छ। हिस्टोग्राम सकारात्मक नै छन्। यसले केही समय अझै सकारात्मक नै रहने देखिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले माथिल्लो रेखालाई छोएर हरियो मारुबुजु बनाएको छ। यसको अर्थ यो कम्पनीका सेयरमा केही समय खरिद दबाब पर्न सक्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिवर्तनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यो कम्पनीको हालको आरएसआई ८० रहेको छ। अघिल्लोपल्ट यो न्यून विन्दु ३५ को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ८९ को तहमा पुगेपछि सेयरको भाउ ओरालो लागेको थियो। यसलाई आधार मान्ने हो भने यो कम्पनीको मूल्य ओभर बट जोनमा रहेको छ। ओभर बट जोनमा रहेको कम्पनीको सेयरभाउमा करेक्सनको सम्भावना पनि उत्तिकै हुन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ७४०
  • प्रतिराध २– ७६०
  • प्रतिराध ३– ८२०

पिभट प्वइन्ट : ७००

घटेमा सर्पोट 

  • सपोर्ट १– ६८०   
  • सर्पोट २– ६४०
  • सर्पोट ३– ५८०

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिनसक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।