सेयर बजार २०% ट्रेडिङ रणनीति, ३०% मनी म्यानेजमेन्ट र रिस्क रिवार्ड तथा ५०% मनोविज्ञानमा आधारित छ। 

सेयर बजारमा सफलतापूर्वक लगानी गर्न धेरै ज्ञान र सीपहरु आवश्यक हुन्छन्। यसमा कम्पनीको आधारभूत विश्लेषण गर्ने क्षमता र सेयर बजारको ट्रेन्ड पत्ता लगाउने क्षमता निकै महत्वपूर्ण मानिन्छ। तर, यी दुई सीपहरुभन्दा पनि अझै महत्वपूर्ण पक्ष भनेको लगानीकर्ताको मनोविज्ञानलाई मानिन्छ। 

सेयर बजारबाट पैसा कमाउने कि गुमाउने भनेर निर्धारण गर्ने सबैभन्दा ठूलो तत्व नै लगानीकर्ताको मनोविज्ञान हो। ट्रेडिङ गर्दा स्टक चयन, त्यसको क्यालकुलेसन तथा इन्ट्री र एग्जिस्ट गर्ने तरिकामात्र कठिन कार्य होइन। यसले हाम्रो भावनाका साथ कार्य गर्ने भएकोले पटक–पटक हाम्रो लोभ, डर र अहंकारलाई चुनौती दिने हुँदा ट्रेडिङका साथसाथै यसको मनोविज्ञान पनि बुझ्न सबैभन्दा जरुरी छ।

के हो त ट्रेडिङ मनोविज्ञान ? 

एक ट्रेडरको व्यवहार र विशेषताका कारण ट्रेडिङमा पर्न सक्ने असरबाट उक्त ट्रेडरको मनमा पैदा हुने भावना हो। हामीले जस्तोसुकै नाफामूलक ट्रेडिङ सिस्टम निर्माण गरे पनि एउटा ट्रेडमा एन्ट्री गरेपछि त्यसबाट हुन सक्ने उक्त नाफालाई समयमै भजाउन नसक्ने पो हो कि भन्ने डर जहिले भइरहन्छ। त्यो समय हामीले आफ्नो भावनालाई कसरी नियन्त्रण गर्दछौँ ? यसैले उक्त ट्रेडिङको सफलताको निर्धारण गर्दछ। हाम्रो जोखिम उठाउन सक्ने क्षमतादेखि सेयर बजारप्रतिको अनुराग र धैर्यताले समेत बजारलाई तलमाथि परिरहेको हुन्छ। खरिद र बिक्री दुवै मूल्यका आधार नै लगानीकर्ताको मनोविज्ञानमा टिकेको हुन्छ।

अन्तर्राष्ट्रिय अध्ययनअनुसार सरकारी नीति, ठूला खेलाडीको चलखेल, बजारसम्बन्धी लेख, समाचार तथा सामाजिक सञ्जालहरुको सूचनाले सेयर बजारलाई प्रभावित पारिरहेको हुन्छ। यस्ता चलखेल अनि विभिन्न खालका समाचार र सूचनाले सेयरको मूल्य र त्यसको कारोबार रकममा प्रत्यक्ष प्रभाव पर्दछ। 

सामान्यतया सेयर बजारमा सकारात्मक सूचना वा समाचारले तत्कालै एक छोटो समयका लागिमात्र सकारात्मक प्रभाव पारेको देखिन्छ तर नकारात्मक समाचारले भने तत्कालै मूल्य त घटाउँदछ नै त्यसको प्रभाव लामो समयसम्म पनि बजारमा देखिन सक्दछ। सकारात्मकभन्दा नकारात्मक कुराहरुले बजारलाई धेरै नै चाँडै प्रभाव पार्दछ । जसको प्रत्यक्ष उदाहरण विश्व सेयर बजारमा समेत देख्न सकिन्छ। भर्खरै सम्पन्न युरो कपको प्रि–म्याच कन्फ्रेन्सका बेला पोर्चुगलका क्याप्टेन रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिएको घटनापछि कोकाकोलाको सेयरमूल्य ४ अर्ब डलरले घट्यो। यसले के देखाउँछ भने प्रत्येक नकारात्मक समाचारप्रति बजारले चाँडै नै प्रतिक्रिया देखाउँदछ। 

लगानीकर्ताको मनोविज्ञानको हिसाबले हेर्ने हो भने बाहिरको बजार र नेपालको बजारमा खासै धेरै फरक छैन। त्यहाँ पनि ट्रेडरहरु इमोसनल भई ओभर रियाक्सन तथा अन्डर रियाक्सन हुन्छ।

मनोभावलाई नियन्त्रणमा राख्ने र अनुशासनमा बस्नेलगायतका अभ्यासहरु ट्रेडिङ मनोविज्ञानकै एक पाटो हो। हो, सेयर कारोबारीहरुले तत्काल नै सोचेर निर्णय लिनुपर्ने हुन्छ । त्यसैले छोटो समयमै सेयर खरिदबिक्री गर्नका लागि स्वयंलाई एक निश्चित तरिकाले प्रशिक्षित गर्न पनि उत्तिकै जरुरी छ।

सबैले प्रफिटकै लागि कार्य गर्ने भएकाले आफ्नो कारोबार योजनामा अनुशासित भएर अडिग रही प्रोफिट बुक गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो। तसर्थ, कारोबारको समयमा मनोभावनालाई बीचमा प्रवेश गराउनु निकै हानिकारक हुन सक्छ। सेयर बजारमा सफलताका लागि आफ्नो तथा बजारको मनोविज्ञान बुझ्न सक्ने एक स्पस्ट माइन्ड सेट हुनुपर्दछ। मलाई यस्तो लाग्यो भन्दा पनि चार्टले के भन्दैछ र बजार कता गइरहेको छ, यो बुझ्नु मुख्य कुरा हो। हामी आफ्नो धारणाका कारण बजारलाई स्पस्ट रुपले हेर्न सक्दैनौँ। 

प्रत्येक सेयर लगानीकर्ताले दुईवटा मुख्य मनोभावना डर र लोभलाई बुझ्न आवश्यक हुन्छ। 

डर र त्रासलाई जित्ने

सेयर कारोबार गर्नेले डर के हो बुझ्न जरुरी हुन्छ। डर सम्भावित खतराप्रतिको एक प्राकृतिक प्रतिक्रिया हो। जब सेयर लगानीकर्ताले कुनै कम्पनी वा समग्र अर्थतन्त्रका बारेमा नकारात्मक समाचार सुन्दछन् तब डर पैदा हुन्छ। डरकै कारण सेयर कारोबारीले आवश्यकताभन्दा बढी प्रतिक्रिया जनाउने र भएको सेयर बिक्री गरी तत्काल नगदमा परिणत गर्ने सम्भावना ज्यादा रहन्छ। यसरी केही नोक्सान त कम गर्न सकिएला तर नाफा कमाउनबाट वञ्चित हुने सम्भावना पनि उत्तिकै रहन्छ। सेयर कारोबारको हकमा डर घाटाको सम्भावनासँग जोडिएको हुन्छ। सेयर कारोबारीले आफ्नो डरप्रति गहन सोच र विचार पुर्याउनुपर्छ तर यस्तो विचार नकारात्मक समाचार तथा सूचना बाहिर आउनुभन्दा अघि नै गर्नुपर्दछ । बीचमा वा आइसकेपछि होइन। समयभन्दा अगावै घटनाक्रमप्रति विचार पुर्याउने हो भने त्यसमा कसरी प्रतिक्रिया जनाउने भन्ने निर्णय लिन सहज हुन जान्छ। जसबाट लगानी तथा कारोबार निर्णयमा डर हावी हुन पाउँदैन ।

अत्याधिक लोभमाथि विजय

अत्याधिक लोभी लगानीकर्ता जहिले पनि अन्तिम समयसम्म बढ्दो मूल्यको फाइदा उठाउने दाउमा हुन्छन् तर ढिलो वा चाँडो जब बजार घट्न थाल्छ तब यसैमा धेरै लोभी लगानीकर्ताहरु पÞmस्दछन्। हो, लोभलाई जित्न त्यति सहज छैन। अझै धेरै भाउ बढोस्, अझै राम्रो फाइदा गरौँ भन्ने प्रवृत्ति अधिक लोभका कारण नै जन्मिन्छ। कतिपय अवस्थामा ज्यादा लाभकै कारण प्राप्त भइसकेको फाइदालाई पनि गुमाउनुपर्ने सम्भावना रहन्छ। तसर्थ, सेयर कारोबारीले आफूमा भएको यस्तो लोभी प्रवृत्तिलाई पहिचान गर्नुपर्दछ। विवेकमा आधारित निश्चित र तर्कसंगत कारोबार योजना बनाउनुपर्छ  र उक्त योजना अनुसार अनुशासनमा पनि बस्नुपर्दछ। यसो गर्दा कारोबारका बीचमा लोभी प्रवृत्तिमा कमी आउन जान्छ।

भावनामा आधारित कारोबार गर्नबाट कसरी जोगिने ?

एउटा स्पस्ट नियम बनाउने

सेयर लगानीकर्ताले एक निश्चित कारोबारको नियम बनाउनुपर्छ।  जब मनोवैज्ञानिक तत्वहरु हावी हुने देखिन्छ, सोही नियमलाई अनुसरण गर्नुपर्दछ। आफ्नो जोखिम बहन गर्न सक्ने क्षमता पहिचान गरी कारोबारलाई दिशानिर्देश गर्नुपर्दछ। कारोबारमा भावनात्मक तत्वले असर नगरोस भन्नका लागि नाफाको लक्ष्य निर्धारण गर्नुपर्दछ। नोक्सान रोकथाम (स्टप लस) गर्ने एक स्पस्ट लक्ष्य तय गर्नुपर्दछ।

स्वयं अनुसन्धान र समीक्षा गर्ने

कोही साथीभाइले भन्यो या कुनै सामाजिक सञ्जालमा केही कुरा आयो भन्दै तिनको पछि नलागी सेयर कारोबार गर्नेले जहिले पनि आफ्नो रुचिका स्टक र सेक्टरमा विज्ञ हुन आवश्यक छ। विश्व विख्यात लगानीकर्ताहरुलाई पनि हेर्ने हो भने उनीहरु आफूले बुझेको भन्दा बाहिरको क्षेत्रमा लगानी गर्न हिच्किचाउने गरेको देखिन्छ। दैनिक आउने समाचारहरुलाई ध्यान दिनुपर्छ तर त्यसबाट ज्यादै प्रभावित भई कार्य गर्नु भने हुँदैन। स्वयंलाई शिक्षित र परिष्कृत बनाउँदै लैजान पनि उत्तिकै महत्वपूर्ण हुन्छ।  ज्ञानले डरलाई जित्न पनि ठूलो भूमिका निर्वाह गर्दछ।

अन्त्यमा

आफ्नो भावनालाई कन्ट्रोल गर्नका लागि राम्रो ट्रेडिङ सिस्टमका साथ एक यस्तो माइन्ड सेट–अप हुन जरुरी छ। जसबाट हामी पूर्ण रुपमा यो विश्वस्त हुन सकौँ कि तत्काल नभए पनि लङटर्ममा हामी प्रफिटमा नै रहने छौँ। एक रणनीति बनाई पहिलेका गल्ती दोहोर्याउन नदिन हिस्टोरिकल चार्टको अध्ययन गरी र पूर्णतया नियम तथा अनुशासनका साथ लागू गरेर आफूमा यो आत्मविश्वास जगाउन सकिन्छ।

हामीले यो पनि बुझ्न जरुरी छ कि हरेक ट्रेडमा हामीले प्रफिट कमाउन सक्दैनौँ। कहिलेकाहीँ त जति गरे पनि हाम्रो स्टप–लस हिट हुन्छ नै तर अनुशासनका साथ ट्रेडिङ गर्दछौँ भने आफूलाई दोष दिने ठाउँ रहन्न।