काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा भारी पहिरो जानुका साथै नेगेटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ।

बजार खुलेको दोस्रो घन्टामा बजार ५.०३ प्रतिशतले घटेपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार स्थगित गरेको छ। बजार ४० मिनेटका लागि स्थगित गरिएको छ। 

कारोबार सुरु भएको पहिलो घन्टामा नेप्से परिसूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनट, दोस्रो घण्टामा ५ प्रतिशतले घटे वा बढेमा ४० मिनट र  तेस्रो घन्वा त्यसपछिको समयमा ६ प्रतिशतले घटे वा बढेमा बाँकी पूरै दिनको कारोबार स्थगन गर्ने गर्दछ।

अब दिउँसो १ः४० कारोबार सुचारु हुनेछ। त्यसपछि पनि २ बजेसम्म बजार ६ प्रतिशतले घटेमा पूरै दिनका लागि कारोबार स्थगित हुन्छ।

यो बेलासम्म बजार १४७.३१ अंकले घटेको छ। नेप्से परिसूचक २७७९.३१ को विन्दुमा झरेको छ। ७ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको बजारमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ४७ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो बेलासम्म विकास बैंक र वित्त समूहमा ९ प्रतिशत बढीले ओरालो लागेका छन्। जलविद्युत, होटेल तथा पर्यटन र व्यापार समूह पनि ७ प्रतिशत बढीले घटेका छन्।

यतिबेलासम्म ५६ वटा कम्पनीको सेयरमूल्यमा १० प्रतिशत तथा १० प्रतिशतको हाराहारीमा घटेर नेगेटिभ सर्किट लागेको छ भने सानिमा लाइफ इन्स्योरेन्सको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा बढेर पोजेटिभ सर्किट लागेको छ।