काठमाण्डौ । मौद्रिक नीतिमार्फत ल्याइएको सेयर धितो कर्जाको सीमाबाट असन्तुष्ट बनेका सेयर लगानीकर्ताहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गरेका छन् । उनीहरुले राष्ट्र बैंकले आज दिनभरमा उचित कदम नलिए देशभरका लगानीकर्ता आर्लेर राष्ट्र बैंक घेराउ गर्ने चेतावनी पनि दिएका छन्।

सेयर धितो कर्जाको सीमाले बजारमा निकै ठूलो नकारात्मक असर परेको भन्दै लगानीकर्ताहरुले रामकृष्ण ढकालको संयोजकत्वमा पुँजी बजार सुधार संघर्ष समिति नै गठन गरेका छन्। सोही संघर्ष समितिले आज १६ बुँदे विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीको राजीनामा मागेको हो। 

राष्ट्र बैंकले शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जामा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट अधिकतम ४ करोड रूपैयाँ र समग्र वित्तीय प्रणालीबाट अधिकतम १२ करोड रूपैयाँसम्म मात्र लिन सक्ने व्यवस्था मौद्रिक नीतिबाट गरेको थियो। यो व्यवस्थाले सेयर बजार प्रभावित हुने भन्दै केही लगानीकर्ताहरुले राष्ट्र बैंकको चर्को विरोध गरेका छन्। यसअधि सेयर बजारमा यस्तो सीमा तोकिएको थिएन। 

मौद्रिक नीतिमा यो व्यवस्था गरिएपछि बजार लगातार घटिरहेको छ। विज्ञप्तिको पहिलो बुँदामै गभर्नर अधिकारीले तत्काल राजीनामा दिनुपर्ने माग गरिएको छ। 

मौलिक हकअन्तर्गतको सम्पत्तिको हकमाथि प्रहारी गरी राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा सीमा लगाएर समग्र पुँजी बजारको विकासको बाधक बनेकोले यो व्यवस्था तुरुन्त खारेज गर्न विज्ञप्तिमा माग गरिएको छ।

यसैगरी विगतमा गरिएको आन्दोलनको मर्मलाई बुझेर त्यतिबेला प्रस्तुत गरिएको ५८ बुँदे सहमतिलाई अक्षरांश पालना गर्नुपर्ने माग पनि अघि सारिएको छ। 

यसैगरी संघर्ष समिति संयोजक ढकालले आज दिनभरमा राष्ट्र बैंकले पुँजी बजारलाई सुधार गर्ने नीति नलिएर राष्ट्र बैंक घर्ने चेतावनी पनि दिए। यसका लागि देशभरबाट लगानीकर्ता काठमाण्डौ बोलाइने पनि उनले स्पष्ट पारे।