– अर्जुन तिमिल्सिना

काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताको सेयर खरिदबिक्री गर्ने  रणनीति फरक–फरक हुन्छ। 

सेयर कारोबार एउटा व्यापार भएकोले योजना तथा रणनीति आवश्यक हुन्छ। सेयर कारोबार गर्दा तल्लो न्यून विन्दुमा खरिद गर्ने र माथिल्लो उच्च विन्दुमा बेच्ने सबैको उद्देश्य हुन्छ। तर, सबै लगानीकर्ता यसमा सफल हुँदैनन्। किनकि कसैले बेचेर नै कसैले किन्ने हो। 

कुनै पनि सेयरको मूल्य आन्तरिक तथा बाह्य कारणले घटेर तल्लो विन्दुमा आएको वा अन्डरभ्यालु भएको अवस्थामा खरिद गर्ने जुक्तिलाई सेयर बजारमा ‘बटम प्वइन्ट फिसिङ’ भनिन्छ। यस्तो रणनीति खरिदकर्ताको आधारभूत तथा प्राविधिक ज्ञान र अनुभवका आधारमा सेयर बजारमा लागू गरिन्छ। यसलाई ‘बाइङ इन लो एन्ड सेलिङ इन हाई’ पनि भनिन्छ। 

यस्तो रणनीति खासगरी विश्वका प्रख्यात लगानीकर्ता वारेन बफेट र बेन्जेमिङ ग्रामले भ्यालु इन्भेस्टिङ रणनीतिमा प्रयोग गरेका हुन्छन्। यस्तो अवस्थामा खरिद गरिएका सेयरहरुमा उच्च नाफाको सम्भावना रहेको हुन्छ। 

बटम प्वइन्ट फिसिङ ट्रेडर र इन्भेस्टरका लागि फरक–फरक हुन्छ। 

ट्रेडरका लागि बटम प्वइन्ट फिसिङ 

ट्रेडरले यस्तो रणनीति खासगरी प्राविधिक विश्लेषण गरेर ओभर सोल्ड जोनमा कम्पनीको मूल्य पुगेको अवस्थामा गरेका हुन्छन्। कुनै पनि कम्पनीको सेयर अघिल्लो उच्च विन्दुबाट घटेर आरएसआईका आधारमा २० भन्दा तल आउँछ तथा क्यान्डल स्टिकले खरिदका लागि कनफर्म गर्छ भने त्यस्तो अवस्थामा अल्पकालीन लगानीकर्तालाई लाग्छ सेयरको मूल्य हालका लागि तल्लो विन्दुमा आयो।

इन्भेस्टरका लागि बटम प्वइन्ट फिसिङ

इन्भेस्टरले भ्यालु इन्भेस्टिङलाई आधार बनाएर सेयर खरिद गरेका हुन्छन्। यसका लागि देशमा आर्थिक मन्दी तथा अन्य कारणले सेयरको मूल्य निकै तल आएको हुन्छ। जस्तै सेयरको मूल्य बुक भ्यालुबराबर तथा अझै तल आउँछ। धेरै मानिसले सेयर तथा सेयर बजारलाई अन्डरस्टिमेट गर्छन् भने त्यस्तो अवस्थामा सेयरको मूल्य तल आएको हुन्छ। यस्ता लागनीकर्ताले मार्जिन अफ सेफ्टीका आधारमा सेयरको मूल्य बार्गेनिङ गरेर किन्छन्।