– अर्जुन तिमिल्सिना

काठमाण्डौ। प्राविधिक रुपमा सेयर बजारलाई विश्लेषण गर्नुपर्दा गत साताको अन्तिम कारोबार दिनमा मैनबत्ती विश्लेषणअन्तर्गत इन्भर्टेड ह्याम्मर बनेको थियो। यस्तो चित्रले बजारले बाटो परिवर्तन गर्न लागेको संकेत गर्छ। यदि बढ्दो बजारमा इन्भर्टेड ह्याम्मर बन्छ भने बजार घट्छ र घट्दो बजारमा बन्छ भने बजार बढ्छ भन्ने नै हो। 

यो साताको दुई दिनको बजारलाई विश्लेषण गर्ने हो भने कारोबार तथा भोलुमले साथ दिइरहेको देखिन्छ। प्राविधिक तथा आधारभूत सबै औजारबाट बजार बलियो नै देखिन्छ। यो हिसाबले बजार अझै केही  अंक बढ्न बाँकी नै रहेको अनुमान लगाउन सकिन्छ।

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

इलिअट वेभका आधारमा बजार विश्लेषण गर्दा विभिन्न विकल्पलाई हेरिन्छ। सबैभन्दा बढी सम्भावना भएको एउटा विकल्पलाई मुख्य आधार बनाएर हामीले पाठकसामु ल्याउँछौँ। यही आधारमा बजारको विश्लेषण गर्नुपर्दा माइनर डिग्रीको वेभ ५ लगभग ३२२२ को विन्दुसम्म पुगेर सकिएको देखिन्छ। बजार सोही डिग्रीको ए बनाउँदै लगभग २८०० को विन्दुभन्दा केही तल आएर फर्केको छ। त्यसमा वेभ ए लगभग ४०० अंक घटेर अहिले वेभ बी बनाउन बजार ३०६० को विन्दुसम्म पुग्न सक्छ। 

इलिअट वेभमा वेभ ए बराबर वेभ सी हुन्छ भन्ने सिद्धान्तलाई आधार मान्दा यदि बजार पहिलेको रेकर्ड ब्रेक गर्न नसके तल आउन सक्छ। आगामी ४–५ महिना साइडवेजमा चलेर बजार ३०६० को विन्दुबाट ४०० अंक झरेर २६६० को विन्दुसम्म आउन सक्छ। त्यसपछि मात्रै फिवोनासीको २.६१ प्रतिशतको वृद्धिमा बजार ३५०० को विन्दुसम्म र ३.६१ प्रतिशतेको वृद्धिमा लगभग ४००० को विन्दुसम्म पनि पुग्ने एउटा बलियो सम्भावना पनि देखिन्छ। 

अर्को सम्भावना भनेको बजार यदि हालकै बढोत्तरीलाई निरन्तरता दिँदै पहिलेको रेकर्ड ब्रेक गर्छ भने ३५०० कै विन्दुसम्म पुग्न सक्ने देखिन्छ। तर, यो सम्भावना हाललाई न्यून छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

एमएसीडी लाइन र आरएसआईका आधारमा

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनअन्तर्गत केही समयपहिले एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको छ (हेर्नुहोस् रातो एरो)। हिस्टोग्रामहरु (कालो एरोले देखाएको) नेगेटिभ भएका छन् तर छोटा–छोटा भएकोले एमएसीडी लाइन केही घुमेर बाङ्गिएकोले बजार केही समयका लागि बुलिस क्रस ओभर पनि हुन सक्छ। बजारको आरएसआई ओभर सोल्ड जोन २५ बाट बढेर हाल सेन्ट्रल जोन ४४ मा रहेको छ। यसले लगानीकर्ताहरु पर्ख र हेरको रणनीतिमा रहेको बुझिन्छ। 

एमएसीडी लाइन र आरएसआईका आधारमा समूहगत विश्लेषण

वाणिज्य बैंक समूह

वाणिज्य बैंकको कारोबारले बनाएको रेखाचित्रमा यो साता पनि धेरै परिवर्तन भएको छैन। एमएसीडी लाइनले सिग्नल लाइनलाई प्रस्ट रुपमा माथिबाट काटेको छ र जिरो तहभन्दा तल आएको छ। हिस्टोग्रामहरु पनि नेगेटिभ भएका छन् तर छोटा–छोटा  भएकोले बजारमा खरिदचाप परेको अनुमान लगाउन सकिन्छ। आरएसआई २७ को ओभर सोल्ड जोनबाट माथि फर्केर हाल ४० को जोनमा रहेको छ। जुन बढ्दो क्रममा रहेको छ।

विकास बैंक समूह

यो साता विकास बैंक पनि बियारिस क्रस ओभरमा  चलेको छ भने अझै हिस्टोग्राम पनि नेगेभिट नै छन्। तर छोटा–छोटा भएकोले निकट भविष्यमा बुलिस क्रस ओभरको सम्भावना देखिन्छ। आरएसआई ४० को जोनबाट फर्केर हाल सेन्ट्रल जोनमा चलिरहेको छ। यो समूहको आरएसआई पनि बढ्दो क्रममा रहेको छ।

जलविद्युत समूह

यो साता जलविद्युतमा पनि बियरिस क्रसओभर भएको छ। गत २४ अगस्टमा बियरिस क्रस ओभर भएको थियो, जुन अहिले पनि निरन्तरता छ। हिस्टोग्राम पनि नेगेटिभ तर छोटा–छोटा भएकोले बजारमा खरिदचाप पर्दै गएको अनुमान लगाउन सकिन्छ। आरएसआई ओभर सोल्ड जोननजिक ३६ बाट फर्केर हाल ५४ को  जोनमा रहेको छ। यो ६० भन्दा माथि पुगेमा बजारमा अल्पकालीन लगानीकर्ताको प्रवेश गर्न सक्छन्। 

लघुवित्त समूह 

लघुवित्तमा पनि गत २५ अगस्टमा बियारिस क्रस ओभर भएको थियो। हालसम्म पनि हिस्टोग्राम नेगेटिभ नै छन् भने विस्तारै छोटा–छोटा बन्दै गएकोले बजारमा खरिदचाप हुँदै गएको देखिन्छ। आरएसआई पनि बढ्दो क्रममा नै रहेको देखिन्छ, जुन हाल ३४ बाट बढेर सेन्ट्रोल जोन ४५ को तहमा पुगेको छ।

जीवन बीमा समूह 

जीवन बीमामा एमएसीडी लाइन हालसम्म पनि बियरिस क्रस ओभर नै छ। हिस्टोग्राम पनि नेगेटिभ भएका छन् तर केही छोटिँदै गएकोले खरिदचाप पर्न सक्ने देखिन्छ। आरएसआई २५ बाट बढेर ४० मा पुगेको छ।

 

निर्जीवन बीमा समूह

निर्जीवन बीमामा बियरिस क्रस ओभर नै छन् भने  हिस्टोग्रामा नेगेटिभ नै भएका छन्। आरएसआई ओभर सोल्ड जोनबाट बढेर ४० को जोनमा पुगेको छ। यो क्षेत्रमा पनि आरएसआई बढ्दो क्रममा नै रहेको देखिन्छ।

वित्त समूह 

यो साता पनि वित्त समूहमा सिग्नल बियरिस क्रस ओभर नै भएको छ। हिस्टोग्राम नकारात्मक नै छन्। आरएसआई ४२ को जोनबाट बढेर ५० को जोनमा पुगेको छ। यो आधारमा यो क्षेत्रमा खरिदचाप परेको बुझ्न सकिन्छ।

म्युचुअल फन्ड 

यो समूहमा उत्तारचढाव कम देखिन्छ। एमएसीडी  बियरिस क्रस ओभर नै छ। हिस्टोग्राम विस्तारै पोजिटिभ भएका छन्। यसले खरिदचाप पर्न सक्ने देखिन्छ। आरएसआई ओभर सोल्ड जोन २५ को जोनमा रहेको छ, जसले खरिदको अवस्थालाई जनाउँछ।

लगानी समूह

लगानी समूहमा पनि सिग्नल बियरिस क्रस ओभर नै रहेको छ। हिस्टोग्राम विस्तारै छोटा–छोटा तथा नेगेटिभ भएका छन्। आरएसआई २५ बाट बढेर ४० पुगेको छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।