काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको अन्तिम दिन बिहीबार सेयर बजारमा भारी अंकको गिरावट आएको छ। 

आज बजार ७६.६५ अंकको गिरावट आएको हो। योसँगै नेप्से परिसूचक २८१२.३९ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १२.७३ अंकले घटेर ५२५.७८ को विन्दुमा ओर्लेको छ। सेयर कारोबार ९ अर्ब बढीको भएको छ। 

आज बजारमा भारी गिरावट आउनुको मुख्य कारण बैंकहरुले ब्याजदर बढाउनु नै रहेको विश्लेषकहरुले बताएका छन्। बैंकहरुले निक्षेप संकलन बढाउनका लागि मुद्दतिको ब्याजदर बढाएका छन्। यसले बजारमा नकारात्मक प्रभाव पारेको उनीहरुको ठहर छ। 

नेपाल इभेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल धितोपत्र बोर्डबाट जोखिमयुक्त भन्दै निष्कासित ५१ वटा कम्पनीको नामावलीदेखि राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिबाट बजार प्रभावित हुँदै आएको बताए। ‘सीसीडी रेसिया हटाउँदा तरलताको समस्या पर्यो र ब्याजदर बढ्ने अवस्था आयो’, उनले भने, ‘यिनै कारणले गर्दा अहिले बजारमा नकारात्मक प्रभाव परिरहेको छ।’

रौनियारले सेयर धितो कर्जाको सीमाले पनि बजार प्रभावित भएको बताए। ‘यसले पुँजी बजारलाई झन धरापमा पार्ने काम गर्यो’, उनले भने।

राष्ट्र बैंक सीडी रेसियो हटाउन बाध्य हुने पनि रौनियारले दाबी गरे। ‘किनकि यसले ब्याजदर बढेपछि मुद्रास्फीति पनि बढ्छ र उद्योगधन्दामा पनि असर पर्छ’, उनले भने।

अहिले बजारमा साना लगानीकर्ताहरु डराएको उल्लेख गर्दै रौनियारले अहिले नै नआत्तिन पनि आग्रह गरे। ‘बजार सधैँ घट्दै, बजार पुनः लयमा आवश्यक फर्किन्छ’, उनले भने।

नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बैंकको ब्याजदर बढेकोले अहिले बजारमा बिक्रीचाप परेको बताइन्। ‘लगानीकर्ताको माग अर्थ मन्त्रालय र राष्ट्र बैंकले सम्बोधन गरेन, त्यसको असर पनि बजारमा पर्यो’, उनले भने।

अहिले बजारमा चाडपर्वको प्रभाव पनि परेको पोखरेल बताउँछिन्। ‘तर कारोबार घटेको छैन, लाभांशको सिजन छ’, उनले भने, ‘अहिले आत्तिनुपर्दैन, लगानीकर्ताका जायज माग सम्बोधन हुन्छन्, बजार केही दिनमा लयमा फर्किन सक्छ।’

पोखरेलले पछिल्लो समय नियामक निकायहरुले सेयर लगानीकर्ताहरुमाथि अन्याय गरेको आरोप पनि लगाइन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन वित्त समूह सर्वाधिक ४.९४ प्रतिशतले ओरालो लागेको छ। जलविद्युत समूह ४.०८ प्रतिशतले घटेको आज बैंकिङ समूहमा २.११ प्रतिशत, विकास बैंक समूहमा ३.६३ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.६२ प्रतिशत, लगानी समूहमा २.३८ प्रतिशत, जीवन बीमा समूहमा २.७९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.०४ प्रतिशत, लघुवित्त समूहमा ३.१४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५२ प्रतिशत, निर्जीवन बीमा समूहमा २.९४ प्रतिशत, अन्य समूहमा १.६८ प्रतिशत र व्यापार समूहमा ३.२६ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ६४ लाख ६८ हजार ५०८ कित्ता सेयर ९ अर्ब ३ करोड ३९ लाख ६२३.०९ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३८ करोड ६० लाख रुपैयाँ बढीको कारोबार भएको छ। रिडी हाइड्रोपावरको २८ करोड ३८ करोड रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको २५ करोड ५८ लाख रुपैयाँ, युनाइटेड मोदी हाइड्रोपावरको २२ करोड ९८ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २० करोड ४३ लाख रुपैयाँ, नेपाल बैंकको १ करोड ८३ लाख रुपैयाँ, आईसीएफसी फाइनान्सको १८ करोड ३३ लाख रुपैयाँ, नेसनल हाइड्रोको १८ करोड ११ लाख रुपैयाँ, अरुण काबेली पावरको १५ करोड ८६ लाख रुपैयाँ र ज्योति विकास बैंकको १५ करोड ६४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन कारोबारमा आएका कम्पनीहरुमध्ये २ वटाको मात्रै सेयर भाउ उकालो लागेको छ भने अन्य १८३ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। 

आज मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरु मालामाल भएका छन्। यो लघुवित्तको सेयरभाउमा १० प्रतिशतले बढेर पोजिटिभ सर्किट नै लागेको छ। 

यसैगरी राष्ट्रिय बीमा कम्पनीको सेयरभाउ पनि ०.०२ प्रतिशतले उकालो लागेको छ।

यो दिन कर्पोरेट डेभलपमेन्ट बैंकका सेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको सेयरभाउ ८ प्रतिशत बढीले ओरालो लागेको छ।