– अर्जुन तिमिल्सिना

काठमाण्डौ। निरन्तर बढेको सेयर बजारमा केही समयदेखि गिरावट आइरहेको छ। बजारमा गिरावट आउनुमा केही लगानीकर्ताले राष्ट्र बैंकको पछिल्लो नीतिलाई दोष दिइरहेका छन्। केही लगानीकर्ताले भने बजारको घटाइ स्वाभाविक रहेको भन्दै राष्ट्र बैंकको नीतिलाई समर्थन पनि गरेका छन्। 

लगानीकर्ता यसरी सधैँ विभाजन हुँदा हालसम्म गरिएको धेरैजसो सेयर बजार सु्धारका आन्दोलन र लगानीकर्ताका जायज माग ओझेलमा परेको स्वयं लगानीकर्ताका नेताहरु नै बताउँछन्। केही आलोचकहरुले सेयर बजारमा आन्दोलन बजार घटेको बेलामा हुने र सीमित लगानीकर्ताको स्वार्थका लागिमात्रै हुने आरोप लगाइरहेका छन्। 

नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल भने आन्दोलन जसले गरे पनि लगानीकर्ताको माग र समस्या साझा रहेको बताउँछिन्। ‘अहिलेको आन्दोलनमा हाम्रो सहभागिता र समर्थन दुवै छ। हामीलाई बजार बढाउन आन्दोलन गरेको भन्ने पनि आरोप छ, त्यो सत्य होइन’, उनले भनिन्, ‘हामीले बजार बढाउन आन्दोलन गरेका होइनौँ। ५८ बुँदामा सबै समेटिएका छन्। ती माग समाधान भएको भए थप आन्दोलन आवश्य थिएन।’

अहिलेको नेपाल राष्ट्र बैंकको सेयर धितो कर्जाको सीमाको व्यवस्था ठिक नभएको पोखरेलको ठहर छ। ‘अहिलेको आन्दोलन जायज र आवश्यक नै हो’, उनले भनिन्, ‘अहिले आएको अर्थमन्त्रीको धारण पुँजीबजारमैत्री भएन।’ 

नेपाल पुँजीबजार दबाब समूहका महासचिव नयन बास्तोला पुँजीबजारको विकास र विस्तारको पक्षमा आफूहरुको नैतिक र व्यक्तिगत समर्थन रहेको बताउँछन्। ‘केही मागमा भने असहमति पनि छ’, उनले भने, ‘राष्ट्र बैंकको सेयर धितो कर्जाको नयाँ नीति साना लगानीकर्ताको पक्षमा रहेको छ। यसले सेयर बजारमा सबैको पहुँच रहेको छ। त्यसैले फेरबदलको आवश्यक छैन।’

नेपालमा अहिलेसम्म मार्जिन ट्रेडिङको काम हुन नसकेको उल्लेख गर्दै बास्तोलाले अहिले आवश्यकता देखिएको बताए। ‘हाम्रा मुख्य कमजोरी संगठित हुन नसक्नु र नेतृत्वमा छ’, उनले भने, ‘यसको उदाहरण ब्रोकरको कारोबार बन्द गरेर गरिएको अन्दोलनमा पनि सोचेजस्तो भएन। हाम्रा अन्दोलन स्वार्थमा बाँझिने र गुलामी गर्ने प्रवृत्तिले आजसम्म कमजोर भएका छन्। लगनीकर्ताका उपस्थिति पनि कम छ।’

‘हामी क्लब हाउस र सामाजिक सञ्जालमा मात्रै उपस्थित हुन्छौँ तर भौतिक रुपमा आन्दोलनमा सहभागिता हुँदैन’, बास्तोलाले भने, ‘यो पनि मुख्य समस्या रहेको छ।’

नेपाल इन्भेस्टर्स फोरमकी महासचिव दुर्गा तिवारी सरकारले लगानीकर्ताका जायज माग नसुनेपछि आन्दोलनको विकल्प नरहेको बताउँछिन्। ‘अहिले आन्दोलनमा हाम्रो नैतिक समर्थन छ’, उनले भनिन्

अर्थमन्त्रीबाट राम्रै आश्वासन पाए पनि त्योअनुसार पछिल्ला भनाइ आयजस्तो नदेखिएको तिवारी बताउँछिन्। ‘सेयर धितो कर्जाको सीमामा हाम्रो असहमति छ’, उनले भनिन्, ‘तर यसमा पनि लगानीकर्ताहरुको दुई धार देखियो। हामी विभाजन भयौँ। साना–ठूला भन्ने भयो। यसले नियामकलाई नै फाइदा हुन्छ।’

ब्रोकरको कमिसन घटाउने, ब्रोकरका शाखा विस्तार गर्नेलगायत पुँजी बजार सुधारका जायज मागहरुका विषयमा लगानीकर्ताहरु एक हुन आवश्यक रहेको तिवारी बताउँछिन्। ‘तर पछिल्लो समय लगानीकर्ताहरु विभाजित हुँदा यी मागहरु ओझेलमा पर्दै गएका छन्’, उनले भनिन्

सेयर धितो कर्जाको सीमाको व्यवस्था खारेजीसहित विभिन्न १६ बुँदो माग गर्दै लगानीकर्ताहरुले गत भदौ २३ गतेबाट आन्दोलन सुरु गरेका थिए। उनीहरुले पुँजी बजार सुधार संघर्ष समिति गठन गर्दै माइतीघर मण्डलामा २ घन्टे रिले अनसन सुरु गरेका थिए।

रिले अनसन गर्दा पनि माग सुनुवाइ नभएपछि गत भदौ ३१ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कार्यालय अगाडि आमरण अनसन सुरु गरेका थिए। तर आमरण अनसनले निरन्तरता पाउन सकेन। 

संघर्ष समितिका संयोजक आदित्य शिवाकोटी पुँजी बजारमा सक्रिय लगानीकर्ताहरुका पुराना संगठनको साथ नपाउँदा आन्दोलन रोक्नुपरेको बताए। ‘हाल हामी आन्दोलनका नयाँ रणनीति बनाउनका लागि छलफलमा व्यस्त छौँ’, उनले भने, ‘केही समयमै हामी कडा आन्दोलनमा उत्रिने तयारी गरिरहेका छौँ र यो आन्दोलनमा हामीलाई सबैको साथ प्राप्त हुन्छ भन्ने हाम्रो विश्वास छ।’

शिवाकोटीले आफूहरुसँग आन्दोलनमा समन्वयको अभाव भएको स्वीकारे। ‘आन्दोलनमा लगानीकर्ताहरुको सहभागिता कम भयो, लगानीकर्ताहरु एकजुट नहुँदा प्रहरी प्रशासनले पनि दबाउन सफल भए’, उनले भने, ‘हामी अन्तिम विकल्पका रुपमा आन्दोलनमा उत्रिएका थियौँ तर सबैको साथ नहुँदा सफल हुन सकेन।’

आफूहरु सेयर बजार घटेकोमा बढाउनका लागि आन्दोलनमा नउत्रिएको शिवाकोटीले स्पष्ट पारे। ‘पुँजीबजार सुधारका धेरै काम अलपत्र छन्, सरकारले विगतका उठाइएका एउटा पनि माग पूरा गरेको अवस्था छैन’, उनले भने, ‘अहिले अर्थमन्त्रीलाई पनि यसबारे अवगत गराउन धेरैपटक भेट्ने कोसिस गर्यौँ तर उहाँले समय दिनुभएन। त्यसैले हामीले अर्थमन्त्री र गभर्नरको राजीनामा मागेका हौँ तर हाम्रो बटमलाइन भने होइन।’ 

अर्थमन्त्री पुँजीबजार पनि सकारात्म रहने विश्वास थियो तर त्यसो नभई उल्टै कठोर बनेको शिवाकोटीको आरोप छ। ‘उहाँले ऊर्जा मन्त्रालयमा हुँदा धेरै राम्रा काम गर्नुभएको थियो तर अर्थ मन्त्रालयमा आएपछि उहाँ पुँजीबजारप्रति सकारात्मक देखिनु भएन’, उनले भने, ‘यही कारणले बजार प्रभावित भएपछि लगानीकर्ताहरु सडकमा आएका हुन्, यदि बेलैमा हाम्रा माग सुनुवाइ नभए अवस्था गम्भीर पनि हुन सक्छ।’

दोस्रो चरणको आन्दोलनका लागि अहिले आफूहरु देशव्यापी रुपमा लगानीकर्ताहरुसँग समन्वय गरी सहभागिता बढाउने र बृहत् आन्दोलन गर्ने तयारीमा रहेको पनि शिवाकोटीले बताए।