काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ।

आज बजार ७८.८२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २७५१.०७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.५ अंकले बढेर ५१६.०७ को विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

त्यसो त यो साताको ३ दिनको कारोबारमा सेयर बजार सकारात्मक बनेको छ। यो ३ दिनमा बजार झन्डै २०० अंकले उकालो लागिसकेको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट राष्ट्र बैंकको ४–१२ करोडको क्याप र सीडी रेसियोको नीतिमा परिमार्जन हुन सक्ने आँकलनले बजार बढेको बताउँछन्। ‘बजार धेरै घटेकोले पनि केही दिनयता बजार बढेको हो’, उनले भने।

मौद्रिक नीतिको समीक्षा नहुन्जेलसम्म बजार २६०० देखि २८०० को विन्दु आसपास नै रहने बिष्टको अनुमान छ। ‘यदि मौद्रिक नीतिको समीक्षामा बजारअनुकूलका नीतिहरु परिमार्जन भएमा बजारले लय समात्न सक्छ’, उनले भने। 

बिष्टले सीडी रेसियो नहटेसम्म तरलता सहज हुने अवस्था आउन नसक्ने पनि स्पष्ट पारे। 

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने पनि बजार धेरै घटेकोले अहिले बढेको बताउँछन्। ‘करेक्सन लगभग पूरा भएको देखिन्छ, बजारको बढाइले धेरै आत्तिएका लगानीकर्ताहरु राहात भएको छ’, उनले भने।

राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षाले अब बजारको बाटो तय गर्ने न्यौपानेको भनाइ छ। ‘सेयर धितो कर्जा र सीडी रेसियो परिमार्जनका विषयमा राष्ट्र बैंकभित्र गृहकार्य भइरहेको हल्ला बजार फैलिएको छ, सोही कारणले बजार बढ्दा पेस्ने लगानीकर्ताहरु सक्रिय हुँदा बजार सकारात्मक बनेको हो’, उनले भने, ‘दबाब बढ्दै गएमा राष्ट्र बैंक आफ्नो नीतिबाट पछि हट्ने सम्भावना पनि छ।’

अहिले पनि कम भोलुम भएका कम्पनीहरुमै चमक आइरहेको उल्लेख गर्दै न्यौपानेले राम्रा र बलिया कम्पनीमा लगानी गर्न सुझाव दिए। ‘सकारात्मक समाचार आए अब बजार करेक्सन हुँदै माथि नै जाने हो’, उनले भने।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। होटेल तथा पर्यटन समूह सर्वाधिक ७.५१ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ५.६१ प्रतिशतले बढेको यो दिन बैंकिङ समूहमा २.४४ प्रतिशत, व्यापार समूहमा २.७६ प्रतिशत, विकास बैंक समूहमा ३.७७ प्रतिशत, जलविद्युत समूहमा ४.३३ प्रतिशत, निर्जीवन बीमा समूहमा २.६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७८ प्रतिशत, अन्य समूहमा २.४६ प्रतिशत, लघुवित्त समूहमा ३.३४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३५ प्रतिशत र लगानी समूहमा ४.५ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

यो दिन नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपैयाँमा किनबेच भएका छन्। 

आज कामना सेवा विकास बैंकको सर्वाधिक ४४ करोड ७४ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको ३४ करोड ७८ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एनआईसी एसिया बैंकको २४ करोड ५५ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १६ करोड ७३ लाख रुपैयाँ, अपी पावरको १३ करोड ७० लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड ५९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ११ करोड ६१ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ११ करोड २७ लाख रुपैयाँ, रिडी हाइड्रोपावरको ११ करोड २५ लाख रुपैयाँ र लुम्बिनी विकास बैंकको १० करोड ६३ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज १८ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन बेस्ट फाइनान्स, ङादी ग्रुप पावर, खानीखोला हाइड्रोपावर, राधी जलविद्युत, घलेम्दी हाइड्रो, माउन्टेन हाइड्रो र चन्द्रागिरी हिल्सको सेयरमूल्यमा १० प्रतिशत तथा सिनर्जी पावर, नेपाल हाइड्रो, बरुण हाइड्रोपावर, श्री इन्भेस्टमेन्ट फाइनान्स, शिवश्री हाइड्रोपावर, युनियन हाइड्रोपावर, युनिभर्सल पावर, ग्रिनलाइफ हाइड्रोपावर, आँखुखोला जलविद्युत, एचआईडीसीएल र जोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

यो दिन हिमालयन पावर पाटर्नर र मैलुङ खोला जलविद्युतको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज साना किसान विकास लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ २ प्रतिशतले ओरालो लागेको छ।