काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ।

आज बजार ६३.०१ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २६७९.९५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीका सूचक १५.८५ अंकले बढेर ५०३.७२ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ४ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार मुक्तिबहादुर खत्री सरकारका पछिल्ला नीतिले बजार बढ्न टेवा पुगेको बताउँछन्। ‘सरकारले आयातमा गरेको नियन्त्रणको प्रभाव बजारमा सकारात्मक परेको छ’, उनले भने, ‘आयातमा नियन्त्रण गर्दा व्यापारीहरु अहिले सेयर बजारमा भित्रिएका छन्।’ 

सेयर बजार घटबढ हुनु स्वाभाविक रहेको उल्लेख गर्दै खत्रीले अहिले बढाइ अझै केही दिनसम्म जारी रहन सक्ने बताए। ‘यसअघि बजार धेरै घटेकोले पनि अहिले बढिरहेको हो’, उनले भने। 

सक्रिय लगानीकर्ता पर्वत बिष्ट अहिले बजारमा बढ्नुमा राम्रा कम्पनीहरुका सेयरभाउ धेरै तल हुनुले पनि हुन सक्ने बताए। आज वाणिज्य बैंक चलेका कारण बजारको बढाइ केही दिगो हुन सक्ने उनको भनाइ छ। 

बजारमा सकारात्मक महौल बनिरहेको बिष्ट बताउँछन्। ‘बजार अब आफ्नो लयमा चल्छ’, उनले भने। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये ११ वटामा हरियाली छाएको छ भने २ वटामा रातो पोतिएको छ।

यो दिन विकास बैंक समूह सर्वाधिक ५.२३ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.७१ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ३.६१ प्रतिशत, व्यापार समूहमा १.९८ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.०७ प्रतिशत, जलविद्युत समूहमा ३.११ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.३४ प्रतिशत, लघुवित्त समूहमा १.७७ प्रतिशत, जीवन बीमा समूहमा १.१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७१ प्रतिशत र लगानी समूहमा ३.१४ प्रतिशतको बढोत्तरी भएको छ।

आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ०.५९ प्रतिशतले ओरालो लागेको छ। यो दिन अन्य समूह पनि ०.३४ प्रतिशतले घटेको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३४ कम्पनीका ९१ लाख १० हजार ७५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८२८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन नेपाल बंगलादेश बैंकको सर्वाधिक १४ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नबिल बैंकको १३ करोड ९ लाख रुपैयाँबराबरको कारोबार भएको आज अपी पावरको ११ करोड ७ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १० करोड ६० लाख रुपैयाँ, अप्पर तामाकोशीको १० करोड ३८ लाख रुपैयाँ, शिवम सिमेन्टको ९ करोड ५७ लाख रुपैयाँ, गरिमा विकास बैंकको ८ करोड ५८ लाख रुपैयाँ, ज्योति विकास बैंकको ८ करोड ३२ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको ६ करोड ९७ लाख रुपैयाँ र सिद्धार्थ बैंकको ६ करोड ७७ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। श्री इन्भेस्टमेन्ट फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरभाउमा १० प्रतिशत तथा मध्यभोटेकोशी जलविद्युत र नेपाल एसबीआई बैंकको सेयरमूल्यमा १० प्रतिशतबराबरको बढोत्तरी भएर पोजिटिभ सर्किट लागेको हो। यो दिन सिन्धु विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज नबिल बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो बैंकको सेयरभाउ २ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।