काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ। 

आज बजार ७३.०१ अंकले उकालो लागेको हो। योसँगै नेप्से परिसूचक २७६५.४७ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स १३.२१ अंकले उकालो लागेर ५१९.३७ को विन्दुमा पुगेको छ। कारोबार रकम बढेर ७ अर्ब रुपैयाँ बढीको भएको छ। 

नेपाल पुँजीबजार दबाब समूहमा महासचिव नयन बास्तोला बजारमा बढ्नु विभिन्न कारण रहेका बताउँछन्। कोभिडको नयाँ भेरिएन्टको त्रासले अन्य क्षेत्र प्रभावित हुने देखेर लगानीकर्ता पुनः पुँजीबजारमा आकर्षित हुनु बजार बढ्नु एउटा कारण हुन सक्ने बास्तोलाको ठहर छ। 

यसअघि बजार पनि धेरै घट्नु, विस्तारै तरलता सहज हुँदै जानु र बैंकहरुको औसत सीडी रेसियो पनि ९० प्रतिशत मुनि आउनुले बजार सकारात्मक बनेको हुन सक्ने बास्तोला बताउँछन्। ‘बजारको आजको चाल हेर्दा अलटाइम हाई ब्रेक हुने सम्भावना प्रबल देखिएको छ’, उनले भने।

नियामक निकाय र सरकारले सकारात्मक नै काम गरेको खण्डमा बजार अब बढ्ने नै देखिएको बास्तोलाले बताए। ‘नेप्से र धितोपत्र बोर्डको नेतृत्व नियुक्ति चाँडै हुने देखेर पनि लगानीकर्ताको विश्वास बजारप्रति बढ्दै गएको देखिन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता रघुनाथ अधिकारी विचार पनि बास्तोलाको तर्कसँग मिल्दोजुल्दो छ। कोभिडको प्रभाव बढ्दै जाँदा अन्य क्षेत्रका लगानीकर्ता सेयर बजारमा आकर्षित हुन थालेको हुन सक्ने अधिकारीको भनाइ छ। 

पुस मसान्तको प्रभाव कम हुनु, बैंकिङ प्रणालीमा निक्षेप बढ्दै जानु र सरकारको विकास खर्च पनि बढ्दै जाँदा बजार सकारात्मक बनेको अधिकारी बताउँछन्। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन व्यापार समूह सर्वाधिक ६.०८ प्रतिशतले उकालो लागेको छ। विकास बैंक समूह ५.४९ प्रतिशतले बढेको आज बैंकिङ समूहमा १.९१ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.१६ प्रतिशत, जलविद्युत समूहमा ४.९६ प्रतिशत, वित्त समूहमा ५.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.१३ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.९३ प्रतिशत, अन्य समूहमा ३.१३ प्रतिशत, लघुवित्त समूहमा १.३५ प्रतिशत, जीवन बीमा समूहमा १.९९ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.३९ प्रतिशत र लगानी समूहमा ४.१४ प्रतिशतको बढोत्तरी आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३९ कम्पनीका १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर ७ अर्ब १० करोड १८ लाख ३१ हजार ५९१ रुपैयाँमा कारोबार भएका छन्।

यो दिन अपी पावरको सर्वाधिक २९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। प्रभु बैंकको २० करोड ८६ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २० करोड १५ लाख रुपैयाँ, शिवम सिमेन्टको १९ करोड ३९ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १८ करोड ७५ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १६ करोड ९९ लाख रुपैयाँ, एचआईडीसीएलको १५ करोड ६६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको १५ करोड ६४ लाख रुपैयाँ, नबिल बैंकको १४ करोड १४ लाख रुपैयाँ र एनआईसी एसिया बैंकको १३ करोड ९९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन ४ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। आज नेपाल हाइड्रो र हिमालय ऊर्जाको सेयरभाउमा १० प्रतिशत तथा युनियन हाइड्रोपावर र मध्यभोटेकोशी हाइड्रोपावरको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। 

आज न्यादी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, आईसीएफसी फाइनान्स, एचआईडीसीएल र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ। माउन्टेन हाइड्रोको सेयरभाउ ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ। 

यो दिन मिथिला लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यो लघुवित्तको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।