काठमाण्डौ । सेयर बजार उकालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ। 

आज बजार ४९.१९ अंकले लागेको छ। योसँगै नेप्से परिसूचक २८३४.१३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ६.३४ अंकले बढेर ५२८.८७ को विन्दुमा पुगेको छ। कारोबार रकम हिजोको तुलनामा घटेर पौने ७ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। 

पुँजीबजार सुधार संघका अध्यक्ष रोहन कार्की आजको बढाइले बजार धेरै मजबुत बनेको देखिने बताउँछन्। ‘इन्ट्राडे करेक्सन हुँदै बजारले गति लिएको देखिन्छ’, उनले भने। 

अहिले बजार बढ्नुमा सेयरको मूल्य धेरै सस्तो हुनु, कोभिड प्रभाव बढ्दा अन्य क्षेत्रका लगानीकर्ताहरु सेयर बजारमा आकर्षित हुनु, बैंकहरुमा तरलता बढ्दै जानु, सीडी रेसियो पनि ९० प्रतिशतमुनि झर्नु र माघमा ब्याजदर नबढ्ने सम्भावनाले बजार बढेको कार्कीको तर्क छ। ‘त्रैमासिक ब्याज तिर्ने बेला पनि सकिएकोले लगानीकर्ताहरु पुनः सेयर बजारमा सक्रिय भएका छन्’, उनले भने।

खासगरी अहिले सेक्टरवाइज करेक्सन हुँदै बजार अगाडि बढिरहेको कार्की बताउँछन्। ‘यसले लगानी रोलिङ भइरहेको प्रस्ट हुन्छ’, उनले भने।

सक्रिय लगानीकर्ता प्रकाश न्यौपाने सबैतिर सकारात्मक समाचारले बजार बढेको बताउँछन्। माघ लागेपछि ऋण पाउने आशाले र लगानीकर्ताको मनोबल सकारात्मक हुँदा खरिदचाप बढेको उनको भनाइ छ। ‘बजार सधैँ बढ्दैन, घट्छ पनि’, उनले भने, ‘त्यसैले होसियारीपूर्वक लगानी गर्नुपर्छ।’

आज पनि इन्ट्राडे करेक्सन हुँदै बजार माथि गएकोले बजार मजबुत बन्दै गएको न्यौपाने बताउँछन्। लाभांश घोषणा गर्न बाँकी राम्रा कम्पनीहरुमा लगानी गर्दा उचित हुने उनको तर्क छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटामध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ।

यो दिन वित्त समूह सर्वाधिक ६.१५ प्रतिशतले उकालो लागेको छ। लघुवित्त समूह ३.९० प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.२० प्रतिशत, विकास बैंक समूहमा ३.४४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ३.३९ प्रतिशत, जलविद्युत समूहमा २.०७ प्रतिशत, लगानी समूहमा २.१९ प्रतिशत, जीवन बीमा समूहमा ३.८९ प्रतिशत, लघुवित्त समूहमा ३.९० प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.५७ प्रतिशत, निर्जीबन बीमा समूहमा २.६५ प्रतिशत, अन्य समूहमा १.२७ प्रतिशत र व्यापार समूहमा १.३२ प्रतिशतको बढोत्तरी आएको छ।

आज उत्पादन तथा प्रशोधन समूहमा ०.४३ प्रतिशतको गिरावट आएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २३२ कम्पनीका १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार १९८ रुपैयाँमा किनबेच भएका छन्। 

यो दिन अपी पावरको सर्वाधिक १६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। गोर्खाज फाइनान्सको १६ करोड २६ लाख रुपैयाँबराबरको कारोबार भएको आज नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ६४ लाख रुपैयाँ, नेपाल टेलिकमको १३ करोड ८२ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको ११ करोड ५९ लाख रुपैयाँ, नबिल बैंकको ११ करोड ४२ लाख रुपैयाँ, नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ११ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड ७१ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १० करोड ४० लाख रुपैयाँ र हिमालयन डिस्टिलरीको १० करोड ३४ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ७ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। यो दिन नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा १० प्रतिशत तथा सिभिल लघुवित्त र न्यादी हाइड्रोपावरको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको छ। आज मितेरी डेभलपमेन्ट बैंकको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

यो दिन माउन्टेन इनर्जीका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ ४ प्रतिशतको हाराहारीमा ओरालो लागेको छ।