काठमाण्डौ । धितोपत्र कारोबार साताको अन्तिम दिन बिहीबार सेयर बजारमा हरियाली छाएको छ। 

आज बजार ५४.१२ अंकले उकालो लागेको छ। योसँगै नेप्से परिसूचक २८५७.७५ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ८.९४ अंकले बढेर ५३०.८३ को विन्दुमा पुगेको छ। कारोबार रकम साढे ६ अर्ब रुपैयाँ बढीको भएको छ। 

बजार जानकार प्रकाश रजौरे प्राविधिक रुपमा करेक्सनका सबै वेभ सकिएका कारण केही दिनयता बजार सकारात्मक ढंगले अगाडि बढिरहेको बताउँछन्। ‘बैंकहरुमा पनि तरलताको दबाब कम हुँदै गएको छ’, उनले भने, ‘यसले लगानीकर्ताहरुमा मार्जिन कलको सम्भावना घटेको छ।’

सबैतिर सकारात्मक महौल बन्दै गर्दा कारोबार पनि बढ्दै जाने रजौरेको तर्क छ। ‘अब माघ लागेपछि बजार दैनिक ८ अर्ब रुपैयाँ बढीको कारोबार पनि सामान्य हुन्छ’, उनले भने, ‘अहिलेको परिस्थितिलाई केलाउने हो भने बजारले पहिलेको अलटाइम हाई ब्रेक गर्दै नयाँ कीर्तिमान कायम गर्ने सम्भावना देखिन्छ।’

माघ, फागुन र चैत महिनामा बजार बुलिस नै रहने रजौरे बताउँछन्। 

अर्का बजार जानकार गोविन्दप्रसाद घिमिरे अहिले बैंकिङ प्रणालीमा तरलता सहज भएकै कारण बजार अब सकारात्मक नै रहने बताउँछन्। ‘किनकि अब साना लगानीकर्ताहरुले पनि बैंकबाट सेयर धितो कर्जा पाउने अवस्था बनेको छ’, उनले भने।

माघ महिनामा ब्याजदर परिवर्तन नहुने भएकोले लगानीकर्ताको मनोबल बलियो बनेको घिमिरेको बुझाइ छ। ‘कोभिडको बढ्दो संक्रमणका कारण तत्काल नयाँ उद्योगधन्दा खुल्ने सम्भावना छैन’, उनले भने, ‘जसका कारण सेयर बजारमा आकर्षण बढ्ने देखिन्छ।’

एकातिर नियामक निकाय सकारात्मक बन्दै जानु र सूचीकृत कम्पनीहरुको दोस्रो त्रैमासको रिपोर्ट पनि राम्रै आउने देखिएकोले लगानीकर्ताहरुको मनोबल बढ्दै गएकोले बजारमा सकारात्मक महौल बनेको घिमिरेको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये १२ वटामा हरियाली छाएको छ भने एउटामा मात्रै रातो पोतिएको छ। 

यो दिन जलविद्युत समूहमा सर्वाधिक ४.९ प्रतिशतले उकालो लागेको छ। वित्त समूह ३.६७ प्रतिशतले बढेको आज बैंकिङ समूहमा ०.५४ प्रतिशत, व्यापार समूहमा २.६९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.१२ प्रतिशत, विकास बैंक समूहमा २.९४ प्रतिशत, निर्जीवन बीमा समूहमा २.२६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा १.७८ प्रतिशत, लघुवित्त समूहमा ३.२ प्रतिशत, जीवन बीमा समूहमा २.२१ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.९६ प्रतिशत र लगानी समूहमा ३.२९ प्रतिशतको बढोत्तरी भएको छ।

आज अन्य समूह ०.१६ प्रतिशतले ओरालो लागेको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज २२४ कम्पनीका १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अप्पर तामाकोशी ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको २३ करोड २३ लाख रुपैयाँबराबरको कारोबार भएको आज निफ्राको २२ करोड २९ लाख रुपैयाँ, एचआईडीसीएलको २१ करोड ९४ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको १४ करोड ४४ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको १३ करोड ६१ लाख रुपैयाँ, ङादी ग्रुप पावरको १३ करोड ५२ लाख रुपैयाँ, अरुण काबेली पावरको १३ करोड ३४ लाख रुपैयाँ, छिमेक लघुवित्तको १२ करोड ५७ लाख रुपैयाँ र नेसनल हाइड्रोपावरको १२ करोड १२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

यो दिन मध्य भोटेकोशी जलविद्युतको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ। माउन्ट हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको सेयरभाउ पनि ९ प्रतिशत बढीले उकालो लागेको छ।

आज नारायणी डेभलपमेन्ट बैंकका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ १ प्रतिशत बढीले ओरालो लागेको छ।