काठमाण्डौ । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ।

बजार आज ६९ अंकको भारी बढोत्तरी भएको हो। योसँगै नेप्से परिसूचक २९२६.७४ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ११.८१ अंकले बढेर ५४२.६३ को विन्दुमा पुगेको छ। कारोबार रकम झन्डै पौने १० अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पहिला जसरी बजार घटेको थियो, त्यसरी नै अहिले बढिरहेको बताउँछन्। ‘माघ महिना लागेसँगै तरलता सहज बन्दै गएको अवस्था, राजनीतिक स्थिरता, चुनावी महौल, विकास खर्च बढ्दै जानुजस्ता कारणले आजबाट ठूला र संस्थागत लगानीकर्ताहरु पनि बजार पसेको अवस्था छ’, उनले भने, ‘यो महौल कायमै रहने हो भने यही माघ महिनाभित्र बजारले अलटाइम हाई रेकर्ड ब्रेक गर्दै ३५०० सम्म पुग्न सक्छ।’

दोस्रो त्रैमासको रिपोर्ट आउँदा बजार झनै सकारात्मक बन्ने बिष्टको तर्क छ।

सक्रिय लगानीकर्ता निमानन्द कँडेल नेप्से र सेबोनमा नयाँ नेतृत्व आउने आश, कोभिड प्रभाव बढ्दै जानु र ब्याजदर पनि नबढ्नुले बजार सकारात्मक बनेको बताउँछन्। ‘कोभिड प्रभाव बढ्दै जाँदा अल्पकालीन बाहिरी लगानीकर्ताहरु पनि फेरि सेयर बजारमा सक्रिय हुन थालेको देखिन्छ, आजको कारोबार पनि त्यसलाई पुष्टि गर्छ’, उनले भने।

अब बजार ससाना करेक्सन झेल्दै माथि नै जाने सम्भावना रहेको कँडेलको भनाइ छ। 

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। 

यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ५.६२ प्रतिशतले उकालो लागेको छ। अन्य समूह ३.०९ प्रतिशतले बढ्दा बैंकिङ समूहमा २.१४ प्रतिशत, व्यापार समूहमा २.५ प्रतिशत, होटेल तथा पर्यटन समूहमा १.७२ प्रतिशत, विकास बैंक समूहमा २.७७ प्रतिशत, जलविद्युत समूहमा २.२२ प्रतिशत, वित्त समूहमा २.१६ प्रतिशत, निर्जीवन बीमा समूहमा २.०४ प्रतिशत, अन्य समूहमा ३.०९ प्रतिशत, लघुवित्त समूहमा १.९७ प्रतिशत, जीवन बीमा समूहमा २.४१ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.५४ प्रतिशत र लगानी समूहमा १.९९ प्रतिशतको बढोत्तरी भएको छ। 

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २२९ कम्पनीका १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक ३६ करोड ४३ लाख रुपैयाँ बढीको कारोबार भएको छ। अपी पावरको ३० करोड ४४ लाख रुपैयाँबराबरको कारोबार भएको आज अप्पर तामाकोशीको २९ करोड ७४ लाख रुपैयाँ, शिवम सिमेन्टको २६ करोड ३३ लाख रुपैयाँ, निफ्राको २५ करोड ४१ लाख रुपैयाँ, एचआईडीसीएलको २३ करोड २१ लाख रुपैयाँ, नेपाल टेलिकमको २१ करोड ६९ लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको २१ करोड ५५ लाख रुपैयाँ, ङादी ग्रुप पावरको २० करोड ५३ लाख रुपैयाँ र नबिल बैंकको २० करोड २ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज ४ वटा कम्पनीको सेयरमूल्यमा पोजिटिभ सर्किट लागेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयरभाउमा १० प्रतिशत तथा मध्य भोटेकोशी जलविद्युत र  किसान लघुवित्तको सेयरमूल्यमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएर पोजिटिभ सर्किट लागेको हो। हिमालयन डिस्टिलरी र सिन्धु विकास बैंकको सेयरभाउ पनि ९ प्रतिशतको हाराहारीमा उकालो लागेको छ।

आज बोटलर्स नेपाल (तराई) र मनकामना स्मार्ट लघुवित्तका सेयरधनीहरुले धेरै गुमाए। यी कम्पनीका सेयरभाउ ३ प्रतिशतको हाराहारीमा ओरालो लागेका छन्।