काठमाण्डौ । यदि तपाइँ पनि सेयर बजारमा लगानी गर्नुहुन्छ भने विश्वकै धनीव्यक्ति एलन मस्कको यो सल्लाह निकै काम लाग्न सक्छ।

धेरै सफल कम्पनी बनाएका अमेरिकी उद्यमी मस्क सामाजिक सञ्जाल विशेषगरी ट्विटरमा निकै सक्रिय छन्। भर्खरै उनले ट्विटर किनेका छन्। 

यसैबीच मस्कले हालैको पोस्टमा सेयर बजारका लगानीकर्तालाई कहिले बजारमा पैसा लगानी गर्ने र कहिले लगानी नगर्ने ? भन्ने सल्लाह दिएका छन्।

मस्कले लगानीकर्तालाई सेयर बजारमा कुन–कुन अवस्थामा आत्तिनुपर्दैन र कसरी लगानी गर्दा फाइदा हुन्छ भन्ने सुझाव पनि दिएका छन्। यसका साथै मस्कले गुणस्तरीय स्टक छनोट गर्ने तरिका पनि लगानीकर्तालाई बताए।

मस्कले ट्विट गर्दै लेखेका छन्, ‘मलाई धेरैपटक कम्पनीका विषयमा सोधिएको छ। धेरै कम्पनीको सेयर किन्नुहोस्, जसले उत्पादन र सेवा प्रदान गर्दछ। जुन तपाइँ निश्चित हुनुहुन्छ। त्यस कम्पनीको उत्पादन वा सेवा बिग्रिँदै गएको महसुस भएमा मात्र बिक्री गर्नुहोस्। बजार घट्न थालेमा नआत्तिनुहोस्। किनकि दीर्घकालमा तपाइँलाई फाइदा नै हुनेछ।’ –एजेन्सी