काठमाण्डौ । धैर्यवान लगानीकर्ताहरुका लागि सेयर बजार सम्भावना नै सम्भावनाले भरिएको उर्बर ठाउँ हो । स्वदेशी होस् या विदेशी सेयर बजार, बजारले कमाउने वातावरण सबैलाई दिएको हुन्छ । कहिलेकाही कतिपय कम्पनीको सेयर त लगानीकर्ताहरुको भाग्य परिवर्तन गर्ने गरी उदाइरहेका हुन्छन् । यस्तै एउटा पछिल्लो उदाहरण बनेको छ भारतको एउटा सानो कम्पनीको सेयर । 

त्यहाँ पछिल्लो एक वर्षमा एउटा कम्पनीको सेयर प्रतिकित्ता ३५ पैसाबाट बढेर ६३ रुपैयाँभन्दा बढी भएको छ । यो कम्पनीको सेयरमा पैसा लगाएर धैर्य गर्नेहरु एकवषमै मालामाल भएका छन् । यति मात्र होइन, गत ६ महिनाभित्रकै अवधिमा यो सेयरले लगानीकर्तालाई नसोचेको रिटर्न दिइसकेको छ । 

भारतीय मिडिया तथा न्यूज एजेन्सीहरुका अनुसार सोच्दै नसोचेको रिटर्न दिने त्यो सेयर केइजर कर्पोरेसन लिमीटेड(Kaiser Corporation Limited)को हो । एक वर्षको अवधिमा यो कम्पनीको सेयरले १७५५२ प्रतिशत रिटर्न दिएको समाचारमा जनाइएको छ । 

यो कम्पनीको सेयरले आफ्ना लगानीकर्तालाई ६ महिनाको अवधिमा ६१९२ प्रतिशत रिटर्न दियो । ६ महिनाअघि बम्बई स्टक एक्सचेञ्जमा यो कम्पनीको सेयरमूल्य ९५ पैसा थियो । अहिले बढेर ६३ रुपैयाँको उचाईमा पुगेको छ । बिहीबार पनि यो कम्पनीको सेयरमूल्य ५ प्रतिशतले बढ्यो । 

पछिल्लो एक महिनामा पनि यो कम्पनीको सेयरमूल्यमा गिरावटको ट्रेण्ड देखिन थालेको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो एक महिनामा सेयरमूल्य ४६ प्रतिशतले घटिसकेको छ । 

रिटर्नको हिसाबले हेर्ने हो भने यदि कुनै लगानीकर्ताले यो कम्पनीको सेयरमा ६ महिनाअघि १ लाख रुपैयाँ लगानी गरेको थियो भने आज सो रकम ६३ लाख माथि पुग्ने थियो । 

यस्तै, कुनै लगानीकर्ताले एक वर्षअघि यो कम्पनीको सेयरमा १ लाख रुपैयाँ लगाएको थियो त्यसको मूल्य आज बढेर १ करोड ८५ लाख हुने थियो । 

यति मात्र होइन, जनवरीमा मात्रै कसैले यसमा १ लाख रुपैयाँ लगाएको थियो त्यो लगानी बढेर २१ लाख पुग्ने थियो । 

केइजर कर्पोरेसन एक सानो कम्पनी हो । यो कम्पनीको स्थापना सन् १९९३ मा भएको थियो । यो व्यापार र प्याकेजिङ क्षेत्रको कम्पनी हो ।