– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपालका जलविद्युत कम्पनीहरुमा अरुण काबेली पावर लिमिटेड पनि एउटा हो। अरुण काबेली अरुण हाइड्रोपावर जलविद्युत कम्पनीको सहायक कम्पनी पनि हो। यो कम्पनीमा अरुण हाइड्रोपावरको ३६ प्रतिशत लगानी रहेको छ। 

अरुण काबेली पावरले पाँचथर र ताप्लेजुङ जिल्लाको बीच रहेको काबेली खोलामा रन अफ द रिभरमा आधारित काबेली–१ जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। यो आयोजनाको क्षमता २५ मेगावट रहेको छ।  

अरुण काबेली पावरले सुदूपश्चिम प्रदेशमा ६० मेगावाटको सुर्तियाघाट जलशाययुक्त परियोजना निर्माणको परिकल्पना गरिरहेको छ। 

त्यसैगरी यो कम्पनीले काबेली परियोजनाअन्तर्गत नै बुटवलपावरले निर्माणाधीन ३७.६ मेगावटको परियोजनामा पनि साझेदारी गरेको छ। कम्पनीले यी आयोजना निर्माणका लागि थप पुँजी आवश्य रहेका कारण विद्युत नियमन आयोगमा १ः१ हकप्रद निष्कासनका लागि अनुमति मागेको कम्पनी अध्यक्ष गुरुप्रसाद न्यौपानेले जानकारी दिए। यसको अलवा कम्पनीले कृषि परियोजनाअन्तर्गत कफीखेती, बाख्रापालन र माछापालनमा पनि लगानी गर्ने न्यौपानेले बताए। 

आधारभूत पक्ष

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ रहेको छ। कम्पनीको रिजर्भमा २३ करोड २८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीले २२ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको प्रतिसेयर आम्दानी १६.१२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११२.५५ रुपैयाँ र मूल्य आम्दानी अनुपात २७.७२ गुणा रहेको छ। 

कम्पनीले गत वर्ष १७.८९ प्रतिशत लाभांश दिएको थियो। यस आर्थिक वर्ष पनि कम्पनीले रिजर्भको समेत प्रयोग गरेर २० प्रतिशत लाभांश दिने न्यौपानेले जानकारी दिए। 

हाल दोस्रो बजारमा अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्तिा ४४७ रुपैयाँ कायम रहेको छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजार सेयरको मूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्।

इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३ र ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छ। 

यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा हाल इन्टरमिडियट डिग्रीको वेभ १ चलेको देखिन्छ। जसलाई फिवोनासीमा जोडेर हेर्दा वेभ (१) मा ५२९ रुपैयाँ, वेभ (२) मा करेक्सनका साथ ४६५ रुपैयाँ,  वेभ (३) मा बढोत्तरीका साथ ७८४ रुपैयाँ, वेभ  ४ मा करेक्सनका साथ ७०६ रुपैयाँ र वेभ (५) मा  कम्पनीको सेयरभाउ अबको २ वर्षसम्ममा १०४७ रुपैयाँ सम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।

यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ५९८ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ५०२ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ४२४ रुपैयाँसम्म र ०.६१ प्रतिशतको टेवामा ३४२ रुपैयाँसम्म हुन सक्ने देखिन्छ।

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रसओभर र माथिबाट काट्छ भने बियरिस क्रसओभर हुन्छ। 

यो लाइनलाई आधार मान्ने हो भने गत ३ जुनमा  एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेको र बियरिस  सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् रातो एरो)। जसले बियरिस  सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम नेगेटिभ भएका छन् (हेर्नुहोस् कालो एरो)। यसले केही समय सेयरमूल्य करेक्सन हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त सन् १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उतारचढावको  विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन  हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

यो औजारअन्तर्गत यो कम्पनीको मूल्यरेखाले मध्य ब्यान्डलाई छोएर तल झरेको र रातो क्यान्डल बनेको छ  (हेर्नुहोस् कालो एरो)। यसले सेयरमूल्यमा गिरावट आएको बुझिन्छ। यो आधारमा सेयरमूल्यले तल्लो ब्यान्डसम्म छुन आउन सक्ने देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। 

यस कम्पनीको हालको आरएसआई ४१ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु ३० को तहमा पुगेपछि मूल्य उकालो लागेको थियो भने उच्चतम विन्दु ६० को तहमा पुगेपछि सेयरभाउ ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा केही करेक्सन हुँदै गरेको देखिन्छ।

पिभट विश्लेषणका आधारमा

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ४९८
प्रतिरोध २– ५४५
प्रतिरोध ३– ६०६

पिभट प्वइन्टः ४३७

घटेमा सपोर्ट 

सपोर्ट १– ३९०
सपोर्ट २– ३३०
सपोर्ट ३– २८३

निष्कर्ष

अरुण कावेली पावर आधाभूत रुपमा बलियो देखिन्छ। वार्षिक प्रतिसेयर आम्दानी १६ रुपैयाँभन्दा माथि रहेको यो कम्पनीले गत वर्ष लगभग १८ प्रतिशत लाभांश दिएको छ। यो कम्पनीले अन्य परियोजनाहरुमा लगानी गरेका कारण दीर्घकालका लाागि पनि उत्तम देखिन्छ। अल्पकालका लागि भने यो कम्पनीको प्राविधिक पक्ष केलाउँदा केही बिक्रीचाप परेको र अझै पर्न सक्ने देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।