काठमाण्डौ । पुँजीबजार सुधार र विकासका माग राख्दै आन्दोलनरत लगानीकर्ताहरुले आज नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई १९ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका छन्। 

खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर लगानीकर्ताका संघसंगठनका नेताहरुले अध्यक्ष प्रचण्डलाई भेटेर ज्ञापनपत्र बुझाएका हुन्। ‘उहाँसँग लगभग ३० मिनेटजति पुँजीबजारको पछिल्लो अवस्थाबारे छलफल भयो’, भेटमा सहभागी स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले भने, ‘उहाँलाई हामीले पुँजीबजारमा पछिल्लो समय देखिएका समस्याहरुका बारेमा जानकारी गराएका छौँ।’

कार्कीका अनुसार प्रचण्ड पुँजीबजारमा देखिएका समस्याप्रति निकै चिन्तित छन्। ‘उहाँले आजै अर्थमन्त्री र अर्थसचिवसँग पुँजीबजारमा देखिएका समस्या समाधानका लागि कुराकानी गर्ने बताउनुभएको छ’, कार्कीले भने। 

लगानीकर्तासँगको भेटमा अध्यक्ष प्रचण्डले आफूले गठबन्धनको बैठकमा पुँजीबजारमा देखिएका समस्या विषयमा कुरा उठाउने प्रतिबद्धता जनाएका छन्। ‘प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि व्यक्तिगत रुपमा कुरा राख्छु’, उनले भने, ‘आमरण अनशनरत तिलक कोइरालासँग वार्ता गर्न र समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीलाई आग्रह गर्छु।’

प्रचण्डलाई भेट्न लगानीकर्ताका नेताहरु दिउँसो पौने १ बजेतिर उनकै निवास पुगेका थिए। त्यसअघि भेला भएका लगानीकर्ताहरुले खुमलटारमा प्रदर्शनसमेत गरेका थिए। 

पुँजीबजार सुधार संघर्ष समितिको अगुवाइमा लगानीकर्ताहरु गत जेठ २० गतेदेखि आन्दोलनमा छन्। समितिका संयोजक तिलक कोइराला भने गत असार १ गतेदेखि नेपाल धितोपत्र बोर्डबाहिर आमरण अनशन बसेका छन्।